शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एअर इन्डियाको विमान दुर्घटना : सुरक्षासम्बन्धी गम्भीर प्रश्न

एअर इन्डियाको विमान दुर्घटना : सुरक्षासम्बन्धी गम्भीर प्रश्न


  • निक मार्श/बीबीसी
  • जेष्ठ ३१ २०८२, शनिबार

गत महिना बोइङले ७८७–८ ड्रीमलाइनरमा एक अर्ब यात्रु बोकेको खुसीयाली मनाएको थियो । त्यो १४ वर्षअघि मात्र सुरु गरिएको विमानको मोडेलका लागि महत्वपूर्ण उपलब्धि थियो ।
उक्त अवसरमा बोइङ कम्पनीले विश्वव्यापी सञ्चालनमा रहेका १,१७५ वटाभन्दा बढी ७८७ विमानहरूको जत्थाले तीन करोड उडान घण्टा हुने गरी ५० लाख उडानहरू गरेका जनाएको थियो ।
भारतको अहमदबादमा बिहीवार एअर इन्डिआको विमान दुर्घटना हुनु अघिसम्म उक्त मोडेलको विमान अन्तरमहादेशीय यात्राको एउटा मेरुदण्ड थियो भने त्यसको सुरक्षा रेकर्ड उदाहरणीय थियो ।
इन्डोनेशिया र इथियोपियामा क्रमशः सन् २०१८ र २०१९ मा सयौँ व्यक्तिको ज्यान जाने गरी भएका घातक दुर्घटनामा परेपछि चर्चामा आएका बोइङ ७३७ म्याक्स मोडेलको विमानभन्दा यो फरक हो ।
भारतमा बिहीवार भएको दुर्घटना उक्त कम्पनीका लागि ठूलो धक्का हो, जसले विभिन्न समस्यासँग जुझ्न संघर्ष गरिरहेको छ । ती समस्यामा ७३७ विमानहरू दुर्घटनाग्रस्त भएका घटनाहरू पनि पर्छन् ।
सफ्टवेअरमा देखिएको त्रुटिले ती दुर्घटनाहरू निम्तिएका पाइएको थियो र त्यसपछि उक्त मोडेलका विमानहरू १८ महिनासम्म विश्वभरि ग्राउन्डेड भएका थिए ।
भारतमा बिहीवारको दुर्घटनाबाहेक ७८७–८ मोडेलको विमानमा कुनै त्रुटि देखिएको अहिलेसम्म पाइएको छैन ।
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स प्राप्त भएपछि दुर्घटनाबारे धेरै कुरा स्पष्ट हुने अपेक्षा गरिएको छ । ब्ल्याक बक्स भनेको विद्युतीय रेकर्डिङ उपकरण हो, जसले उडानका महत्वपूर्ण विवरणहरू स्टोर गर्छ ।

कारणबारे विभिन्न अनुमान
अहमदाबाद दुर्घटनापछि त्यसका कारणबारे विभिन्न अनुमानहरू गरिँदै छ । तर मैले कुरा गरेका एक पाइलटले हिजोआज विमान निर्माताहरूको गल्तीका कारण घातक घटना हुनु दुर्लभ भएको बताए ।
उनका अनुसार बोइङ ७३७ म्याक्स विमान दुर्घटनाको उल्लेखनीय अपवादलाई छोड्ने हो भने अधिकांश दुर्घटना ककपिटमा मानवीय त्रुटिका कारण भएका छन् ।
तपाईँले व्यापारिक उडान गर्न लाग्दा सम्झनुपर्ने महत्वपूर्ण कुरा के हो भने तपाईँ कि बोइङका विमान कि एअरबसका विमान चढ्नुहुन्छ । त्यस्ता विमानहरूको निर्माणमा ती दुई कम्पनीहरूको सर्वाधिकार रहेको छ । तथापि बोइङको नाम फेरि अर्को दुःखद उड्डयन दुर्घटनामा जोडिन पुगेको छ ।
उक्त कम्पनीले ‘यात्रु, चालक दलसहित प्रभावित सबैप्रति आफ्नो समवेदना रहेको’ जनाउँदै दुर्घटनाबारे सूचनाहरू सङ्कलन गर्न एअर इन्डिआसँग मिलेर काम गरिरहेको जनाएको छ ।
बोइङका प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले यात्रुहरूका र चालकदलका सदस्यहरूका प्रियजनमा गहिरो समवेदना व्यक्त गर्दै भारतको हवाई दुर्घटनासम्बन्धी अनुसन्धान निकाय नेतृत्वको अनुसन्धानमा सघाउने बताएका छन् ।
बिहीवार न्यूयोर्कमा शेअर कारोबार बन्द हुने बेला बोइङको शेअर मूल्यमा करिब पाँच प्रतिशतले गिरावट आएको थियो ।

 

 

सुरक्षासम्बन्धी गम्भीर प्रश्न

यो दुर्घटना सुरक्षा, गुणस्तरका साथै सात हप्ता लामो कर्मचारीहरूको हडतालका कारण गत वर्ष एक महिनाको अवधिमा करिब एक अर्ब डलर घाटा बेहोरेको कम्पनीका लागि अर्को समस्या हो ।
सन् २०२४ मा अलास्का एअरलाइन्सको उडानको बीचमा विमानको एउटा ढोका भाँचिएपछि क्षतिपूर्ति स्वरूप बोइङले १६ करोड डलर तिर्नुप¥यो ।
त्यसअघि ७३७ म्याक्स विमान लामो समय ग्राउन्डेड रहँदा भएको आर्थिक क्षतिका लागि कम्पनीले साउथवेस्ट एअरलाइन्सलाई ४२ करोड ८० लाख क्षतिपूर्ति तिर्ने सम्झौता गर्नुपरेको थियो ।
गम्भीर आर्थिक मुद्दाका साथै बोइङले सुरक्षासम्बन्धी गम्भीर प्रश्नहरूको सामना गर्नुपरेको छ ।
एप्रिलमा उक्त कम्पनीले ‘सुरक्षा र गुणस्तरमा केन्द्रित भइरहँदा’ ‘सञ्चालन कार्यकुशलतामा सुधार’ देखिएको बताएको थियो ।
सन् २०१९ मा कम्पनीका एक भूतपूर्व कर्मचारीले दबावमा आएर कर्मचारीहरूले जानाजान कमसल पार्टपुर्जाहरू लगाउने गरेको बीबीसीलाई बताएका थिए ।
बोइङ कम्पनीमा गुणस्तर नियन्त्रण व्यवस्थापकका रूपमा ३० वर्षभन्दा लामो समय काम गरेका जोन बार्नेटले गत मार्चमा आत्महत्या गरेका थिए । बोइङले उनका दाबीहरूको खण्डन ग¥यो ।

कानुनी लडाइँको शृङ्खला
गोप्य सूचनाहरू चुहाउने इन्जिनियर साम सालेहपोरले बोइङका विमानहरूको सुरक्षाबारे कुरा उठाउँदा आफूलाई दुव्र्यवहार गरिएको र धम्की दिइएको अमेरिकी राजनीतिज्ञहरूलाई बताएका थिए ।
बोइङले प्रतिशोध ‘कडा रूपमा प्रतिबन्धित’ रहेको जनाएको छ र कर्मचारीहरूबाट गरिने ‘रिपोर्टिङ’मा ज्यानुअरीयता ‘पाँच सय प्रतिशतभन्दा बढी’ले वृद्धि भएको भन्दै त्यसले ‘प्रतिशोधबाट नडराईकन रिपोर्टिङ गर्ने एउटा बलियो संस्कृतितर्फ भएको प्रगतिलाई दर्शाएको’ उल्लेख गरेको छ ।
इन्डोनेशिया र इथियोपियामा भएका दुर्घटनासँग सम्बन्धित कानुनी लडाइँको एउटा शृङ्खलामा पनि बोइङ अल्झिएको छ ।
गत महिना मात्र कम्पनीले अमेरिकी न्याय मन्त्रालयसँग एउटा सम्झौता गरेपछि फौजदारी मुद्दाबाट ऊ बल्लतल्ल जोगियो ।
पीडित परिवारहरूलाई निराश तुल्याउँदै न्याय मन्त्रालयले बोइङले अमेरिकी संघीय उड्डयन प्रशासनको अनुसन्धानमा अवरोध गर्ने षड्यन्त्र गरेको स्वीकार्ने अनि जरिवानास्वरूप १.१ अर्ब डलरभन्दा बढी तिर्ने बतायो ।
आश्चर्यजनक रूपमा पछिल्ला केही वर्षहरूमा बोइङको शीर्ष कार्यकारी टोलीमा महत्वपूर्ण हेरफेरहरू भएका छन् ।
उसका नयाँ प्रमुख केली ओर्टबर्ग संकटग्रस्ट कम्पनीलाई उकास्ने प्रयाससहित आएका छन् । उनले बोइङको सुरक्षा संस्कृतिमा सुधार ल्याउने वाचा गरेका छन् र हालै उनले विशाल विमान निर्माण कम्पनी छिटै नाफामा फर्कने आत्मविश्वास व्यक्त गरेका छन् । तर बिहीवार अहमदाबादमा भएको भयावह दुर्घटनासम्बन्धी समाचारको उनले सामना गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->