सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कुश्मीसेरा–राङखानी–बरेङ सडक पाँच दिनपछि खुल्यो

कुश्मीसेरा–राङखानी–बरेङ सडक पाँच दिनपछि खुल्यो


  • मित्र थापा
  • असार ५ २०८२, बिहिबार

तस्बिर : मित्र थापा

बागलुङ (राङखानी)/दक्षिण बागलुङको लाइफलाइन मानिने कुश्मीसेरा–राङखानी हुँदै बरेङ गाउँपालिका जोड्ने सडकअन्तर्गत जैमिनी नगरपालिका वडा नं. १० राङखानीको सेलडाँडामा गत आइतबार राती खसेको पहिरो पन्छाएपछि पाँच दिनपछि उक्त सडक खण्डमा सवारी आवागमन सूचारु भएको छ ।

कुश्मीसेरा–राङखानी देवलधारा सडक खण्डमा काम गरिरहेको शर्मा एण्ड क्याराभान जेभिले डोजर लगाएर पहिरो पन्छाएपछि अवरुद्व सडक सूचारु भएको हो । ‘‘पहिरो निकै ठूलो हुँदा पन्छाउन धेरै समय लाग्यो’’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘‘निरन्तरको वर्षाले काम गर्न असहज हुँदा पहिरो पन्छाउन ढिलाई भएको हो, सडक खुलेपछि रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।’’

पहिरो पन्छाउन लामो समय लाग्दा दक्षिण बागलुङको राङखानीहुँदै बरेङ गाउँपालिका प्रस्थान गर्ने यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए भने खाद्यन्न ढुवानीमा समस्या भएको थियो । डाँडाखेटबाट खसेको भीमकाय पहिरोले कुश्मीसेरा–राङखानी सडक अवरुद्व हुँदा यात्रुहरुले कुश्मीसेराबाट सर्कुवाको व्याडथला, राङखानीको डाँडाखानीहुँदै बरेङ गाउँपालिका पुग्न घुमाउरो र जीर्ण सडकमा यात्रा गर्नुपरेको थियो ।

२०७६ सालमा ठेक्का सम्झौता भएपनि हालसम्म कुश्मीसेरा–राङखानी–देवलधारा सडकखण्ड कालोपत्रे हुन सकेको छैन । गण्डकी प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय बागलुङमार्फत ठेक्का लागेको उक्त सडकखण्ड शर्मा एण्ड क्याराभान जेभिले निर्माणको जिम्मा लिएको हो । सडकको काम गराउन जैमिनी नगरपालिकाले निर्माण व्यवसायी र पुर्वाधार कार्यालयसंग काम गर्ने कार्यतालिका सहितको सहमति गरेपनि निर्माण कम्पनीले काम अलपत्र पारेको हो ।

सडक कालोपत्रको काम नभएपछि स्थानीयले आन्दोलन समेत गरेका थिए । भौतिक मन्त्रीको रोहबरमा सबै पक्षबीच वार्ता भई यथाशीघ्र कालोपत्रको काम गर्ने सहमती भएपनि आजसम्म सडक निर्माणको कामले गति लिन सकेको छैन । प्रदेश सरकारले कार्यान्वयन गरिरहेको योजना समयमै सम्पन्न गर्न जनप्रतिनिधिले नतिजा आउनेगरी सम्बन्धित निकायमा दवाब दिनुपर्ने नगर उपप्रमुख हरिहर शर्मा बताउँछन् ।

पहिरोले सेलडाँडाका भीमबहादुर श्रीसको घरगोठ उच्च जोखिमा परेको राङखानीका कार्यवहाक वडा अध्यक्ष भरत श्रीसले बताए । पहिरोले स्थानीय जयराम आचार्य, रामसागर शर्मा, एकराज शर्माको घरसमेत जोखिमा परेको श्रीसको भनाई छ । “घरमाथिको जमिन फाँट्दै गएकोले कतिबेला के हुन्छ भन्नै नसक्ने अवस्था छ’’ श्रीसले भने, ‘‘निरन्तरको वर्षाले बस्तीमा पहिरो खस्ने जोखिम छ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->