बागलुङ/शुक्रबार बडिगाड गाउँपालिका–२ खरवाङस्थित त्रिभूवन माविका विद्यार्थीले धान रोपाइ गरे । उनीहरुले हिउँदमा लगाएको मकै र तोरी राम्रो फल्यो ।
शिक्षकले खेतबारीमै लगेर विद्यार्थीलाई अन्नबाली लगाउन सिकाउन थालेको चार वर्ष भइसक्यो । विद्यालयकै जमिनमा भने ३ वटा प्लाष्टिकका हाइटेक टनेल छन् । ती टनेलमा गोलभेडा, बोडी, खुर्सानी लगायत तरकारी खेती लगाइन्छ । अन्नबाली र तरकारी खेतीबाट बिद्यार्थीले कमाइ गरेका छन् । कमाइलाई एकडालो बनाएर आवस्यकता अनुसार खर्चने गरेको प्रधानाध्यापक ढालमणी भण्डारीले बताए । ‘गण्डकी प्रदेश सरकारले दिएको २ लाख बीउ पूँजिबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थी मिलेर उक्त खेती लगाएका हुन् ।
कापी कलम किन्ने, स्वास्थ्य तथा सरसफाइका सामाग्री किन्नका लागि यो कमाइले सहयोग पुगेको भण्डारीले बताए । ‘बालबालिकाले काम सिक्ने, बचत गर्ने र सदुपयोग गर्ने पद्दती सिकाइ हुने रहेछ’ उनले भने, ‘पढाएको भन्दा एक दिन टनेलमा पुगेर काम गर्दा धेरै स्मरण गर्न सक्छन् ।’ यो काममा यहाँका १ सय विद्यार्थीले पालो गरेर काम गर्छन् । कमाउँदै पढ्दै अभियानमा जोडिएको उनले बताए ।
गलकोट नगरपालिका–३ को गलकोट माविले पनि भाडामा लिएको जग्गामा तरकारी खेती गरेको छ । यहाँ त कृषि प्राविधिक शिक्षक नै भएकोले खेतीपाती लगाउने र कमाउने काम मात्र हैन बाली विज्ञानको जानकारी विद्यार्थीले पाउन थालेका छन् । गोलभेडाको पात घुम्रिने समस्यादेखि पानीको अभावमा कृषिबालीमा पर्ने असरबारे विद्यार्थीले पढ्न पाएको बताए । विज्ञानका शिक्षक गंगाराम सुवेदीले प्लाष्टिकको घरभित्र गरिने तरकारीदेखि बाहिरको अन्नबालीबारे धेरै कुरा सिकाउने गरेका छन् ।
कस्तो वातावरणमा कुन तरकारी र बाली लगाउन सकिन्छ भन्ने शिक्षकहरुले पढाउने भएकोले घरमा पनि विद्यार्थीले अभिभावकलाई सहयोग गर्न सकेको कक्षा १२ की छात्रा बिन्दु बस्नेतले बताइन् । कक्षा कोठामा मेहेनत गरेर पढ्ने पढाउनेभन्दा फकर शैलीमा विद्यार्थी खेतबारीमै पुगेर कृषि कर्ममा रमाउने गर्छन् । यो उनीहरुको नियमित कर्म हो । राम्रो उत्पादन गरेर कमाइ पनि गरेका छन् ।
वार्षिक ४० हजार तिर्ने गरी भाडामा लिएको झण्डै १० रोपनी जमिनमा ३ वटा प्लाष्टिकका हाइटेक र अन्य खाली जग्गामा पनि खेतीपाती गरिन्छ । हाइटेकमा गोलभेडा, काउली, बन्दागोबी, खुर्सानी, साग, मुला र छेवैमा तोरी, गहुँ, धान लगायतको उत्पादन गरिन्छ । विद्यालयले विज्ञान संकायअन्र्तगत कृषि विषयको पढाइ पनि संचालन गरेको प्रअ देबेन्द्र खत्रीले बताए । उक्त जग्गामा गहुँ, मकै, केराउ र धान र तेलहन बालीको उत्पादनले विद्यालयमा खाजा समेत खाइन्छ ।
त्यस बाहेक जैमिनी नगरपालिका ५ को सर्वोदय मावि, ताराखोला गाउँपालिका ३ को नेपाल–तारा माविमा पनि पढ्दै कमाउँदै कार्यक्रम संचालन भैरहेको हो । यो कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ दिएपछि बीउपूजिको रुपमा सदुपयोग गरेर विद्यालयले नियमित कमाईको माध्यम बनाइरहेको हो । जैमिनीले भने लीड विद्यालयमार्फत यो विद्यालयलाई नमूना बनााउने काम थालेको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए । हरेक बालबालिकालाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउन कृषिमा आर्कषित गरिएको शिक्षकहरुले जानकारी दिए ।





