बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरको हुप्सेकोटका ३१२ बालिकालाई उपहार– पाँच हजारसहितको बैंक खाता

नवलपुरको हुप्सेकोटका ३१२ बालिकालाई उपहार– पाँच हजारसहितको बैंक खाता


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८२, सोमबार

नवलपुर/ नवलपुरको हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको चैतसम्ममा ५६ जना बालिकाहरुलाई उपहारस्वरुप पाँच हजारसहितको बैंक खाता उपलब्ध गराएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएपछि वडा कार्यालयमा जन्म दर्ता गराएमा छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले ५ हजार रुपैयाँ जम्मा गरिदिने गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । पाण्डेका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा ५ हजारका दरले २ लाख ८० हजार निकासा भइसकेको छ । ‘छोरीको बैंक खातामा अभिभावकलाईसमेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ’, उनले भनिन, ‘छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास हुने विश्वाससाथ यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको उनले सुनाईन् । छोरी जन्मदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको अध्यक्ष पाण्डेको भनाई छ ।

हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि यो कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । आव २०७७/०७८ मा ३८ जना, २०७८/0७९ मा ५९ जना, २०७९/०८० मा ९७ जना र २०८०/०८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ ।

उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->