शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ट्रम्पले इरानमा खेलेको जुवा

ट्रम्पले इरानमा खेलेको जुवा

ट्रम्पले अमेरिकी हमलाले इरानलाई वार्ताको टेबलमा लचक हुनका लागि दबाबमा पार्ने आशा गरेको देखिन्छ । तर इजरेली हमला हुँदा नै कुरा गर्न नचाहने राष्ट्र अमेरिकी बम खस्दा त्यसका लागि अझ चलक हुने सम्भावना कम देखिन्छ ।


  • एन्थनी जर्कर/बीबीसी
  • असार ८ २०८२, आइतबार

गत ज्यानुअरीमा ‘शान्ति निर्माता’ हुने वाचा गर्दै ह्वाइटहाउस फर्किएका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरेलबीचको भीषण द्वन्द्वमा अमेरिकालाई जोड्ने नाटकीय कदम चालेका छन् । पद सम्हालेपछि मध्यपूर्वमा शान्ति कायम गर्ने प्रयासभन्दा धेरै टाढा रहेका ट्रम्प अब अझै ठूलो सम्भावित युद्धको संघारमा रहेको क्षेत्रको नेतृत्व गरिरहेका छन् अनि त्यो लडाइँमा अमेरिका सक्रिय रूपमा सहभागी बन्न पुगेको छ ।

अमेरिकी सेनाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेको सामाजिक सञ्जालमा घोषणा गरेको दुई घण्टाभन्दा बढी समयपछि ह्वाइटहाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गरेका अमेरिकी राष्ट्रपतिले यस कारबाहीलाई ‘अभुतपूर्व सफलता’ बताए । उनले आफ्नो कदमले दिगो शान्तिको ढोका खोल्ने आशा व्यक्त गर्दै त्यहाँ इरानसँग परमाणु शक्ति बन्ने सम्भावना नहुने बताए । इरानले आफ्नो बलियो घेरामा रहेको फोर्दो परमाणु स्थलमा आंशिक क्षति मात्र भएको जनाएको छ । कुन पक्ष सही छ भन्ने कुरा समयले बताउनेछ ।

उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबिओ र रक्षामन्त्री पिट हेग्सेथको आडमा उभिएर ट्रम्पले इरानलाई यदि उनीहरूले आफ्नो परमाणु कार्यक्रम नत्यागेमा भविष्यमा ‘निकै नराम्रो र निकै सहज’ हमलाहरू सामना गर्नुपर्ने चेतावनी दिए । ट्रम्पले ‘धेरै निशानाहरू बाँकी रहेको’ र अमेरिकाले ‘गतिपूर्ण, सटिक ढङ्गले र कौशलकासाथ’ तिनलाई पछ्याउने बताए ।

राष्ट्रपतिको साहसका बाबजुद इरानमा हुने निरन्तरको अमेरिकी सैन्य संलग्नता अमेरिका, त्यस क्षेत्र र विश्वकै लागि निकै खराब अवस्था बन्न सक्छ । संयुक्त राष्ट्र संघका महासचिवले द्वन्द्व बढाउने अमेरिकी निर्णयबाट अराजकताको जालो उत्पन्न हुने चेतावनी दिँदै मध्यपूर्व पहिले नै युद्धकोे धारमा रहेको उल्लेख गरेका छन् ।

यदि इरानले बदला लियो भने अमेरिकी पक्षले प्रतिक्रिया दिन बाध्य महसुस गर्न सक्छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले यसअघि नै अमेरिकी आक्रमण भए त्यसको बदला लिइने चेतावनी दिएका थिए । यसै साताको सुरुमा ट्रम्पको विनासर्त आत्मसमर्पण गर्न भन्दै दिएको वक्तव्यले राष्ट्रपतिलाई यस्तो स्थितिमा पु¥याएको छ जहाँबाट उनलाई पछि हट्न गाह्रो हुनेछ । इरानसँग समेत विकल्प कम छन् ।

युद्धहरू यसरी नै सुरु हुन्छन् र ती त्यसमा संलग्न भएकाहरूको नियन्त्रण र कल्पनाभन्दा बाहिर फैलन सक्छन् । बिहिबार डोनल्ड ट्रम्पले इरानीहरूलाई दुई हप्ताको समय सीमा दिए पनि यो अपेक्षा गरिएभन्दा निकै छोटो रह्यो र शनिबार राती अमेरिकी राष्ट्रपतिले आफूले कदम चालेको घोषणा गरे ।

के वार्ताका लागि दुई साता एउटा बहाना वा सप्ताअन्तमा इरानीहरूलाई सुरक्षाको गलत भावनामा फसाउने प्रयास थियो ? अथवा ट्रम्पका शान्तिवार्ताकार स्टिभ विटकफको नेतृत्वमा पर्दा पछाडि जारी वार्ता भङ्ग भयो ? हमलालगत्तैको अवस्थामा कमै मात्र कुराहरू हामीलाई थाहा छ । तर उनको सामाजिक सञ्जालको पोस्ट र टेलिभिजन सम्बोधनमा ट्रम्पले शान्तिको ढोका खोल्ने प्रयास गरेको दाबी गरेका छन् ।

यद्यपि त्यो अतिआशावादी दृष्टिकोण हुन सक्छ । इजरेलीहरूले इरानको सैन्य क्षमतालाई कमजोर पार्ने प्रयास गरिरहे तापनि खामेनेईसँग अझै पनि हतियारहरू छन् । परिस्थितिहरू छिटै अस्तव्यस्त हुन सक्छन् । अब प्रतीक्षाको खेल सुरु हुन्छ । इरानले आफ्नो परमाणु कार्यक्रमको मुकुट रत्नको रूपमा हेरिने फोर्दो सहितका आफ्ना तीन केन्द्रमा भएका हमलाको प्रतिक्रिया कसरी दिनेछ ?

ट्रम्पले अमेरिकी हमलाले इरानलाई वार्ताको टेबलमा लचक हुनका लागि दबाबमा पार्ने आशा गरेको देखिन्छ । तर इजरेली हमला हुँदा नै कुरा गर्न नचाहने राष्ट्र अमेरिकी बम खस्दा त्यसका लागि अझ चलक हुने सम्भावना कम देखिन्छ ।

ट्रम्पले अमेरिकी आक्रमण एक पटकको, सफल घटना हो भनेर सङ्केत गरिरहेको जस्तो देखिन्थ्यो । यदि त्यसो भएन भने फेरि हमला गर्ने दबाब बढ्नेछ । अथवा राष्ट्रपतिले न्यूनतम सैन्य लाभको लागि गम्भीर राजनीतिक जोखिम लिनेछन् । त्यो जोखिममा घरेलु राजनीतिक चिन्ताका साथै अन्तर्राष्ट्रिय सुरक्षाका प्रश्नहरू समावेश हुनेछन् ।

इरानमा अमेरिकी हमलाको सम्भावनाले पहिले नै डेमोक्र्याटहरूबाट मात्र नभई ट्रम्पको आफ्नै ‘अमेरिका फस्र्ट’ अभियानभित्रबाट समेत तीव्र आलोचनाहरू निम्त्याइसकेको थियो । राष्ट्रपतिले आफ्ना तीनजना निकट सल्लाहकारसाथ रहेर राष्ट्रका नाममा सम्बोधन गर्ने असामान्य निर्णयले पार्टी भित्रको एकता दर्शाउने प्रयास गरेको हुन सक्छ ।

खासगरी भान्स अधिक संयमित अमेरिकी विदेश नीतिको प्रस्ट वकालतकर्ता हुन् । उनले हालै सामाजिक सञ्जालमा ट्रम्प अझै पनि एक गैरहस्तक्षेपवादी रहेको भन्दै उनका समर्थकहरूले ट्रम्पलाई शंकाको सुविधा दिनुपर्ने भनेका थिए । यदि यो हमला एक पटकको घटना मात्र भए ट्रम्प आफ्नो आधारभित्रको विभाजनलाई सहज बनाउन सक्षम हुन सक्छन् । तर, यदि यसले अमेरिकालाई ठूलो द्वन्द्वमा तानेमा राष्ट्रपतिको आफ्ना सहयोगीहरूसँग मतभेद देखिन सक्छ ।

आफ्नो पहिलो राष्ट्रपति कार्यकालमै कुनै नयाँ युद्ध सुरु नगरेकोमा घमण्ड गर्ने राष्ट्रपतिका लागि शनिबारको हमला एक आक्रामक कदम थियो । ट्रम्पले गत वर्षको चुनावी अभियानमा देशलाई विदेशी द्वन्द्वमा तान्ने आफ्ना पूर्ववर्तीहरूको बारम्बार आलोचना गरेका थिए । यतिखेर ट्रम्पले आफ्नो कदम चालेका छन् । यो यहाँबाट कहाँ जान्छ भन्ने कुरा उनको मात्र पूर्ण नियन्त्रणमा छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->