बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको रजत जयन्तीको अबसरमा सात पत्रकार पुरस्कृत भएका छन् । साथै सात जना पुर्व अध्यक्ष सम्मानित भएका छन् । महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले बुधवार पुरस्कार र सम्मान प्रदान गरिन् ।
पत्रकार महासंघ बागलुङका संस्थापक अध्यक्ष बिदुर खड्कालाई मरणोपरान्त र अन्यलाई सम्मान गरिएको हो । पूर्व अध्यक्षहरु नरायण दत्त कंडेल, राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र नरेश कंडेल समेत सम्मानित भएका हुन् ।
त्यस्तै नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकार पुरस्कृत भएका छन् । हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट ४ जना पुरस्कृत भए । नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र गौतमकी धर्मपत्नि पिम्ला गौतमले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार कोषबाट महासंघले उक्त पुरस्कार दिएको हो । उक्त पुरस्कारबाट पत्रकार प्रकाश बराल, तारनाथ आचार्य र प्रदिप पन्त पुरस्कृत भए । तीनैजनालाई जनही २० हजार रुपैयाँको दरले पुरस्कार दिइएको हो ।

बागलुङकै सामाजिक अगुवा तीर्थ प्रसाद श्रेष्ठ र उनको परिवारले स्थापना गरेको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट थप ४ पत्रकार पुरस्कृत भएका छन् । उक्त पुरस्कारबाट पत्रकार किरण आचार्य, सुवास आचार्य, दिल शिरिष र कोपिला कंडेल पुरस्कृत भए । महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सबैलाई पुरस्कार प्रदान गरिन् ।
उनले यतिबेला व्यवसायिक पत्रकारितामा चुनौती थपिएको भन्दै दक्ष पत्रकार उत्पादनमा महासंघले पहल गर्ने बताइन् । साथै उनले पत्रकारहरु सधैं प्रश्न गर्न सक्ने स्थानमा बस्नुपर्ने भन्दै पछिल्लो समय पत्रकारितामा व्यवसायिक धर्म कमजोर भएकोले महासंघले दैनिक बिज्ञप्ती निकाल्नुपर्ने बाध्यता आएको पनि बताइन् । उनले पेशागत सुरक्षामा महासंघ लागेकोले पत्रकारले पनि लेखन क्षेत्रलाई नै सुधार्नुपर्ने बताइन् ।
उनले सदस्यता शुद्दिकरणमा शाखाले अग्रसरता ल्याएमा पत्रकारितापनि शुद्द बन्ने बताइन् । त्यसमा केन्द्रले हस्तक्षेप नगर्ने पनि शर्माको भनाइ थियो । डिजिटल पत्रकारिताले थपिएको चुनौती बारे महासंघले नयाँ कार्यक्रम ल्याउने, जोखिममा परेका पत्रकारलाई सुरक्षा दिने र सामाजिक सुरक्षा कोषमा अनिवार्य जोड्ने अभियान पनि ल्याएको उनले बताइन् । त्यसकालागि सरकारी संचार माध्यम र निजी क्षेत्रका संचार माध्यममा पहल भैरहेको शर्माको भनाइ थियो । कतिपय संचार माध्यमले थालिसकेको र बाँकीले पनि महासंघको पहलमा गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।

महासंघले स्थापना दिवशको अबसर पारेर आयोजना गरेको मैत्रीपूणर््ँ फुटसल प्रतियोगिताका खेलाडीलाई पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरेको छ । मंगलवार भएको खेलमा नेपाल पत्रकार महासघ कास्की बिजयी भएको थियो । म्याग्दी, बागलुङ र कास्कीका ५ टिमले फुटसल खेलेका थिए । त्यस बाहेक स्थापना दिवशको अबसरमा ध्यान शिविर लगायतका अन्य गतिविधि पनि संचालन भएका थिए । २०५७ सालमा धौलागिरि शाखाको रुपमा बागलुङ, पर्वत र म्याग्दीका पत्रकारको शाखा स्थापना भएको थियो । २०६३ पछि भने म्याग्दी र पर्वत छुट्टै शाखा भएपछि धौलागिरि शाखा बागलुङ शाखा बनेको थियो ।
महासंघका बागलुङ अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालन र उपाध्यक्ष सिर्जना पन्तको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासचिव तथा न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य जमुना बर्षा, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, छिमेकी पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर र पुरस्कृतबाट पुर्व अध्यक्ष दिल शिरिषले मन्तव्य राखेका थिए । अधिकांस वक्ताले पत्रकारिताको साख घटेको समयमा व्यवसायिक पत्रकारिता आवस्यक भएको बताएका थिए । पत्रकार ठेकेदार बन्न थालेको भन्दै चिन्ता व्यक्त भएको थियो भने जो पायो त्यसलाइ सदस्यता दिंदा बिबाद आउने समेत सहभागिले बताएका थिए ।





