स्याङजा/कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरेपछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरु सँगको छलफल पछि बैङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
वालिङमा भएको कार्यक्रममा गरिमा विकास बैङ्कका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाबारे कृषकमा जानकारी कम रहेको बताए । उनले भने, ‘ऋणबारे जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।’ वित्तिय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उनको भनाई छ ।
कृषि विकास बैङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । बैङ्कको कुल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उनले जानकारी दिए । नेपाल बैङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताउँदै ऋण लिएर कृषि कर्म गर्नहरुको लागि सहयोग गर्न तयार रहेको बताइन् ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने प्रतिवद्वता जनाएका थिए । सस्तो व्याज दर र बिनाधितो थोरै कर्जाले ठूलो काम हुने भन्दै उनीहरुले बैङ्कहरुले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
वालिङका उपप्रमुख तिवारीले एनएमबी खेती कर्जाअन्तर्गत बिनाधितो २ लाखसम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिए । बिनाधितो गाउँ गाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाई थियो ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेका कृषि विकास परियोजनामा आवद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिए । गाउँ गाउँमा रहेका कृषकहरुलाई सहज रुपमा कृषि कर्जा उपलव्ध गराउने कार्यक्रमको योजना रहेको उनको भनाई छ ।
कार्यक्रममा वाणिज्य बैङ्क वालिङका प्रमुख लिला गुरुङ, मुक्तिनाथ विकास बैङ्क वालिङका प्रमुख नविन काफ्ले, लक्ष्मी बैङ्क वालिङका प्रमुख मणिप्रसाद बस्याल, एनएम्बी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डे, वित्तिय अधिकृत नगेन्द्र भट्ट लगायतले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालनबारे सहजीकरण गरेका थिए ।





