पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजना गरेको अन्र्तक्रियात्मक गोष्ठीमा बोल्दै भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने बताए । बुद्ध धर्म यसका आस्था राख्नेको मात्र नभएर सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उने भने, ‘बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक हो, यसको अनुसरण र परिपालना गर्न जरूरी छ । बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो । बौद्ध शिक्षालाई विश्वभर फैलाएर शान्तिको सन्देश दिनुपर्नेछ ।’
बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको उल्लेख गर्दै उनले सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुशी व्यक्त गरे । विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको उनको भनाई छ । ‘बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम तयार हुनाले यसले नेपालमा मात्र नभई विश्व समुदायमा नै चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि विभिन्न मुलुकहरूमा अध्ययन केन्द्रहरु स्थापना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेकोमा खुशी लागेको छ ।’

बौद्धदर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भएपनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने प्रदेश प्रमुख भट्टको भनाई छ । ‘यसैले पनि विदेशी नागरिकले पनि लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेकाले राज्यले विशेष ध्यान दिनुपर्दछ,’ उनले भने ।
विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उनले बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको विश्वविद्यालयलाई प्रगतिको कामना गरे । गण्डकीमा पनि केन्द्र स्थापना गरी बौद्ध दर्शन सम्बन्धी अध्ययन अध्यापन गराउने कार्यको स्वागत गर्दै उनले गण्डकी प्रदेश सरकारले पनि आवश्यक सहयोग, समन्वय गर्ने विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा बमोजिम स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न सबै पक्षको सहयोग जरूरी छ,’ उनले भने, ‘गोष्ठीले साझेदारहरूबीच गहन अन्तक्र्रिया गरी सरोकारवाला पक्षसँग आपसी सम्बन्ध विस्तार गर्न, केन्द्र स्थापनाको लागि आधार तयार गर्न सक्नेछ भन्नेमा विश्वस्त छु ।’





