आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लहरेपिपपल माविको संस्थापक को ?

लहरेपिपपल माविको संस्थापक को ?

नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले नगरको निर्देशन पालना नगर्ने प्रधानाध्यापक र विद्यालयलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । भेलाले जे निर्णय गर्छ त्यो पालना गर्ने व्यवस्थापन गर्न सके आचार्यको निरन्तरको गुनासो नआउने पोखरेलको भनाई छ ।


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८२, बिहिबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ को लहरेपिपल माध्यमिक विद्यालयमा केही वर्षदेखि बल्झेको संस्थापक अध्यक्ष विवाद अझै समाधान भएको छैन । अभिभावक र संस्थापकबीच नै विवाद बढेपछि बागलुङ नगरपालिकाले समाधानका लागि निर्देशन गरेपनि समाधान नभएको हो ।

नगरपालिकाले विद्यालयलाई संस्थापक अध्यक्ष सम्बन्धी विवाद समाधान गरी विद्यालयको अभिलेख अद्यावधिक गर्न गत महिनानै निर्देशन दिएको थियो । तर विद्यालयमा यो विवाद समाधान भएको छैन । दुइ महिना बित्नै लाग्दा पनि विद्यालयले भेला समेत नराखी नगरको निर्देशनलाई बेवास्ता गरेको हो । यसअघि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा अभिलेखमा हेरफेर गरिएको आरोपसहित विवाद अदालतसम्म पुगेको थियो ।

जिल्ला शिक्षा कार्यालयका तत्कालीन निरीक्षक बलराम जोशीको निरीक्षण प्रतिवेदनअनुसार विद्यालयको सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय इन्द्रलाल उपाध्याय रहेको प्रष्ट प्रमाण हुँदाहुँदै पनि विद्यालयले मौखिक आधारमा अर्कै व्यक्तिलाई संस्थापक मानेको स्थानीय समाजसेवी बालकृष्ण आचार्यले बताए ।

विद्यालयले बलपूर्वक इतिहास मेट्ने नियतले कार्य गरेको भन्दै स्वर्गीय उपाध्यायको परिवार अदालत गएको थियो । परिवारका तर्फबाट दायर गरिएको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले २०७५ साल असार १० गतेको उत्प्रेषण परमादेशमा, मौखिक प्रमाणका भरमा विद्यालयको अभिलेख अद्यावधिक गर्न नमिल्ने ठहर गरेको थियो ।

तर, विद्यालय व्यवस्थापन समितिले २०१६ सालकै लिखित प्रमाणलाई बेवास्ता गर्दै २०६२ सालमा प्रकाशित विद्यालय स्मारिका ‘दर्पण’लाई आधार मानेर स्वर्गीय धनपति उपाध्याय संस्थापक अध्यक्ष भएको दाबी गरिरहेको हो । विद्यालयको ‘दर्पण’मा प्रकाशित सामग्रीको आधारमा धनपति उपाध्यायलाई संस्थापक मानिएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले अहिले आइरहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष इन्द्रलाल उपाध्याय र धनपती उपाध्याय बारेको विवादबारे बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पठाएको पत्र विद्यालय व्यवस्थापन समितिलाई बुझाइसकेको बताए । पोखरेलले भने गत बैशाख २२ गते ३०६८ नम्बरको चलानी सहितको पत्र विद्यालयमा पठाएको र अहिलेसम्म बेवास्ता भएको बताए ।

आचार्यले इतिहास मेटाउन खोजिएको भन्दै पत्रकार र सामाजिक अभियान्ताको खोजी गरी विद्यालयको इतिहास बचाइदिन आग्रह गरेका छन् । आचार्यले अहिले पनि पुराना कागजपत्र बोकेर न्यायको लागि हिंडिरहेका छन् । यो विवादलाई तत्काल समाधानमा नभएमा थप कानूनी उपचार खोज्ने अर्यालले बताए ।

नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले नगरको निर्देशन पालना नगर्ने प्रधानाध्यापक र विद्यालयलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । भेलाले जे निर्णय गर्छ त्यो पालना गर्ने व्यवस्थापन गर्न सके आचार्यको निरन्तरको गुनासो नआउने पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->