मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दुधको अस्तित्व खै ?

दुधको अस्तित्व खै ?

आमा समानका दुग्ध उत्पादक किसानलाई सम्मान गरिनु पर्छ । बिचमा राज गर्ने बिचौलीयाहरुका घर बन्दा, किसानहरुका गोठ बन्ने वातावरण तयार हुनुपर्छ ।


  • माधव चापागाईं
  • असार १५ २०८२, आइतबार

नेपाली बजारमा दुधको माग र मूल्य दुवै उच्च छ । दुग्ध विकास संस्थानको खरिद तथा बिक्री मुल्यमा दुधको किनबेच हुन्छ । परन्तु दैनन्दिन दुधको अस्तित्व समाप्त हुदै गइरहेको यथार्थ हामी सामु स्पष्ट छ । किसानले कठोर परिश्रम गर्छन् । अहोरात्र पशु चौपायको सेवा शुश्रुसा गर्छन् । बिहान सूर्योदय हुनु पूर्व उठेर गोठको कर्ममा जुट्छन् । सबेरै उठ्नु, भकारो सैतनु, कुडो पकाउनु, खुवाउनु, दूध दुहेर डेरिसम्म पु¥याउनु, पुनः वस्तुभाउलाई घाँस काट्नु, उनिहरुकै खानपान, भोकप्यास र उचित रेखदेख गर्नुमा कृषकको दैनिकी बित्छ ।

जीवनदायी अमृत समानको पेयपदार्थ दुधमा हुने अस्तित्व समाप्तीको खेललाई उनीहरु जटिल रूपमा लिन्छन् । परन्तु राजनीतिज्ञ, सामाजिक अगुवा, बुद्धिजीवी, विभिन्न संघसंस्था, आमा समुह र दुग्ध व्यवसायी समितिले दुधको सवलिकरणमा ध्यान दिने गरेको पाइदैन । आमा समानका दुग्ध उत्पादक किसानलाई सम्मान गरिनु पर्छ । बिचमा राज गर्ने बिचौलीयाहरुका घर बन्दा, किसानहरुका गोठ बन्ने वातावरण तयार हुनुपर्छ । उत्पादित दुधको बिक्रीका लागि उपयुक्त बजार नपाउनु, सस्तो मुल्यमा दूध बिक्री गर्न बाध्य पारिनु, बिक्री भएको दुधको भुक्तानी समयमा नहुनु, आफुलाई पर्दा आफ्नै दुधको मूल्य भारी पर्नु, पशुचौपायाको पालनपोषणका लागि दानापानी महङ्गो बन्नु जस्ता चुनौती कृषकले दशकौंदेखि भोग्दै आएका छन् । किसानबाट ४५ देखि ७०–७५ सम्ममा किनिएको दूध रु. १२० मा बेच्दा पनि दुधले दुधको अस्तित्व गुमाउन पुग्नु बिडम्बना हो । अहिले फेरिदो समय चक्रमा रङले रङ कै अस्तित्व गुमाउँदै छ । फलस्वरूप बजारमा वितरित पानी दूध जस्तो बाक्लो छ । दूध पानी जस्तो पातलो बन्दै छ । पृथ्वी गोलो छ एक दिन सबैको पालो आउँछ भन्थे हो रहेछ ! विचार मान्छेले पशुअधिकार खोसेर लिएको दूध आज दूध नै रहेन । जसका कारण डेरी स्थापना भएका सटर र घरका घरबेटीले समेत आफ्नै घरमा भएको डेरीबाट दूध किन्न असमर्थ छन् । बजारमा जुन डेरीले आफ्नै घरबेटी र छिमेकीलाई दुधका लागि आकर्षण गर्न सक्दैन सम्झिनुस् त्यहाँको दुध कमजोर मापदण्डको छ ।

हरेक वर्ष दूधको मूल्य बढाउने दुग्ध व्यवसायी संस्थानले दुधको अस्तित्व मापनको नियम किन लागू नगरेको ? बिचौलियाहरुले दूधको अस्तित्व नै समाप्त पारेर जनताको स्वास्थ्यमा गम्भीर संकट उत्पन्न गर्दा समेत मुकदर्शक बन्नु स्थानीय सरकार र सरोकारवालाको दयनीय अवस्था हो । विचरा किसान दैनिक हातखुट्टा फटालेर दुध उत्पादन गर्छन् । बोकेर ल्याउनेको जुत्ता र टोपी फाँट्छन् । साहुहरुले तिनै कृषकको रगत र पसिनामाथी अभिमान देखाउँछन् । न किन्ने उपभोक्ताले खुशी किन्छ, न उत्पादन गर्ने किसानले मानवीय मूल्य पाउँछ । हाम्रो घरको दुधमा त लपक्क तर लाउँछ । यो बजारको दुधको तर कहाँ जान्छ ? सबै सबै पैसै पैसाको मोलमोलाइमा चल्छ ।

स्थानीय वस्तुको प्रवद्र्धनमुखी नारा लगाउने स्थानीय सरकारले पनि यी यावत् समस्याको उचित निराकरण खोजेको पाइदैन । सेतो तरल पदार्थका रुपमा रहेको दूध प्राणी जगतको प्रमुख पोषक तत्व र पोषणको प्राथमिक स्रोत हो । ब्रह्माण्डमा उत्पत्ति भएका स्तनधारी प्राणीहरू प्रायः दुधमै निर्भर रहन्छन् । दुधबाट प्रोटीन र ल्याक्टोज सहित धेरै पोषक तत्व र भिटामिनहरु प्राप्त गर्न सकिन्छ ।

नेपाली बजारमा दुधको अन्तरप्रजातिय उपभोगलाई विषेश महत्व दिदै आइएको छ । जसअन्तर्गत मान्छेले गाई, भैंसी र बाख्राको दुध उपभोग गर्छन् । हुनतः जुनसुकै स्तनधारी प्राणीले आफ्ना सन्तानको लागि दूध दिने गर्दछन् । परन्तु संसारकै विवेकशील मानिएको मानिसले अन्तरप्रजातिय दूध उपभोगलाई साधारण बनाएको कुरा विदितै छ । हाम्रा चाडपर्व एवं दैनिकीहरुमा प्रायः दुधबाट बन्ने परिकारहरुले विशेष स्थान पाउछन् । पाउडर दूध, दही, ध्यु, कुराउनी, खिर, पेडा, गुदपाक, पुस्टकारी, छुर्पी लगायतका असङ्ख्य मिठाइहरुले मानिसको मन जितिरहेका छन् ।

अहिले नेपाली बजारमा गाई र भैंसीको दूध सर्वसुलभ रूपमा पाइन्छ । यद्यपि नेपालमा दुधको भण्डारण साँघुरिदै गएको छ । सर्वप्रथम त नेपाली बजारमा दुधले आफ्नो अस्तित्व दैनन्दिन रूपमा गुमाउन पुगेको छ । स्तनपायी जनावरले आफ्ना सन्तानको भरणपोषणका लागि उत्पादित पौष्टिक तत्वमा मानिसले वर्चस्व जमाउदा दुधको अस्तित्व समाप्त भएको हो । नेपाली बजारमा दुधको गुणस्तर निर्धारित मापदण्डभन्दा कम छ भन्ने कुरा आम उपभोक्तालाई थाहा छ । राष्ट्रिय दुग्ध विकास बोर्डकै प्रयोगशालामा परीक्षण गरिएका अधिकांश नमूनामा दुध गुणस्तरहीन भएका समाचार आइरहदा बजारमा दुधले अस्तित्व गुमाउँदै गएको स्पष्ट छ ।

नेपालमा दुग्ध विकास संस्थान, दुग्ध सहकारीहरुले ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकहरूबाट उत्पादन गरिएको दूधको समुचित बजार व्यवस्थापन गर्ने गरेका छन् । यी दुवै संस्थानले आम उपभोक्ताका लागि स्वच्छ तथा प्रशोधित दूध उचित मूल्यमा आपूर्ति गर्ने उद्देश्य लिएका हुन्छन् ।

सरकारले किसानबाट ४ युनिट फ्याट र ८ प्रतिशत एसएनएफ (सोलिड नट फ्याट) दुधको मूल्य निर्धारण गरेको हुन्छ । तर व्यापारीले उपभोक्ता मूल्य समानान्तर राखे पनि दुधको गुणस्तर निरन्तर कमजोर हुँदैछ ।

समय समयमा दुधको गुणस्तर मापन नहुनु, कमजोरी देखिएका ठाउँमा कार्वाही नहुनु, उद्योगहरुमा राजनैतिक बोलवाला र बिचौलियाहरुको बिगबिगी चल्नु, बोर्ड र डेरि उद्योग एवं व्यवसायीबाट तत्कालै किसानलाई भुक्तानी नदिइनु जस्ता समस्याले उत्पादक र उपभोक्ता ठगिँदै आएका छन् । त्यसै गरेर धेरै ठाउँमा उपभोक्ता मूल्य निर्धारण नहुँदा मूल्यमा पनि एकरुपता नभएको पाइन्छ । कति व्यापारीले आफ्नै मनोमानीमा बजार मूल्य निर्धारण गरि उपभोक्ता ठगिरहेका छन् भने कतिले दुधको अस्तित्व नै समाप्त पारेर ठग्ने गरेको स्पष्ट छ । कति उद्योगी र व्यापारीहरुले गाईभैसिको दुधमा न्युनतम हुनुपर्ने फ्याट र एसएनएफ नै मेटाएर शुन्य गुणस्तरको दुध बजारमा बेचिरहेका छन् ।

फ्याट र एसएनएफले दुधको स्वाद र गुणस्तर निर्धारण गर्दछ । दुधबाट चिल्लो पदार्थ निकालेर दुग्धजन्य पदार्थ बटर, घिउ, पाउडर लगायतको निर्माण पश्चात् महङ्गो मुल्यमा दूध बेचिनु सर्वसाधारण ठगिनु हो । दुधमा हुने घिउको मात्रालाई फ्याट भनेर बुझिन्छ । ल्याक्टो, प्रोटिन, सुगर, क्याल्सियम, मिलिरल जस्ता दुधमा पाइने पदार्थ एसएनएफ भनेर बुझिन्छ । दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका, २०७५ अनुसार गाई र भैंसीको दुधमा घटीमा क्रमशः ३.५ र ५ प्रतिशत चिल्लो पदार्थ (फ्याट) हुनुपर्ने मापदण्ड छ । परन्तु बजारमा पाइने दुधमा मापदण्डको त कुरै छाडौं पानीको मात्रा मात्रै अधिक छ । कतिसम्म भने कुनै कारण भुइँमा पोखिन पुगे छिनभरमै दुध पोखिएको स्थान नचिनिने अवस्थामा रहन्छ । सदियौदेखि गाइभैसी पालेर जीवन व्यतीत गरेका हाम्रा पुर्खाहरूले दुधको यो अवस्थालाई निकै दयनीय अवस्था ठान्छन् ।

सरकारले सबै ग्रामीण भेगमा उत्पादित दुध संकलन, प्रवद्र्धन र निर्यात गर्न सकेको खण्डमा दुधमा मुलुक आत्मनिर्भरका साथै व्यापार घाटा कम गर्ने मुख्य स्रोत बन्छ । जसको पहिलो सर्त किसान खुसी हुनु हो । यद्यपि नेपाली बजार उत्पादक नभएर व्यापारीहरु खुशी हुने मापदण्डको छ । वर्तमान तथ्यांक अनुसार करिब ३५ लाख घर परिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न छन् । यो सङ्ख्या वृद्धि गर्न कृषकलाई आकर्षित गर्नु आवश्यक छ । कृषक आकर्षणको प्रमुख मार्ग भनेको उनिहरुका दैनिकी सहज बनाउदै उत्पादित दुधको मूल्य निर्धारण र भुक्तानी हो । औपचारिक र अनौपचारिक रूपमा दुग्ध बिक्री वितरणबाट दैनिक करोडौं रुपैयाँ ग्रामीण क्षेत्रमा पुग्ने गर्दछ । यद्यपि कृषकले समयमा दूधको मूल्य नपाउनु निकै जटिल परिस्थिति मानिएको छ । धन्यवाद ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->