सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संविधान संशोधनमा जाने वातावरण बन्दै छ : कांग्रेस प्रवक्ता महत

संविधान संशोधनमा जाने वातावरण बन्दै छ : कांग्रेस प्रवक्ता महत

डा. महतले कांग्रेसको महाधिवेसन आगामी वर्ष मात्रै हुने बताए ।


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८२, मंगलबार

बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधान संशोधनको चरण छिट्टै शुरु हुने बताएका छन् । उनले बजेट र अन्य काममा सरकार लागेकोले अब संविधान कार्यान्वयनमा समस्या देखिएका स्थानको खोजी हुने बताए ।

नेपाल प्रेस युनियन बागलुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महतले कांग्रेस–एमाले गठबन्धन स्थायीत्वको लागि समेत भएकोले आगामी २०८४ को निर्वाचन अघिसम्म संशोधनको काम गरिसकिने बताए । गत वर्ष कांग्रेस र एमाले सरकार बन्दा संविधान संशोधनलाई पनि सहमतिको बुँदामा राखिएको थियो ।

सहमतिको बुँदा अनुसार सरकार संचालन भएकोले संविधान संशोधनमा जाने वातावरण पनि बन्दै गएको उनले बताए । ‘प्रतिनिधिसभामा त हामी बहुमतमा छौं, राष्ट्रिय सभाले पनि त्यो एजेण्डा पास गर्नुपर्छ’ उनले भने, ‘त्यसका लागि विपक्षी समेत सहमत बन्ने गरी संशोधनका बुँदा तयार गर्छौ ।’ संविधान कार्यान्वयन गर्दा आइपरेका बाधाबारे सबै राजनीतिक दल जानकार भएकोले विपक्षी दल पनि यो सहमतिमा आउने उनले बताए ।

डा. महतले कांग्रेसको महाधिवेसन आगामी वर्ष मात्रै हुने बताए । आउने मंसिरमै महाधिवेसन हुने वा नहुनेमा अहिले पनि शंका भैरहेको बेला महतले यो खुलासा गरेका हुन् । महाधिवेसनको तयारी पनि नपुगेको महतको भनाइ छ । एक वर्षपछि अर्थात २०८३ को मंसिरसम्ममा मात्रै महाधिवेसन गर्न सकिने गरी तयारी भएको बताए । पार्टीको बिधान अनुसार केन्द्रीय समितिको चार वर्ष पदावधि भएपनि एक वर्ष थप गर्न मिल्ने प्रावधानमा टेकेर २०८३ को मंसिरभित्र अधिवेसन गर्ने तयारी भएको उनको भनाइ थियो ।

आर्थिक अनुशासन, प्राथमिकीकरण र आर्थिक रुपान्तरणका लागि बजेटको सदुपयोग गर्नुपर्ने महतको धारणा छ । ‘बजेटमा भएका कमीकमजोरी औल्याएर सुझावसहित पारित गर्ने बेलामा संसद अबरोध गरेर केही फाइदा छैन’ उनले भने, ‘दोषीलाई कारवाही गर्ने हो, तर छानविन नभइ गृहमन्त्रीलाई राजिनामा मागेर संसद घेर्नुको औचित्य छैन ।’ गृहमन्त्रीलाई पार्टिले माया नगरेको तर कर्मचारीको दोषमा मन्त्रीले राजिनामा दिने पद्दती नभएको उनले दाबी गरे ।

प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव डम्मर बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->