काठमाडौ / नेकपा एमालेको राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले पाएको सरकारी सेवासुविधा फिर्ताको लागि निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन् । उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन् । भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको बहस पनि सुरु भएको छ ।
भण्डारीले पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले उपलब्ध गराउने सेवा सुविधा आधामात्र लिँदै आएकी थिइन् । सरकारले निवास र गाडी दिने भए पनि उनले नीजि निवास र गाडी प्रयोग गर्दै आएकी थिइन् ।





