बागलुङ/गोविन्द बा अर्थात् गोविन्दप्रसाद शर्मा कंडेलको निधन भएको शुक्रवार १३ दिन पुगेको छ । ९० बर्षिय कंडेलको हिड्दा हिंड्दै निधन भएको थियो । बिरामीले उनी थला परेनन् । बरु राजनीतिक कार्यक्रमको दौडधुपकै क्रममा उनको निधन भएको हो । उनको निधनले लोकतान्त्रिक आन्दोलनको निष्ठाको समेत अबसान भएको नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा त कंडेलको निधनमा शोक सभा गर्न बागलुङको काठेखोला गाउँपालिका ५ स्थित कंडेल निवासमै पुगेका छन् । देउवाले पनि लोकतन्त्रको सच्चा पहरेदारको निधन भएको भन्दै दुःख व्यक्त गरे । कंडेलको क्रियाशिलता र निष्ठाको अनुसरण गर्न कार्यकर्तालाई आग्रह गरे ।
वृद्द उमेरमा पनि कंडेल निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय थिए । असारको पहिलो साता उनकै अध्यक्षतामा बीपी चिन्तन प्रतिष्ठानको गण्डकी प्रदेश स्तरीय कार्यक्रम बागलुङमा सम्पन्न भयो । त्यतिबेला पनि कंडेलले राजनीतिमा निष्ठाको आवस्यकता बारे बोलेका थिए । साथै जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अत्याधिक महत्व दिनुपर्ने उनको धारणा थियो । बीपी कोइरालाले पनि स्वतन्त्रता र प्रजातन्त्रलाई प्राथमिकता दिएकोले बीपीको लाइनमा हिडेको उनले बताएका थिए ।
निरन्तर सक्रिय भएकै कारण धेरैले उनलाई चिन्ने नाउँ नै गोबिन्द बा थियो । उनले संसद बिघटन बिरुद्द त पटक पटक आबाज पनि उठाएका थिए । २०१७ सालको संसद बिघटन र प्रधानमन्त्रीलाई अपदस्त गरेको बिरोध गर्दा उनी पक्राउ परेका थिए । बागलुङको काठेखोला गाउँपालिका ५ बिहुँका गोबिन्दप्रसाद शर्मा कंडेल संसदको पक्षमा बोलेकै कारण ७ वर्ष जेल सजाय भोग्नपनि बाध्य भए ।
जेल बसेरपनि उनले संसद र प्रजातन्त्रको वकालत गरिरहे । पटक पटक देशमा भएका संसद बिघटनका घटनामा उनले बिरोध गर्न छाडेनन् । नेतृत्वलाई सोझै सल्लाह दिन पनि पछि हटेनन् । २०३२ सालमा बीपीलाई त्रिभूवन बिमानस्थलमा स्वागत गर्न जाँदा पनि उनलाई राज्यबाट धरपकड भएको थियो । तरपनि उनले आफ्नो अडान छाडेनन्, बरु नेतृत्वले उनको कुरा भने कहिले पनि सुनेन ।
खुला राजनीतिमा आएपछि पनि कंडेलले पटक पटक नेतृत्वलाई संसद बिघटनको निर्णयमा नपुग्न सल्लाह दिने गर्थे । राजनीतिमा धेरै बिकल्प हुन्छन्, संसद भंग गर्दा जनताको आबाज बन्द हुन्छ भन्ने मान्यता उनले राखेको पटक पटक धारणा राख्थे । उनले त्यो बिकल्पको बारेमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको संसद बिघटन बिरुद्द पनि आबाज उठाएका थिए ।
कंडेल २०४८ सालमा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद थिए । उनले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेरै मध्यावधिमा नजान सुझाव दिएका थिए । उनको सुझाव कोइरालाले मानेनन् । मध्यावधि देशकोलागि कहिलेपनि हितकारी भएको इतिहास छैन भनेर सम्झाउँदा गिरिजाप्रसादले नमान्दा भएको बहुमत गुमेको थियो भन्ने उनले अभिव्यक्ति पनि दिएका थिए । मध्यावधिले कांग्रेस त हा¥यो, देश पनि २० वर्षपछि धकेलियो भन्ने उनको अभिव्यक्ति सार्वजनिक भउको थियो ।
राजनीतिमा जे पनि संभव छ भन्दै धेरै बिकल्प बारे छलफल गर्नुपर्ने उनको सुझाव आउने गथ्र्यो । मध्यावधि निर्वाचन गर्नकालागि राष्ट्रमाथी महासंकट आउने बिकल्पमा मात्र गर्नुपर्ने उनको सुझाव रहन्थ्यो । २०१५ को निर्वाचनमा क्षेत्र नं. ८६ का भरतबम मल्ल र ८८ का मा गोबिन्दलाल श्रेष्ठलाई जिताउन कंडेलले धेरै मेहेनत गरेको कांग्रेस बागलुङका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ सम्झन्छन् । २०१७ सालमा संसद बिघटनको बिरोध गर्दा कंडेलले ७ बर्ष जेल सजाय पाएको समेत श्रेष्ठले बताए । उनी जीवनभर संसद बिघटनको बिरोधी हुन् ।
२०४८ को संसदमा पहिलो पटक बिकास निर्माणमा बजेट बढाउन माग गर्ने व्यक्ती पनि कंडेल हुन् । उनले पूर्वमा भन्दा पश्चिम क्षेत्रमा यातायात, शिक्षा र स्वास्थ्य कमोजेर भएकोले लगानी बढाउन माग गरेका थिए । नुन, तेल र चामल सस्तो मूल्यमा गाउँमा पु¥याउन माग गरेपछि तत्कालिन संयुक्त जनमोर्चाका नेता कृष्णबहादुर महराले कंडेलको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै संसदमा आबाज उठाएका थिए । गोबिन्द कडेल कांग्रेसका संस्थापक नेतापनि हुन् । उनको निधनमा कांग्रेस बाहेक विभिन्न संघसंस्थाले पनि श्रद्दाञ्जली सभा गरेका छन् । उनको निधनले कांग्रेसलाई अपुरणीय क्षति पुगेको बागलुङ कांग्रेसका पूर्व सभापति प्रकाश शर्मा पौडेलले बताए । ‘गोबिन्द बाको योगदानबाट कार्यकर्ताले राजनीति निस्वार्थ हुनुपर्छ भन्ने सिक्नुपर्छ’ पौडेलले भने, ‘घरभन्दा पार्टीको चिन्ता लिने नेता हामीले गुमायौं ।’





