आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जैमिनीधाम–कुश्मीसेरा सडक कालोपत्र

जैमिनीधाम–कुश्मीसेरा सडक कालोपत्र

सडक विभागदेखि कालीगण्डकी करिडोर आयोजना कार्यालयलाई पटक पटकको आग्रहपछि जैमिनीधामदेखि कोप्चेसम्मको सडकखण्ड कालोपत्र गर्ने काम भएको जैमिनीका उपप्रमुख हरिहर शर्माले बताए ।


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८२, बुधबार

बागलुङ/जिल्लाको दक्षिण भेगको व्यापारिक केन्द्र तथा जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारलाई जैमिनीधामसंग जोड्ने सडक कालोपत्र गरिएको छ । जैमिनी १ जैमिनीधामदेखि कुश्मीसेरा जोड्ने १ किमी ६ सय ६० मिटर दुरीको सडकमध्ये कोप्चेसम्मको ७ सय ६० मिटर कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा र बाँकी ९ सय मिटर सडक पूर्वाधार विकास कार्यालय बागलुङले कालोपत्रे गरेको हो ।

सडक विस्तार, नाली तथा टेवा पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधार गरेर सडक कालोपत्र गरिएको हो । जैमिनीधामदेखि कुश्मीसेरा बजार जोड्ने मुल सडकको कोप्चे सम्मको ७ सय ६० मीटर सडकमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले कालोपत्र गरेको हो । सडक विभागदेखि कालीगण्डकी करिडोर आयोजना कार्यालयलाई पटक पटकको आग्रहपछि जैमिनीधामदेखि कोप्चेसम्मको सडकखण्ड कालोपत्र गर्ने काम भएको जैमिनीका उपप्रमुख हरिहर शर्माले बताए ।

यो सडक करिडोर आयोजनाको बागलुङको बलेवादेखि गुल्मीको हर्मिचौरसम्मको ४५ किलोमिटर सडक खण्डमा काम सम्पन्न गरेको कालिका कन्स्ट्रक्सन कम्पनीले कालोपत्र गरेको हो । दुई लेनको सात मिटर चौडा सडकमा डिबिएसटी प्रविधिको कालोपत्र गरिएको जैमिनीका इन्जिनियर विवेक सापकोटाले जानकारी दिए ।

यस्तै, जैमिनीधाम–कुश्मीसेरा सडकको बाँकी ९ सय मिटर खण्डमा पूर्वाधार विकास कार्यालय बागलुङले कालोपत्रे गरेको हो । जैमिनी नगरपालिकाको रिङरोडमा पर्ने यो सडकको लागि ५ करोड रुपैयाँ बजेट भएपनि २०८१ जेठ १७ गते ३ करोड २० लाख ४७ हजार १ सय १९ रुपैयाँमा ठेक्का सम्झौता गरी केबिसी–एसी–जेभीले कालोपत्र गर्ने काम सम्पन्न गरेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

यो बजेटबाट जैमिनी नगरपालिका वडा नं. ३ दमेक र वडा नं. ९ पैयुथन्थापमा पर्ने रिङरोडको ठुल्डाँडा–बाघखोर–नामदुक सडकखण्डमा सडकको भित्ता तास्ने र ग्याबिन जाली भर्ने काम भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर प्रकाश श्रीसले बताए । सडक स्तरोन्नतिसंगै कालोपत्र गर्ने समय अवधि १५ महिना भएपनि काम धमाधम भईरहेकाले जेठ अन्तिम साता काम सम्पन्न भएको हो । ९ सय मिटर सडक खण्डमध्ये ३ सय मिटरमा ढलान गरिएको छ ।

जैमिनीधाम यहाँको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । प्राचीनकालदेखि नै जैमिनीधाममा प्रत्येक वर्षको माघ सङ्क्रन्तिमा परम्परागत मेला लाग्दै आएको छ । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको जैमिनीधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्ने विषय नगरपालिकाले प्राथमिकतामा राखेको छ । सडक बनेपछि यहाँ पर्यटकको आगमन बढ्नुका साथै स्थानीयलाई आवातजावतमा समेत सहज हुने नगर उप्रमुख शर्माले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->