बागलुङ/जैमिनी नगरपालकाले तीन बर्षदेखि चर्चामा सिमित भएको बाँदर बगैचाको काम थाल्ने भएको छ । सत्रौं नगरसभा तथा आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख छ ।
बाँदरकै कारण किसानले बस्ती छाडेर हिडेको, उत्पादकत्व घटेको र किसानहरुले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ को पुरानो गाउँमा बाँदर बगैचा निर्माणकोलागि काम थाल्ने नीतिमा उल्लेख गरिएको हो । वन ऐन, बन्यजन्तु सम्बन्धी कानूनहरु समेतले बाँदर बगैचा निर्माणको काम रोकिएको छ । बाँदरलाई संघिय सरकारले पनि कृषिको हानिकारण बन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।
किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालन तर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ । दूग्धजन्य परिकारलाई मूल्य ऋखलामा जोडेर बन्द रहेका फर्म पनि संचालनमा प्रोत्साहन गरिने भएको हो । त्यसकालागि ‘निशुल्क नश्ल सुधार, दुध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ । दुध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो ।
कृषि क्षेत्रमा आर्कषण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ । सबै किसानलाइ सूचिकरण गरेर परिचयपत्र दिने भएको हो । जैमिनीलाई सबै किसान सूचिकरण भएको पालिका बनाइने नररप्रमुख नरबहादुर पुनको नीतिमा उल्लेख छ । सेरा जाऔं केरा खाऔंको निरन्तरता सहित सुन्तला पकेट, बाख्रा जोन लगायतका कार्यक्रम संचालन गर्ने पनि नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसान जोडिएकोले उनीहरुलाई दिने प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवस्यक भएको पुनको भनाइ छ ।
किसानकै लागि नीतिमा सबैभन्दा धेरै बुँधा समावेश छन् । जस अनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बंगुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको लागि तयारी बनाउने जैमिनीको योजना छ ।
गतवर्ष नै शुरु गर्ने भनिएको कृषि एमबुलेन्स संचालन गर्ने नीति समेत आएको छ । उत्पादन बढाउन पशुको निशुल्क नस्ल सुधार गर्ने, पशुलाई खोप लगाउने, औषधी र अन्य उपचार गराउने देखि उत्पादनलाई बजार पठाउने काममा नगरले किसानलाई साथ दिने भएको हो ।
रैथाने बालीको उत्पादन बढँउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ । शिक्षाको गुणस्तर बढाउन लिड स्कुल मार्फत पढँइ संचालन गर्ने, सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेली उद्दार गर्न सबै वडामा हेलीप्याड बनाउने भएको हो । १० वडा रहेको जैमिनीमा अघिल्लो बर्ष नै ३ वटा वडामा पक्की हेलीप्याड बनाइएको छ ।
छोरी जन्मेमा जन्मदर्ता गर्दा २ हजार ५ सयको खाता खोलिदिने नीति समेत नगरले ल्याएको छ । बजेटमा समेत सुनिश्चितता गरेर उक्त नीति ल्याएको नगरउपप्रमुख हरिहर शर्माले बताए । नीतिमा १३ वटा दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गरिने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, सबै वडा कार्यालयहरु निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने नीति पनि लिइएको छ ।





