आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थापनाको ३८ वर्षपछि पोखरा बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र

स्थापनाको ३८ वर्षपछि पोखरा बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

पोखरा/ पोखरा– ९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले स्थापनाको ३८ वर्षपछि उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाण पत्र प्राप्त गरेको छ । क्याम्पसले मंगलबा पत्रकार सम्मेलनमार्फत प्रक्रिया सुरु भएको ३ वर्षमै क्यूएए पाउन सफल भएको जनाएको हो ।

क्याम्पसका आइक्युएसी संयोजक महेन्द्रप्रसाद रिमालका अनुसार विश्वविद्यालय अनुदान आयोगको यही बैशाख ३१ गतेको निर्णय अनुसार जेठ २१ मा प्रमाणपत्र प्राप्त भएको हो । उनले २०७९ साउन २६ देखि क्यूएएकालागि प्रक्रिया सुरु गरिएको बताए । बि.सं. २०४४ साल मंसिर १४ गते तत्कालिन पोखरा नगर पंचायत, पोखरा उद्योग वाणिज्य संघ, शिक्षाप्रेमी तथा समाजसेवीको अगुवाईमा टुँडिखेलमा क्याम्पस स्थापना भएको थियो । क्याम्पस २०५९ सालमा पोखरा–९ नयाँबजारस्थित महेन्द्र माविमा स्थान्तरण गरिएको थियो । पोखरा उपत्यका नगर बिकास समितिले जग्गा उपलब्ध गराएपछि २०७७ मा शान्तिवनमा सरेको हो । आफ्नै भवनलगायत पूर्वाधार बनेपछि क्याम्पसले बल्ल क्यूएएका लागि प्रक्रिया अघि सारेको थियो । शान्तिवनमा भवन निर्माणका लागि क्याम्पस संचालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए ।

क्याम्पसमा अहिले व्यवस्थापन र मानविकी संकाय अन्तर्गत स्नातक तहका विविएस र विएका प्रातकालिन कक्षा सञ्चालित छन् । झन्डै ५ सय विद्यार्थी छन् । भविष्यमा दिवा तथा सन्ध्याकालिन समयमा विविए, बिआइएम, एमबीए र बिआइटी कार्यक्रम सञ्चालनको योजना बनाएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् । ‘यी कार्यक्रम वर्तमान श्रम बजारको माग अनुसार उद्यमशील, दक्ष, व्यावसायिक र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार सञ्चालन हुन लागेका हुन्’, उनले भनिन, ‘क्याम्पसको क्यूएए प्राप्तीलाई एउटा उपलब्धीमत्रै नमानी क्याम्पसको स्तरोन्नतीका लागि सामुदायिक सहभागिता, पारदर्शी, प्रशासन तथा प्रविधिमैत्री शैक्षिक प्रणालीलाई निरन्तरता दिइने छ ।’ संस्थाको गुणस्तरमा थप ध्यान दिई क्याम्पसलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने लक्ष्यसाथ काम गरिरहेको उनको भनाई थियो ।

क्याम्पसले विद्यार्थीको अध्ययन तथा व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले निशुल्क कम्प्युटर कक्षा, सिक्दै कमाउँदै अवधारणा अनुसार विद्यार्थीलार्य विभिन्न रोजगारदातासंग समन्वय गरी रोजगारीको व्यवस्थाका लागि पहल समेत गर्दै आएको छ । आर्थिक रुपमा कमजोर तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न दातासंग अक्षयकोष र छात्रबृत्तिको व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दैै आएको छ । वातावरण सरसफाई र संरक्षण, हरियाली प्रवद्र्धन, रक्तदान, जीवनशैली तथा तनाव व्यवस्थापन, लागुऔषध दुव्र्यसनविरुद्धको सचेतना, साइबर सुरक्षा, लैंगिक समानता, सुशासन तथा सदाचार प्रवद्र्धन, फुटसल, भलिबल प्रतियोगिता जस्ता कार्यक्रमहरु गर्दै आएको हो ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सबैको साथसहयोगले क्याम्पस अहिलेको अवस्थामा आईपुगेका भन्दै भविष्यमा पनि सहयोगको निरन्तरताको अपेक्षा गरे । समितिका उपाध्यक्ष बद्री श्रेष्ठले स्वागत गर्दै पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको चाप थेग्न नसकेपछि यो क्याम्पस खोलिएको स्मरण गरे । ‘क्यूएए प्राप्त नभएकाले चाहेर पनि क्याम्पसले फ्याकल्टी थप्न सकेको थिएन’, उनले भने, ‘अव त्यसका लागि पनि बाटो खुलेको छ ।’ कार्यक्रमको संचालन भीमप्रसाद न्यौपानेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->