सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाँदर व्यवस्थापन गर्न सामुदायीक वनको सहारा

बाँदर व्यवस्थापन गर्न सामुदायीक वनको सहारा


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८२, शुक्रबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले किसानलाई दुःख दिईरहेको बाँदर नियन्त्रणका लागि सामुदायीक वनको सहारा लिने नीति ल्याएको छ । वनमा नै बाँदरका लागि खानाको व्यवस्थापन गरेर बाँदर नियन्त्रण गर्ने नीति ल्याएको हो ।

गाउँपालिका अध्यक्ष राजु थापाले शुक्रबार १७ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायीक वनमा फलफुल तथा गिठा, भ्याकुर, तरुल लगायतका कन्तमुल लगाईने घोषणा गरे । गत वर्षनै गाउँपालिकाले सामुदायीक वन तथा बाँझो जग्गामा कन्दमुल लगाउने कार्यक्रम ल्याएको थियो । गत वर्ष पुरा गर्न नसकिएको कार्यक्रमलाई यसवर्ष मुर्तरुप दिईने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले स्थानीय मदिराको ब्रण्डीङ र लेबलिङ गर्ने नीति ल्याएको छ । त्यसका लागि आवश्यक प्रक्रिया यसै वर्ष पुरा गरिने अध्यक्ष थापाले घोषणा गरे । गाउँपालिकाले कृषि र पशुजन्य उत्पादनलाई जोड दिँदै बजारीकरणलाई प्राथमिकतामा राखेर नीति ल्याएको छ । गाउँपालिकाले केही बस्तीहरुलाई ग्रामिण सहरको रुपमा विकास गर्ने नीति लिएको छ । अध्यक्ष थापाले वडा नम्बर १, २, ५ र ६ को सम्भावित बस्तीहरुलाई नीजि क्षेत्र र स्थानीय समुदायहरु सँगको सहकार्यमा नमुना सुरक्षित आवाससँगै ग्रामिण सहरको रुपमा विकास एवं विस्तार गर्ने नीति सार्वजनिक गरे ।

गाउँपालिकाभित्र अब बन्ने संरचनाहरुलाई व्यवस्थित गर्न व्यक्तिगत आवास व्यवस्थापनका लागि पक्की घर बनाउँदा अनिवार्य नक्सापास गर्नुपर्ने र अन्य कुनै घरटहरा निर्माण गर्दा गाउँपालिकाको स्वीकृति लिनुपर्ने नीति सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न तरकारी मिनीकिट अनुदान कार्यक्रम, चिया, अलैची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्दै कृषि पकेट पूर्वाधार कार्यक्रम संचालन, कृषकको उत्पादानलाई संकलन र बजारीकरणको लागि काठेखोला कृषि उपज संकलन केन्द्रको भवन निर्माण र संचालन गर्ने जनाएको छ ।

पालिकामा उत्पादन हुने नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ मा संकलन गरिने भएको छ । गाउँपालिकाभित्र रहेका खानीहरु उत्खनन् तथा अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाले बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई, जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र लेवलिङ गरी बजार व्यवस्थापन गर्ने भएको छ ।

यस्तै गाउँपालिकाभित्र रहेको पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यापर्यटन रुपको विकास गरी पूर्वाधार निर्माण गरिने र नीजि क्षेत्रसँग समन्वय गरि जडिबुटी उत्पादन र प्रशोधन केन्द्र संचालन गरिने अध्यक्ष थापाले नीति ल्याएका छन् । आम नागरिकमा शैक्षिक जागरणका नविनतम कार्यक्रम संचालन गर्न सबैको लागि शिक्षा संचालनमा जोड दिने, नयाँ संरचनामा बाल तथा अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिने र विद्यालयहरुको खाजामा जंकफुटरहित बनाउन विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गरिने भएको छ । त्यस्तै उपाध्यक्षसँग सघन र नियमित अनुगमन कार्यक्रम समेत राखिएको हो ।

पूर्वाधारतर्फ गाउँपालिकाले हरेक वर्ष गाउँपालिका भवनदेखि वडा कार्यालयसम्म जोड्ने सडकलाई गौरवको योजनामा समावेश गर्दै स्तोरन्नती गर्ने योजना यसवर्ष वडा नं. ३ धम्जा र वडा नं. ७ रेशको वडा कार्यालयसम्म जोड्ने सडक स्तोन्नति गरिने भएको छ ।

यस्तै गाउँपालिका र वडा कार्यालयसँगको साझेदारीतामा वडा कार्यालयले संकलन गरेको राजश्व रकम बराबरको साझेदारीतामा प्रत्येक वडाको सडक ढलान, ग्राबेलिङ, ग्याविन लगायतका काममा जोड दिइने र सडक निर्माण गर्दा पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरि वातावरणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिने छ । यस वर्ष ५० प्रतिशत पूर्वाधार संरचनाको निर्माण कार्य गर्ने नीति अवलम्वन गरिने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने नीतिमा उल्लेख छ । स्वास्थ्यतर्फ १ सय २० विपन्न घरपरिवारलाई निःशुल्क बीमा लगायतका कार्यक्रममा जोडिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->