इरानको परमाणु क्षमताबाट अस्तित्वकै औँल्याउँदै त्यसलाई नष्ट गर्ने इजरेलको घोषित लक्ष्य पछाडी तेहरानमा शासन सत्ता परिवर्तन गर्ने बेन्जमिन नेतन्याहूको फराकिलो दाउ छ ।
यस परिदृश्यमा ती अभूतपूर्व हमलाहरूले इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने गरी अशान्ति निम्त्याउने शृङ्खलाबद्ध प्रतिक्रिया सुरु गर्ने उनी ठान्न सक्छन् ।
शुक्रबार साँझ उनले एक विज्ञप्तिमा भनेः ‘इरानी जनताले दुष्ट र दमनकारी शासनबाट आफ्नो स्वतन्त्रताको लागि खडा भएर यसको झण्डा र यसको ऐतिहासिक विरासत वरिपरि एकताबद्ध हुने समय आएको छ ।’ धेरै इरानीहरू अर्थतन्त्रको अवस्था, अभिव्यक्ति स्वतन्त्रताको अभाव, महिला अधिकार र अल्पसंख्यक अधिकारबाट असन्तुष्ट छन् ।
वास्तविक खतरा
इजरेली हमलाले इरानी नेतृत्वलाई वास्तविक खतरा खडा गरिरहेको छ । ती हमलामा परेर इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी)का कमाण्डर, सेना प्रमुख र अन्य कैयौँ वरिष्ठ आईआरजीसी प्रमुखहरू मारिएका छन् । र इजरेली हमला अझै सकिएको छैन ।
इरानले शुक्रबार दिउँसो बदला लिने क्रममा ‘दर्जनौँ निशाना, सैन्य अखडा र हवाई अड्डा’मा आक्रमण गरेको आईआरजीसीले जनाएको छ । घटनाक्रम द्रुत गतिमा बढिरहँदा इरानको जबाफी मिसाइल आक्रमणपछि नेतान्याहूले ‘अझै धेरै’ हमला हुँदै गरेको चेतावनी दिएका छन् ।
इरानका अन्य धेरै नेताहरू निशानामा पर्न सक्छन् । इजरेलको आक्रमण र हत्याले शासन सत्तालाई अस्थिर पार्न सक्ने जनविद्रोहका लागि बाटो खोल्न सक्ने मूल्याङ्कन गर्न सक्छ ।
इजरेली जुवा
कम्तीमा नेतन्याहूले यही आशा गर्छन् । तर यो एउटा ठूलो जुवा हो । यस्तो शृङ्खलाबद्ध प्रतिक्रिया पहिलो चरणमै सुरु हुनेछ भन्ने कुनै सङ्केत छैन । तर यदि त्यो सुरु भयो भने पनि यस्तो प्रक्रियाले कहाँ पु¥याउन सक्छ भन्ने कुरा स्पष्ट छैन ।
इरानमा सेना र अर्थतन्त्रलाई नियन्त्रण गर्ने मानिसहरू नै सबैभन्दा शक्तिशाली छन् । तीमध्ये धेरैजसो आईआरजीसी र केही अन्य निर्वाचित नहुने निकायमा रहेका कट्टरपन्थीहरूको हातमा छ ।
उनीहरू पहिले नै सत्तामा रहेकाले तिनलाई विद्रोह आवश्यक छैन र उनीहरूले इरानलाई अझ द्वन्द्वात्मक दिशामा लैजान सक्छन् ।
अर्को सम्भावित परिणाम भनेको इरानमा अराजकता सिर्जना भएसँगै शासन सत्ता पतन हुनु हो । झन्डै नौ करोड जनसंख्या भएको देशमा हुने घटनाहरूको प्रभाव मध्यपूर्वभर पर्नेछ ।
इजरेलले चाहेको परिणाम एक विद्रोह जस्तो देखिन्छ जुन ऊ अनुकूलको शक्तिले कब्जा गरेपछि समाप्त होस् । तर त्यस्तो विकल्प को हुन सक्छ भन्ने प्रश्न अहम् छ ।
कस्ता विकल्प ?
हालैका वर्षमा इरानी विपक्षी शक्तिहरू अत्यधिक रूपमा फुटको अवस्थामा छन् र यहाँ कुनै प्रस्ट विकल्पहरू छैनन् ।
सन् २०२२ मा भएको ‘महिला जीवन स्वतन्त्रता’ आन्दोलन भनेर चिनिने आन्दोलनका क्रममा इरानको अधिकांश भाग आँधीबेहरी जस्तै अवस्था बन्यो । त्यसबेला केही विपक्षीहरूले इस्लामिक गणतन्त्र विरोधी समूह र कार्यकर्ताहरूको विस्तारित गठबन्धन बनाउने प्रयास गरे ।
यद्यपि गठबन्धनको नेतृत्व कसले गर्छ र मौजुदा व्यवस्था ध्वस्त पारेपछि शासनको आकार कस्तो हुनेछ भन्ने बारेमा उनीहरूमा रहेको मतभिन्नताका कारण त्यो लामो समय टिकेन । इजरेलका नेताहरूले यीमध्ये केही समूह वा व्यक्तित्वहरूलाई उपयुक्त विकल्पको रूपमा देख्न सक्छन् ।
जस्तो, इरानका पूर्वयुवराज रेजा पहलवी । उनका बुवा इरानका पूर्व राजा थिए । सन् १९७९ को इस्लामिक विद्रोहबाट उनी अपदस्थ भएका थिए । उनी हाल निर्वासनमा छन् र आफ्नो उद्देश्यलाई साथ दिन विदेशी शक्तिहरूलाई सक्रिय रूपमा प्रभाव पार्ने प्रयास गरिरहेका छन् ।
उनले हालैका वर्षमा इजरेलको भ्रमण समेत गरेका थिए । केही इरानीहरूमाझ उनी लोकप्रिय रहे तापनि त्यो चाँडै शासन परिवर्तनको लागि शक्तिमा परिणत हुन सक्छ वा सक्दैन भन्ने अझै प्रस्ट छैन ।
त्यहाँ एक निर्वासित विपक्षी समूह मुजाहिद्दिन–ए खाल्क (एमईके) पनि छ । यो इस्लामिक गणतन्त्रको पतनपक्षधर भए तापनि राजतन्त्रको विरुद्धमा छ ।
वामपन्थी मुस्लिम समूहको रूपमा स्थापित यसले पहिले पनि यहाँका ‘शाह’को कडा विरोध गरेको थियो । क्रान्तिपछि एमईके इराक पुग्यो र सन् १९८० को दशकको सुरुमा इरानविरुद्धको युद्धको क्रममा सद्दाम हुसेनसँग सामेल भयो ।
यसकारण उनीहरू धेरै इरानीहरूमाझ अलोकप्रिय बने। यो समूह अझै पनि सक्रिय छ र यसको सञ्जाल अमेरिकासम्म छ । त्यहाँ उनीहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कित्तानजिक छन् ।
यद्यपि यसको प्रभाव ट्रम्पको पहिलो कार्यकालको तुलनामा ह्वाइटहाउसमा कम देखिन्छ । त्यसबेला माइक पोम्पेओ, जोन बोल्टन र रुडी जुलियानी लगायतका वरिष्ठ अमेरिकी अधिकारीहरू एमईकेका भेलाहरूमा देखा परेर उनीहरूको समर्थनमा भाषण गरेका थिए ।
इरानमा धर्मनिरपेक्ष लोकतन्त्र स्थापना गर्न चाहनेहरूदेखि संसदीय राजतन्त्र खोज्नेहरूसम्म अन्य राजनीतिक शक्तिहरू पनि छन् । शुक्रबारका आक्रमणको अहिल्यै पूर्ण विश्लेषण गर्नु हतार हुन सक्छ । तर गत वर्ष इरान र इजरेलबीच भएका दोहोरो हमलाका समयमा इरानीहरूले ती परिस्थितिहरूलाई शासन ढाल्ने अवसरको रूपमा हेरेको कुनै बलियो सङ्केत देखिएको थिएन ।
इरानी सत्ता के चाहन्छ ?
हामीले अब इरानको अन्तिम लक्ष्य के हो भनेर पनि सोध्नु पर्छ । इजरेलमा धेरै निशानाहरूमा लक्षित गरे तापनि इरानसँग उत्तम विकल्प नभएजस्तो देखिन्छ ।
कतिपयले अमेरिकासँग वार्तामा संलग्न रहनु र त्यहाँबाट तनाव कम गर्ने लक्ष्य राख्नु सबैभन्दा सुरक्षित बाटो हुने देख्न सक्छन् ।
तर ट्रम्पले माग गरेझैँ वार्तामा फर्कनु इरानका नेताहरूको लागि कठिन विकल्प हो । यसको अर्थ उनीहरूले हार स्वीकार गरेको मानिनेछ । अर्को विकल्प इजरेलविरुद्ध प्रतिशोधात्मक आक्रमणहरू जारी राख्नु हो जुन उनीहरूको सबैभन्दा उपयुक्त विकल्पजस्तो देखिन्छ ।
यो इरानी नेताहरूले आफ्ना समर्थकहरूलाई वाचा गरेको कुरा पनि हो । तर आक्रमणहरू जारी रहँदा समेत यसले थप इजरेरी हमलाहरू निम्त्याउन सक्छ । तेहरानले विगतमा अमेरिकी सैन्य अड्डा, दूतावास र त्यस क्षेत्रमा उसका स्वार्थ रहेका ठाउँहरूलाई लक्षित गर्ने धम्की दिने गथ्र्यो ।
तर यो सहजै हासिल हुने कुरा होइन । अमेरिकामाथि आक्रमण भए परिस्थिति सिधै मुठभेडमा पुग्छ जुन इरानले कमै चाहेको कुरा हो ।
यीमध्ये कुनै पनि विकल्प दुवै पक्षका लागि सहज छैनन् र त्यसको परिणाम भविष्यवाणी गर्न कठिन छ । यहाँ के परिवर्तनहरू भएका छन् भन्ने बुझ्न परिस्थिति शान्त हुँदासम्म पर्खनुको विकल्प छैन ।





