बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाको प्रशासनिक भवन बिहुँको सुल्डाँडामा बन्ने भएको छ । नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंगो लागेको छ ।
भवन निर्माण गर्ने ठाउँको विषयमा लामो समयदेखि विवाद हुँदा गाउँपालिकाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको थियो । गाउँपालिकाको भवन निर्माणका लागि जनप्रतिनिधिबीच वडा नम्बर ६ बिहुँ सुल्डाँडा र वडा नम्बर २ अक्षेतेलाई लिएर विभाजन भएपछि भवन निर्माणको काम अगाडी बढ्न सकेको थिएन ।
बिहिबार बसेको १७ औं गाउँसभाले बिहुँ सुल्डाँडामा प्रशासनिक भवन निर्माण गर्नेगरी सर्वसम्मत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । ‘आगामी आर्थिक वर्षदेखि भवन निर्माणको कार्य शुरु गर्ने छौ’ अध्यक्ष थापाले भने । प्रशासनिक भवन निर्माण गर्ने विषयमा गत असार १० गतेको गाउँसभामा मतदान हुँदा कुनै पनि पक्षमा दुई तिहाई मत नपरेपछि १९ गतेका लागि मिति तय गरिएको थियो । यो बीचमा भएका विभिन्न छलफल र बैठकले सर्वसम्मतको निर्णय गर्ने वाताबरण बनाएको अध्यक्ष थापाले बताए ।
गाउँसभाले बिहुँ सुल्डाँडा र अक्षेतेलाई प्रशासनिक केन्द्र मान्ने र प्रशासनिक भवन सुल्डाँडामा बनाउने गरी सर्वसम्मत निर्णय गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी र्दि । ‘प्रशासनिक भवन सुल्डाँडामै बनाउने र अक्षेतेलाई पनि प्रशासनिक केन्द्र मान्ने गरी निर्णय गरिएको छ,’ उनले भने, ‘अक्षेतेमा अन्य संरचनाहरुको विकास गर्ने विषयमा मतऐक्यता भएको छ ।’





