पोखरा / आइतबार (आज)बाट सुरु हुन लागेको कक्षा १२ को परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार भन्दा बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख गोविन्दराज पोख्रेलका अनुसार परीक्षामा नियमिततर्फ ३३ हजार छ सय ९८ जना र आंशिकतर्फ नौ हजार छ सय ५३ जना गरी कुल ४३ हजार तीन सय ५१ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन् ।
यस वर्षको परीक्षामा सबैभन्दा कम मनाङ जिल्लाबाट ४५ जना सहभागी हुँदै छन् भने सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट सात हजार एक सय २९ जना सहभागी हुँदै छन् । मनाङबाट नियमित तर्फका ३६ जना तथा आंशिकतर्फका नौ जना रहँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा नियमिततर्फका पाँच हजार चार सय ६३ जना तथा आंशिकतर्फ एक हजार छ सय ६६ जना रहेका छन् ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अनुसार गोरखाबाट नियमिततर्फ दुई हजार र आंशिकमा सात सय ९८ गरी दुई हजार आठ सय ७० जना, लमजुङबाट नियमिततर्फ एक हजार चार सय नौ र आंशिकमा पाँच सय १९ गरी एक हजार नौ सय २८ जना, तनहुँबाट नियमितमा चार हजार ७२ र आंशिकमा एक हजार ९३ गरी पाँच हजार एक सय ६५ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।
यस्तै स्याङ्जाबाट नियमितमा दुई हजार नौ सय २३ र आंशिकमा एक हजार दुई सय १८ गरी चार हजार एक सय ४१ जना, कास्कीबाट नियमितमा १२ हजार ८३ र आंशिकमा दुई हजार पाँच सय ७५ गरी १४ हजार छ सय ५८ जना, मुस्ताङबाट नियमितमा ७७ र आंशिकमा २६ गरी एक सय तीन जना, म्याग्दीबाट नियमितमा एक हजार एक सय ८५ जना र आंशिकमा चार सय ५४ गरी एक हजार छ सय ३९ जना, पर्वतबाट नियमितमा एक हजार दुई सय ५४ र आंशिकमा चार सय २७ गरी एक हजार छ सय ८१ जना तथा बागलुङबाट नियमितमा तीन हजार एक सय २४ र आंशिकमा आठ सय ६८ गरी तीन हजार नौ सय ९२ जनाले परीक्षाका लागि ‘रजिस्ट्रेसन’ फाराम भरेका छन् ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख पोख्रेलले परीक्षा सञ्चालनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २२ वटा, गोरखामा १० वटा, लमजुङमा छ वटा, तनहुँमा १५ वटा, स्याङ्जामा २१ वटा, कास्कीमा ४४ वटा, मनाङमा एउटा, मुस्ताङमा एउटा, म्याग्दीमा पाँच वटा, पर्वतमा सात वटा र बागलुङमा १५ वटा गरी कुल एक सय ४७ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।
परीक्षा सञ्चालनका लागि हरेक जिल्लामा जिल्ला परीक्षा समितिहरूले काम गर्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित नेपाली सेनाका प्रमुख, जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख, जिल्लास्थित राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्यका रूपमा रहेका छन् भने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्य सचिवको रूपमा रहेका छन् ।
परीक्षा सञ्चालनको अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कुनै पनि व्यक्तिहरूलाई मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय सामग्रीहरू परीक्षा हलभित्र लैजान रोकिएको छ । परीक्षासम्बन्धी समाचार सङ्कलन गर्न जाने पत्रकारहरूलाई परीक्षा केन्द्र बाहिरैबाट समाचार सङ्कलन गर्ने, परीक्षा हलभित्र क्यामेरा सहित प्रवेश गरी फोटो भिडियो खिच्न निषेध गरिएको छ ।
यस्तै परीक्षाको अनुगमनका क्रममा जाने अनुगमनकर्ताहरूले आधिकारिक परिचयपत्र वा आधिकारिक निकायको पत्र देखाउनुपर्ने, अनुगमन गर्दा एउटा कोठामा बढीमा दुई मिनेटभन्दा बस्न नपाउने, एक पटकमा एक भन्दा बढी अनुगमन टोली परीक्षा हलहरूमा जान नहुने, परीक्षा केन्द्रमा दुई वा दुईभन्दा बढी अनुगमन टोलीहरू जाने संयोग परेमा अघिल्लो टोली निस्किएपछिमात्रै पछिल्लो टोलीले अनुगमन गर्नेलगायतका नियमहरू लागू गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिइएको छ ।





