बागलुङ/कक्षा ६ मा अध्ययन गर्ने आदर्श शर्माले बिहिबार पहिलो पटक मतदानको अनुभव गरे । उमेद्वारको नाम लेखिएको मतपत्रमा संकेत गरेपछि उनको दाहिने हातमा निसो मसी लगाईयो ।
विद्यालय प्राङ्गणमा आयोजना गरिएको मतदान कार्यक्रममा मतदान कर्मचारी, सुरक्षाकर्मी लगायतका आवश्यक जनशक्तिको व्यवस्थापन विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिका र विद्यार्थीहरुबाटै मिलाईएको थियो । शिक्षक–शिक्षिका कर्मचारीको रुपमा खटिएका थिए भने सुरक्षाकर्मीको पोशाकमा विद्यार्थी मतपेटिका सुरक्षाका लागि खटिएका थिए ।
न्यु एभरेष्ट एकेडेमी बागलुङको परिसरमा बिहिबार दिउँसो पुग्दा कुनै आम निर्वाचन झल्किने परिदृष्य देखिन्थ्यो । विद्यालयले मतदान, मताधिकार र नेतृत्व छनोटका विषयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन विद्यालय क्याप्टेन र सदनात्मक नेतृत्व चयनका लागि मतदान नै गराएको थियो । हरेक सदनमा परेका उमेद्वारहरुमा दाबी बिरोध, छानविन, नामावली प्रकाशन लगायतका प्रक्रिया पुरा गरेर मतदान गराईएको थियो ।
‘कस्तो नेता छान्ने भन्ने सिकाउन हामीले निर्वाचन गरायौं, उत्कृष्ट नेतृत्व चयनका लागि सानैबाट बालबालिकाले प्रयास गरुन भनेर मतदान गराईएको हो’ विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले भने, ‘निर्वाचन र मतदानबारे विद्यार्थीले व्यवहारिक ज्ञान पाएका छन् ।’ विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराउँदा विद्यालयले नयाँ नयाँ अभ्यास गराउने गरेको अधिकारी बताउँछन् । निर्वाचन प्रकृयामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई सहभागि गराईएको थियो । विद्यालयका प्रधानाध्यापकलाई मुख्य निर्वाचन अधिकृत बनाएर शिक्षकहरुले मतदान अधिकृत, मतदान कर्मचारीको भुमिका निर्वाह गरेका थिए ।





