बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि यहाँको एक विद्यालयले शैक्षिक परामर्श दिएको दिएको छ । कक्षा ११ मा भर्नाका लागि अन्यौल नहोस् भन्ने उद्देश्यले रेश नुन्थला माध्यामिक विद्यालयले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई बधाईसँगै परामर्श दिएको हो ।
केहीदिन पहिला राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा यहाँका ३२ जना विद्यार्थी उत्तिर्ण भएका थिए । चार जना भने उत्तिर्ण हुन सकेनन् । उत्तिर्ण विद्यार्थीका अभिभावक, विद्यालय व्यवस्थापन समिति, सरोकारवालाको उपस्थितीमा कक्षा ११ को भर्नाका लागि शैक्षिक परामर्श दिईएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए ।
‘अहिले एसईई पास गर्ने विद्यार्थी सानै उमेरका छन्, अब के गर्ने, कस्तो विषय पढ्ने भन्नेमा उनीहरुमा अन्यौलता हुन्छ’ थापाले भने, ‘तिनै विद्यार्थीको मेहनतले विद्यालयले नतिजाका आधारमा जस लिने तर अब के गर्ने भन्ने बाटो नदेखाईदिने गर्न मिल्दैन, हामीले जिम्मेवारी बोध गरेर परामर्श दिएका हौं ।’
विद्यार्थीको चाहना अनुसारको विषय छनोट गरेर पढ्न सुझाईएको थापाले बताए । बधाई तथा परामर्श कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आँफुहरुले बुझेका विषयमा विद्यार्थीलाई सुझाएका थिए ।
रेश नुन्थलाबाट परीक्षामा सहभागि ३६ जनामध्ये ३.६ देखि ४.० जिपीए ल्याएर ७ जना, ३.२ देखि ३.६ जिपीए ल्याएर ८ जना र २.४ देखि ३.२ जिपीए ल्याएर १७ जना विद्यार्थी उत्तिर्ण भएका छन् । आवश्यक ग्रेड प्राप्त नगरेका ४ जना विद्यार्थीको लागि ग्रेड बृद्धि परीक्षामा सहभागि गराउने तयारी छ ।





