बागलुङ/मालढुंगादेखि दक्षिण बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजार जोड्ने सडक खण्डको टाकुरी खण्डमा कालोपत्र भएको छ । लामो समयदेखी समस्याग्रस्त रुपमा रहेको मालढुंगा–कुश्मीसेरा सडकको टाकुरी खण्डको आठ सय मिटर सडकमध्ये ७ सय २० कालोपत्र, अर्चले र कालीमारे खोलामा कजवे निर्माण गरिएको हो भने अन्य सडकमा ढलान गरिएको हो ।
गतवर्ष गण्डकी प्रदेश सरकार, बागलुङ र जैमिनी नगरपालिकाको समपुरक÷साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्रको काम भएको थियो । यसवर्ष पनि दुवै नगरपालिकाको साझेदारीमा सडक कालोपत्र गरिएको हो । सडक विस्तार, नाली र टेवा पर्खाल निर्माण गर्ने काम भएको गौतम एए जेभीका निर्माण व्यवसायी प्रदिप गौतमले जानकारी दिए ।
सडकका लागि २ करोड रुपैयाँ बजेट भएपनि निर्माण कम्पनी गौतम एए जेभीले १ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिसहित कालोपत्र गरिएको हो । २०८२ जेठ मसान्तम काम सम्पन्न गर्ने गरी २०८१ बैशाख १७ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले तोकिएको मितिअगावै काम सम्पन्न गरेको हो ।
अप्ठ्यारो सडक खण्डमा कालोपत्र भएपछि मालढुंगा–कुश्मीसेरा सडकमा यात्रा गर्ने बागलुङ नगरका केही बस्ती, जैमिनी, बरेङ गाउँपालिकादेखि शान्तिपुर सम्मका नागरिकलाई यात्रा गर्न केही सहज हुने जैमिनीका उपप्रमुख हरिहर शर्माले बताए ।
बागलुङको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किलोमीटर सडकको ठाउँ ठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्चि सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
बागलुङ नगरपालिका १ मालढुंगादेखि वडा नं. १० को गलुवासम्मको एक किलोमीटर सडक कच्चि छ । गलुवाकै दव्ल्याङमा तीन वर्षअघि झरेको भीमकाय पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको छ । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको स्टमेट मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि १ करोड ३१ लाख ७७ हजार ८ सय ३७ रुपैयाँको लगत स्टमेट गरेको छ ।
वर्षायाममा निरन्तर बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ । २०७२ सालमा सडक विभागले कालोपत्रे गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँ ठाउँमा खसेका पहिरोले सडक जोखिममा छ । लामो समय बितिसक्दा समेत सवारीसाधन एकतर्फी चल्नेगरी सडकको पहिरो मात्रै पन्छाउने काम भएको भन्दै स्थानीय डिलबहादुर किसानले आक्रोश पोखे ।





