पोखरा/ पोखराको सिर्जनाचोक शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्ईई)– २०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च राखेको भन्दै विद्यार्थीलाई बधाई तथा सम्मान गरेको हो ।
विद्यालयका निर्देशक सीता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एसईई. उत्तीर्ण विद्यार्थीका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार कृष्ण घिमिरेले एसईई उत्तीर्ण विद्यार्थीलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । प्राचार्य पाण्डेले मन्तव्य राख्दै अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासबाट यसप्रकारको उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको जनाउँदै विद्यार्थी, अभिभावक एवम् शिक्षक कर्मचारीलाई बधाई तथा शुभकामना दिएका थिए ।
विद्यालयका भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका सल्लाहकार कृष्ण घिमिरे, शिक्षक प्रकाश क्षेत्री तथा अभिभावक कुशुम गौचनले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । यसैगरी एसईई उत्तीर्ण विद्यार्थीहरूका तर्फबाट योजना माझी, स्पन्दन गोर्खाली र प्रिन्सा अर्यालले मन्तव्य राखेका थिए । कार्यक्रमको शिक्षक विष्णुप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।





