बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पश्चिमाञ्चलका विद्यार्थीलाई हस्पिटालिटी सेवाबारे अभिमूखिकरण

पश्चिमाञ्चलका विद्यार्थीलाई हस्पिटालिटी सेवाबारे अभिमूखिकरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८२, शुक्रबार

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा सहभागि थिए ।

विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शुक्रबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।

‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए । उनीहरुलाई होटल व्यवस्थापन र हस्पिटालिटी क्षेत्रबारे सीप सिकाइएको छ,’ उनले भने, ‘फुर्सदमा केही न केही सीप सिक्दा छात्रछात्रालाई फाइदा नै हुन्छ । उनीहरुले सिकेको सीपलाई घरमै पनि उपयोग गर्न सक्छन ।’

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझा, विद्यालयका प्राचार्य कोइराला, सहप्राचार्य मिनु श्रेष्ठ कुँवर लगायतले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी यो प्रशिक्षणमा सहभागि थिए । ‘विद्यार्थीलाई दिइएको यो अभिमुखिकरणले उनीहरुलाई लाभ दिएको छ,’ उनले भने ।

पश्चिमाञ्चल माविका होटल व्यवस्थापन विषयका शिक्षक जितेन्द्र थापाले विद्यार्थीले होटल र रेस्टुरेन्टको भान्सादेखि पाहुनालाई कसरी सेवा दिने भनेर सिकेको बताए । ‘पछिल्लो पुस्ता आफ्नै घरको भान्सामा समेत हत्तपत्ति जान चाँहदैन । भान्सामा तयार भएको खानालाई कसरी पस्कने भन्ने पनि थाहा छैन । आतिथ्यताबारे पनि अहिलेको पुस्ता जानकार छैन,’ उनले भने, ‘कम्तिमा भान्सामा तयार भएको परिकार पस्कन र आतिथ्यता प्रदान गर्ने सीप बढ्नु पनि राम्रो हो ।’

शुक्रबारदेखि फुटसल
यसैबीच पश्चिमाञ्चल माविले दोश्रो संस्करणको एसइइ फुटसल प्रतियोगिता आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको छात्रहरुको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । एसइइ दिएका विद्यार्थीले मात्र यो प्रतियोगितामा भाग लिनेछन ।
विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार फुटसल प्रतियोगितामा विभिन्न ५० वटा टिम सहभागि छन् । विभिन्न विद्यालय सहित खेलाडीले समूहगत रुपमा टिम बनाएर प्रतियोगितामा खेल्न सहभागि भएका छन । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः १५ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन । उत्कृष्ट प्लेयर, गोलकिपर र सर्वाधिक गोलकर्ताले पनि पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->