काठमाडौं / नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडिने बेला नभएको बताएका छन्। एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने समय भएको बताए।
‘अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने बेला होइन, पार्टी माथि चौतर्फी हमला भइरहेको छ, एमाले माथिको आक्रमण रोक्ने बेला आफैंभित्र प्रतिस्पर्धा गरेर पार्टीलाई कमजोर बनाउनु हुँदैन,ु उनले भने। नेतृत्वको बहस महाधिवेशनको बेला हुने गुरुङले बताए। ‘यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौं, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ, त्यसैले तपाईँहरू केपी ओली वा विद्या भण्डारी भनेर दौडनु पर्दैन’, उनले भने।
पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे। कसैले टिको लगाइदिएर नेतृत्वमा नपुगिन उनको धारणा छ। ‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरो, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन’, उपमहासचिव गुरुङले भने।
नेकपा एमालेमा अहिले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता मौलाउँदै गएको उनले बताए। अहिलेको बेमौसमको बाजा पानी त्यसको उपज भएको उनको धारणा छ। आफैं भित्रको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता एमालेको लागि सबैभन्दा घातक भएको उनले बताए। ‘पार्टीमा पद बाँड्दै हिँड्ने, आफू भए ठीक, अरू हुँदा गलत भन्ने प्रवृत्ति मौलाएको छ, यो कम्युनिष्ट पार्टीको लागि घातक कुरा हो’, मन्त्री गुरुङले भने। एमाले मार्क्सवादी विचार र लेनिनवादी संगठनात्मक प्रणालीबाट विकसित भएर आएको पार्टी भएको बताउँदै उनले अहिले एमालेको असल पद्धति कोमामा पुगेको बताए। त्यसलाई बचाउनु आजको आवश्यकता हो, उनले स्पष्ट भने ।





