आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गैरकानूनी विदेश यात्राले युवाहरु अप्ठ्यारोमा

गैरकानूनी विदेश यात्राले युवाहरु अप्ठ्यारोमा

आप्रवासी श्रोत केन्द्रको तथ्यांक अनुसार चालुवर्ष गैरकानूनी रुपमा विदेशमा गएका बागलुङका मात्रै ७ जनाको मृत्यु भएको छ । १० जना श्रम स्विकृति भएकाहरुको ज्यान गएको छ । तीमध्ये एकजना महिला पनि छिन् ।


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८२, बिहिबार

बागलुङ/वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? गैरकानूनी रुपमा जाने, पर्यटक भिसामा गएर श्रम गर्न खोज्ने लगायत बिना कागजात विदेश पुग्ने युवाहरु अप्ठ्यारोमा पर्ने गरेका छन् । कतिपयको दुर्घटनामा ज्यान पनि गएको छ । यसरी ज्यान जाँदा उनीहरुले क्षतिपुर्ति नपाएका घटना छन् । मृत्यु भएकाहरुको शव ल्याउन कठिन पर्नेदेखि घाइते र अपांगता भएमा उपचार खर्च नपाउने खतरा बढेको हो ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले त्यस्तो समस्या पर्नुअघि बैधानिक बाटो अबलम्बन गर्न युवालाई सुझाव पनि दिएको छ । गैरकानूनी रुपमा विदेश गएमा आउने समस्याबारे युवामा परामर्श सेवा दिने तर कतिपयले जानेर पनि गैरकानूनी बाटो रोज्दा दुर्घटना पर्ने परियोजनाका संयोजक मीनप्रसाद उपाध्यायले बताए ।

चालु वर्षपनि यस्ता डेढ दर्जन घटनामा नागरिकले मृत्युबरण गरेका छन् । त्यस बाहेक दर्जनौ घटनामा घाइते, अपांग हुने, बिरामी परेर काम गर्न नसक्ने अवस्था आएका छन् । त्यस्तो समस्यामा पर्नेलाई समयमा उद्दार गर्न पनि कठिन भएको उनले जानकारी दिए ।

ती मध्येकै गलकोटकी एक युवतीले गैरकानूनी रुपमा विदेशमा गएर जोखिम मोलेको आप्रवासी श्रोत केन्द्र बागलुङकी परामर्शदाता गंगा शर्मा रिजालले बताइन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । उनले गैरकानूनी रुपमा कामदार बस्दा हिंसामा परेर धेरै दुःख पाएकी थिइन् । केन्द्रले दुतावासमा सम्पर्क गरेपछि उद्दार गरेर नेपाल फर्काएको छ । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन सकेपनि राहत, बीमा र अन्य सेवा भने नपाएको रिजालले बताइन् । अहिले पनि उनी जीवन चलाउन समस्यामा परेकी छिन् ।

यसरी जोखिममा पर्नेमा तमानखोलाका एक युवा पनि छन् । सन् २००७ मा बहराइन गएका ती युवा अहिले गम्भिर बिरामी भएर अस्पतालमा छन् । अपांग बाबुले छोराको उद्दार गर्न सकेका छैनन् भने गैरकानूनी भएकोले बिरामीलाई नेपाल ल्याउने खर्च पनि परिवारले व्यहोर्नुपर्ने भएपछि समस्या थपिएको छ । उनलाई नेपाल ल्याउन मात्र १४ लाख खर्च लाग्ने बताइएको छ ।

केन्द्रका अनुसार पछिल्लो समय श्रम इजाजत बिना विदेशमा जाने, गैरकानूनी रुपमा काम गर्नेहरु बढ्दै गएका छन् । उनीहरु अप्ठ्यारोमा पर्दा उद्दारमा कठिनाइ हुने गरेको छ । केन्द्रको तथ्यांक अनुसार चालुवर्ष गैरकानूनी रुपमा विदेशमा गएका बागलुङका मात्रै ७ जनाको मृत्यु भएको छ । १० जना श्रम स्विकृति भएकाहरुको ज्यान गएको छ । तीमध्ये एकजना महिला पनि छिन् ।

प्रक्रिया पुगेकाहरुको समयमा शव ल्याएर परिवारलाई राहत र क्षतिपुर्ति दिलाउन सकिएपनि प्रक्रिया नपुगेकालाई केही गर्न नसकेको रिजालले बताइन् । ‘हामीले राहदानी बनाउन आएका हरेक नागरिकलाई परामर्श गराएका छौं, तर गैरकानूनी रुपमा जानेहरुको ज्यानै जोखिममा परेको छ’ रिजालले भनिन्, ‘दुतावासका कर्मचारीले साथ दिए भने केहीलाई उद्दार गर्न सकिएको छ, बाँकीको थप समस्या बल्झेको छ ।’

रिजालका अनुसार चालु वर्ष बागलुङका १ सय ३८ जना समस्यामा परेका कामदारमध्ये ५८ जनाको सकुशल उद्दार गरिएको हो । ती मध्ये २२ जनाको उद्दारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने भन्दै लाखौं रुपैयाँ ठगिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->