शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

इजरेल–इरान द्वन्द्व : पाँच सम्भावित खराब परिणाम

इजरेल–इरान द्वन्द्व : पाँच सम्भावित खराब परिणाम

इजरेलले इरानका केही आणविक वैज्ञानिकहरूको ज्यान लिएको हुन सक्छ तर इरानको ज्ञान र विशेषज्ञतालाई कुनै पनि बमले नष्ट गर्न सक्दैन ।


  • जेम्स ल्यान्डेल/बीबीसी
  • असार १ २०८२, आइतबार

अहिलेसम्म इजरेल र इरानबीचको युद्ध दुई देशबीच मात्रै सीमित देखिएको छ । संयुक्त राष्ट्रसंघसहित सबैतिरबाट संयम अपनाउन आग्रह भएका छन् । यदि दुवै पक्षले यो आग्रह सुनेनन् भने के हुन्छ ? लडाइँ बढ्यो र अझै फैलियो भने के हुन्छ ? केही सम्भावित खराब अवस्थाबारे यहाँ चर्चा गरिएको छ ।

अमेरिका तानिन सक्छ
अमेरिकाले अस्वीकार गरेपनि इजरेली आक्रमणलाई अमेरिकी सेनाले अनुमोदन र कम्तीमा पनि मौन समर्थन गरेको इरानको स्पष्ट विश्वास छ । यसको जबाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गर्न सक्छ । त्यसमा इराकमा रहेका विशेष फौजका शिविरहरू, खाडीमा रहेका सैन्य अखडा र यो क्षेत्रमा रहेका कूटनीतिक नियोगहरू पर्न सक्छन् ।
त्यसका लागि इरानका ‘प्रोक्सी’ फौजहरू हमास र हिज्बुल्लाह कमजोर भएका हुन सक्छन् तर इराकमा रहेका यसका सहयोगी सशस्त्र विद्रोहीहरू अझै पनि सशक्त रहेका हुन सक्छन् । अमेरिकाले यस्तो आक्रमणको सम्भावना औँल्याउँदै केही फौज फिर्ता पनि बोलाइसकेको छ ।
यद्यपि सार्वजनिक खपतका लागि उसले यदि अमेरिकी निसानामा कुनै आक्रमण भए त्यसको कडा परिणाम भोग्नुपर्ने चेतावनी इरानलाई दिएको छ । यदि तेल अभिभ वा अन्य कुनै स्थानमा अमेरिकी नागरिक मारिएको अवस्थामा के हुन सक्छ ? त्यस अवस्थामा डोनल्ड ट्रम्प आफैँ कुनै कदम चाल्न बाध्य हुन सक्छन् ।
इरानलाई हराउन र आफूलाई सघाउन अमेरिका यो युद्धमा तानिने अवस्थाका लागि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू लामो समय देखिको पर्खाइमा छन् ।
सैन्य विश्लेषकहरूका अनुसार फोर्डोमा रहेका जस्ता इरानका आणविक उत्पादन केन्द्रहरूसम्म प्रहार गर्न आवश्यक बङ्कर छेड्न सक्ने बमवर्षकहरू अमेरिकासँग मात्रै छन् । तर यसो गर्न ट्रम्पलाई एउटा अप्ठ्यारो छ । उनले चुनावमा भोट माग्न चलाएको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानका क्रममा आफूले ‘अनन्त चलिरहने’ युद्ध सुरु नगर्ने वाचा गरेका थिए ।
तर उनको दल रिपब्लिकनका कैयौँले इजरेल सरकार र तेहरानमा सत्ता पलट हुनुपर्ने इजरेली सत्ताको धारणालाई समर्थन पनि गरिरहेका छन् ।
यदि अमेरिका यो युद्धमा सक्रिय सहभागी भयो भने त्यसले युद्ध थप चर्काउने मात्रै नभई त्यसलाई विनाशकारी र लामो समयसम्म चल्ने स्तरको बनाउने सम्भावना छ ।

खाडी राष्ट्रहरू जोडिन सक्छन्
यदि इजरेलका अति सुरक्षित सैन्य र अन्य निसानाहरूमा क्षति पु¥याउन इरान सफल भएन भने उसले त्यसपछि खाडी राष्ट्रका केही सहज निसानाहरूमा आफ्ना क्षेप्यास्त्र ताक्न सक्छ ।
वर्षौँदेखि आफ्ना शत्रु पक्षलाई सहयोग गरिरहेको इरानले ठान्ने देशहरू त्यो निसानामा पर्न सक्छन् ।
यो क्षेत्रमा निसानाका लागि कैयौँ ऊर्जा र पूर्वाधारहरू छन् । सन् २०१९ मा साउदी अरबको तेल उत्खनन क्षेत्रमा आक्रमण गरेको आरोप इरानमाथि लागेको थियो ।
सन् २०२२ मा पनि उसको समर्थन रहेको यमनको हुथी विद्रोही समूहले यूएईका केही स्थानमा आक्रमण गरेका थिए । त्यसयता इरान र यो क्षेत्रका केही देशहरूबीच एक किसिमको मेलमिलाप भएको छ ।
तर यिनै देशहरूले अमेरिकी हवाई अड्डाका लागि ठाउँ दिएका छन् । त्यसमध्ये केहीले गोप्य रूपमा गत वर्ष इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरेललाई जोगाउन सहयोग पनि गरे ।
यदि खाडी क्षेत्रमा आक्रमण भयो भने ती राष्ट्रहरूले पनि आफ्नो र इजरेलको रक्षाका लागि अमेरिकी युद्धक विमान मगाउन सक्छन् ।

इरानको आणविक क्षमता निस्तेज गर्न इजरेल असफल हुन सक्छ
इजरेलको आक्रमण असफल भयो भने के हुन्छ ? इरानका आणविक केन्द्रहरू जमिनमुनि निकै गहिरोमा र अति सुरक्षित रहेछन् भने के हुन्छ ?
यदि अस्त्र बनाउन संवद्र्धन गरिएको उसको ४०० किलोग्राम युरेनिअम नष्ट भएन भने के हुन्छ ?
त्यसले परमाणुअस्त्रका लागि इन्धनको काम गर्छ र त्यो सम्भवतः अस्त्र बन्नै लागेको अवस्थामा रहेको विश्वास गरिन्छ अनि त्यो १० वा त्यसभन्दा अधिक बमहरू बनाउन पर्याप्त रहेको हुन सक्ने आँकलन छ । उक्त युरेनिअम अति गोप्य खानीहरूमा गहिरो गरी लुकाइएको हुन सक्ने ठानिएको छ ।
इजरेलले इरानका केही आणविक वैज्ञानिकहरूको ज्यान लिएको हुन सक्छ तर इरानको ज्ञान र विशेषज्ञतालाई कुनै पनि बमले नष्ट गर्न सक्दैन ।
यदि इजरेलको आक्रमणले इरानको नेतृत्वलाई आफ्नो परमाणु क्षमतालाई जतिसक्दो चाँडो तयार गर्नु एक मात्रै प्रत्याक्रमणको उपाय हो भनेर विश्वस्त तुल्यायो भने के हुन्छ ?
आफ्ना प्रमुख मारिएपछि नेतृत्वमा आएका नयाँ सैन्य प्रमुखहरू पूर्ववर्तीहरू भन्दा थप कट्टर र कम सजग भए भने त्यसको परिणाम के हुन्छ ? यसले कम्तीमा पनि इजरेललाई थप आक्रमण गर्न बाध्य पार्न सक्छ । यस क्षेत्रलाई निरन्तर आक्रमण र प्रत्याक्रमणको शृङ्खलामा तान्न सक्छ । इजरेलीहरूले यो रणनीतिका लागि प्रयोग गर्ने एउटा क्रूर वाक्यांश छ ‘घाँस काट्ने ।’

विश्वव्यापी आर्थिक झड्का
तेलको मूल्य अहिले नै बढ्दो क्रममा छ । यदि इरानले ‘स्ट्रेट अफ हर्मुज’ भनिने खाडी क्षेत्रको जल क्षेत्र बन्द गरेर इन्धनको ढुवानी थप कठिन बनायो भने के हुन्छ ? अनि अरब प्रायद्वीपको अर्को छेउमा यमनका हुथीहरूले ‘रेड सी’मा जहाजहरूमा आक्रमण गर्ने आफ्नो प्रयास दोब्बर पारे भने के हुन्छ ?
यो समूहको विगतले उनीहरूलाई अप्रत्याशित आक्रमण र उच्च जोखिम लिन सक्ने देखाएको छ । उनीहरू इरानका निम्ति अन्तिम ‘प्रोक्सी’ सहयोगी हुन सक्छन् ।
विश्वभरका धेरै देशहरूले अहिले नै जीवनयापनको बढ्दो लागतबाट निम्तिएको सङ्कटको सामना गरिरहेका छन् । तेलको बढ्दो मूल्य र ट्रम्पको कर युद्धको भारले पहिले नै थिचिएको विश्वव्यापी आर्थिक प्रणालीमा मुद्रास्फीतिको भार थप्नेछ ।
अनि बिर्सनै नहुने अर्को पक्ष भनेको बढ्दो तेलको मूल्यबाट फाइदा उठाउने एक व्यक्ति रुसका राष्ट्रपति पुटिन हुन् । यो अवस्थामा क्रेमलिनको ढुकुटीमा अचानक अर्बौँ डलर जम्मा हुनसक्छ र युक्रेन युद्धका कारण तिर्न बाँकी ऋण पुटिनले चुक्ता गर्न सक्छन् ।

इरानको सत्ता ढल्न सक्छ
इरानमा इस्लामिक विद्रोहबाट उदाएको सत्ता ढाल्ने आफ्नो दीर्घकालीन दाउमा इजरेल यदि सफल भयो भने के हुन्छ ? नेतन्याहूले आफ्नो पहिलो लक्ष्य इरानको आणविक क्षमता नष्ट गर्ने रहेको दाबी गर्ने गरेका छन् । तर उनले पछिल्लो वक्तव्यमा आफ्नो व्यापक दाउ इरानको सत्ता फेर्ने रहेको स्पष्ट गरिसकेका छन् ।
इरानको वर्तमान सरकार ढाल्ने कुराले यो क्षेत्रका केहीलाई प्रभावित गर्न सक्छ– विशेषगरी केही इजरेलीहरूलाई । तर इरानमा गृहयुद्ध भयो भने त्यसले कस्तो अन्योल र अस्थिरता निम्त्याउन सक्छ ? कस्ता अप्रत्याशित परिणामहरू निम्तिन सक्छन् ?
इराक र लिबिया दुवै देशमा कायम सत्ता र सरकार हटाएपछि के भयो भन्ने धेरैको सम्झना अझै ताजै छ । आगामी दिनहरूमा यो द्वन्द्व कसरी अगाडि बढ्छ भन्नेमा धेरै कुरा निर्भर देखिन्छ ।
इरानले कसरी र कति कडा बदला लिन्छ ? अनि अमेरिकाले इजरेललाई कुन हदसम्मको संयम अपनाउन दबाव दिन सक्छ ? यी दुई प्रश्नको उत्तरमा धेरै कुरा निर्भर हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->