सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नयाँबजार–हुग्दीशिर सडक कालोपत्र

नयाँबजार–हुग्दीशिर सडक कालोपत्र


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८२, शनिबार

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा नयाँबजार–हुग्दीशिर जोड्ने सडक कालोपत्र गरिएको छ । २०६४ जेठ १० गते ट्याक खुलेको यो सडक १९ वर्षपछि स्तरोन्नतिसंगै कालोपत्र गरिएको हो । बरेङ २ हुग्दीशिरदेखि वडा नं. ३ बाटाकाचौर जोड्ने दोस्रो सडक खण्डमा ८ सय मिटर सडक कालोपत्र गरिएको हो ।

गगन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डौंले ८१ लख ८९ हजार ३ सय ३३ रुपियाँमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिसंगै कालोपत्रको काम सम्पन्न गरेको पालिकाका इन्जिनियर रामकृष्ण पौडेलले जानकारी दिए । २०८२ बैशाख १५ मा काम सम्पन्न गर्नेगरी २०८१ मंसिर १८ गते ठेक्का सम्झौता गरेको गगन बिल्डर्सले तोकिएको समयमा काम नसकेपछि थपिएको जेठ १५ मा काम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र गाउँपालिकाको बजेटबाट सडक कालोपत्र गरिएको हो । ८ सय मिटर सडकमध्ये ४ सय ८० मिटरमा प्रि–मिक्स कार्पेट प्रविधिको कालोपत्रे र ३ सय २० मिटर सडकमा ढलान गरिएको हो । ६ मिटर चौडा सडकमा कालोपत्र र ढलान गरिएको हो ।

यसअघि बरेङको प्रशासनिक केन्द्र रहेको वडा नं. २ हुग्दीशिरको सुदलादेखि वडा नं. ३ बाटाकाचौर जोड्ने सडक खण्डमा ८ सय ३० मिटर कालोपत्र गरिएको छ । पालिकाको बजेटमा सडक कालोपत्र गरिएको हो । सिजन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि.ले ८१ लाख ८५ हजार रुपियाँमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिसंगै कालोपत्र गर्ने काम सम्पन्न गरेको इन्जिनियर पौडेलले बताए ।

सडक कालोपत्रसंगै नाली निर्माणदेखि टेवा पर्खाल र सडक ढलानको काम गरिएको छ । दुवै सडकखण्ड कालोपत्र हुँदा बरेङसंगै गुल्मी शान्तिपुरका नागरिकलाई यात्रासंगै खाद्यन्न र कृषि उपज ढुवानीमा सहज हुने छ ।

लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा समेत असहज भइरहेको थियो । ‘‘सडक कालोपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलो सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका नागरिकले अब सहज यात्रा गर्न पाउने छन्’’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने । बाटाकाचौरका नयाँबजार, साग्दी र खाल्लेबासीलाई कालोपत्र सडकले सहज यात्रासंगै खाद्यान्न ढुवानीमा लाभ हुने अध्यक्ष शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->