फाइल तस्बिर
बागलुङ/बागलुङको ढोरपाटनमा गत शुक्रबार (जेठ ३०) भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका वडा नं. २ की २३ वर्षिय इन्द्रा कुँवरको उपचारको क्रममा मृत्यु भएपछि ज्यान गुमाउने संख्या पाँच पुगेको हो ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गंभीर घाइते कुँवरको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए । यसअघि ढोरपाटन नगरपालिका २ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापाको मृत्यु भएको थियो । कार्की र बुढाको बुर्तिवाङ अस्पताल, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरको उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा परी गंभीर घाइते हुनुभएकी ढोरपाटन २ की १८ वर्षिय लुम्बिनी महतको बि एण्ड बि अस्पताल काठमाडौं, ढोरपाटन १ का ११ वर्षिय शिशिर कार्कीको नयाँ मेडिकल कलेज भरतपुर चितवन र ढोरपाटन ५ की ३० वर्षिय टनमाया कुँवरको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको प्रनाउ पाण्डले जानकारी दिए ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडकखण्ड हुँदै सहीखोलातर्फ जाँदै गरेको लु. प्र. ०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना भएको थियो । जिप सडकदेखि ६० मिटर तल खसेको थियो । जीपमा १६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जीप ब्रेक फेला हुँदा भयानक दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाण्डेले बताए ।





