बागलुङ/जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पर्यटन सर्किट बनाउने भएको छ । बिहिबार शुरु भएको सत्रौं नगर सभाको अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भरत शर्मा गैरेले पर्यटकीय क्षेत्रको सर्किट बनाइ पर्यटन सूचना केन्द्र पनि स्थापना गर्ने जानकारी दिए ।
नीति तथा कार्यक्रममा पुष्पलाल मध्यपहाडी लोकमार्ग भई आउने आन्तरिक र बाह्रय पर्यटक लक्षित गरेर ‘पर्यटन सर्किट’ पनि संचालना ल्याउने भन्ने उल्लेख छ । त्यसका लगि नगरपालिकाले पर्यटक लक्षित गरेर आवस्यक सूचना बोर्ड राख्ने, नगर भित्रका धार्मिक, प्राकृतिक र ऐतिहासिक क्षेत्रको सूचना दिने, प्रचार गर्ने र पर्यटकलाई घुमाउने कार्यक्रम पनि संचालन गरिने भएको हो ।
गलकोटमा अन्तराष्ट्रिय मुर्तीकला, घुम्टेको लेक, सिद्दथान, सहश्रधारा झरना, रमुवा, थालेपोखरा, कालीलेक, राम्चे, उदय बुद्द बिहार, चमेरे गुफा, शिवधुरी, गाजा धुरी, कोतघर, निलुवा र ऐतिहासिक गलकोट दरवार लगायतका दर्जनबढी पर्यटकीय क्षेत्र छन् ।
त्यस बाहेक नीतिमा यहाँको दरमखोलामा माछा संरक्षणका लागि तोकिएको समयमा माछा मार्न नपाउने उल्लेख छ । गलकोटका उचित स्थानमा असला माछाको प्रतिमा बनाउने पनि नीतिमा उल्लेख छ । विपत व्यवस्थापनका लागि आवस्यक कार्य गर्ने, सडकहरु स्तरीय बनाएर बाह्रै महिना चलाउने, सडककै कारण बाढी पहरो आउन नदिन संरक्षणका काम गर्ने समेत नीतिमा उल्लेख छ । गलकोटमा उत्पादन हुने मौलिक उत्पादनलाई बिक्री गर्न कोसेली घर बनाइने छ । ती सामग्रीलाई पर्यटनमा जोडिने गलकोटले नीति लिएको छ ।
कृषि र पशुपालनलाई व्यवसायिक बनाएर बजारमा जोड्ने, खाद्य र पोषण सुरक्षाको ग्यारेन्टी गर्दै कृषकसँग कृषि प्राविधिक कार्यक्रम वडा स्तरमा संचालन गरिने समेत नीति ल्याइएको हो । कृषिका पकेट क्षेत्रहरु घोषणा गरेर बजारीकरणमा पनि जोड्ने, कृषि फर्म संचालन गर्ने किसानको उत्पादनलाई सहज बिक्रीको व्यवस्थापन पनि गरिने भएको हो ।
गलकोटले नीति तथा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएको छ । त्यसका लागि नगर अस्पतालमा हेमोडाइलाइसिस सेवा बिस्तार गर्ने उल्लेख छ । हाल १० बेडको अस्पताल मात्रै संचालन गरेको गलकोटले आगामी वर्ष १५ शैयाको अस्पताल बनाएर बिपन्न नागरिकको निशुल्क उचार समेत गराउने नीति ल्याएको हो । उपप्रमुखसँग थ्राम्बोलाइसिस (ह्दयघात रोकथाम) कार्यक्रम पनि संचालनमा ल्याइने नगर प्रमुख गैरेले जानकारी दिए ।
सामान्य उपचार सेवामा नागरिकको स्वास्थ्यमा अघिल्लो वर्ष नै प्राथमिकता दिएको गलकोटले आर्थिक वर्ष २०८२÷०८३ मा विशिष्टीकृत सेवा पनि संचालनमा ल्याउन लागेको हो । त्यसका लागि नगर स्तरीय विपन्न नागरिक उपचार कोष पनि संचालन गरिने भएको छ । आर्थिक रुपमा विपन्न परिवारले विशिष्टीकृत सेवा पनि निशुल्क पाउने भएका हुन् ।
नगर अस्पतालसहित नगरभित्रका सबै स्वास्थ्य संस्थालाई पेपरलेस बनाउने लक्ष्य पनि राखिएको छ । यसअघि नगरका सबै स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ समेतमा डिजिटल विधिमामर्mत रेकर्ड थालिएको थियो । ग्रामीण क्षेत्रको एकाइमा बिरामी दर्ता हुँदासाथ नगर अस्पताल र नगर स्वास्थ्य शाखामा प्रवृष्टि गर्ने पद्दती शुरु भेसकेको थियो । अहिले पुनः हरेक दिन नगरभित्र कति जना बिरामी आए, उनीहरुको रोगको प्रकृति के थियो ? कति औषधी खर्च भयो र कुन कुन औषधी उपयोग भयो भन्ने तथ्यांक समेत कम्प्युटर विधिमा राखने गरिन्छ ।
आगामी वर्ष भने मृगौला र मुटु रोगी लगायतका दिर्घ रोगीको निशुल्क उपचार सेवा प्रदान गर्ने, नगर प्रमुख मातृ तथा शिशु पोषण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने, मृगौला प्रत्यारोपण गरेका बिरामी, क्यान्सर रोगी, मेरुदण्ड पक्षघात भएका बिरामी समेतलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँको दरले वार्षिक ६० हजार रुपैयाँ सहयोग गर्ने नीति बनाइएको छ । बिरामीको आवस्यकताको आधारमा उक्त रकम चौमासिक रुपमा बितरण गरिने छ । नगरभित्रै नागरिक आरोग्य उपचार केन्द्र स्थापना गरिने भएको छ । आर्युवेद उपचार पद्दती, योग र ध्यानलाई प्राथमिकता दिएर उक्त केन्द्र संचालन हुने छ ।





