बागलुङ/कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा अहिले निष्ठा हराएको बताएका छन् । उनले आफ्नो लागि भन्दा देश र जनताको लागि काम गर्ने नेता कार्यकर्ता पाउन मुस्किल भएको बताए ।
बागलुङका संस्थापक नेता गोविन्द प्रसाद शर्मा कंडेलको निधन भएको १३ औं दिनको श्रद्दाञ्जली सभामा आएका देउवाले कंडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कंडेलले राजनीतिमा लागेर कहिले पनि केही नमागेको उनले स्मरण गरे ।
काठखोला गाउँपालिका वडा नं. ५ करलिमस्थित कंडेलकै निवासमा पुगेर श्रद्दाञ्जली अर्पण गरेका देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्न आग्रह गरे । उनले लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने धारणा राखेका थिए । कांग्रेस बागलुङको आयोजनामा उक्त श्रद्दाञ्जली सभा आयोजना भएको थियो ।
कार्यक्रममा अर्का नेता कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशी लगायतले पनि कंडेलप्रति श्रद्दाञ्जली दिए । श्रद्दाञ्जली सभाका लागि कांग्रेसका नेता तथा कार्यकर्ता कंडेल निवास पुगेका थिए । कंडेल २०४८ सालमा बागलुङ क्षेत्र नं. १ बाट बिजयी सांसद समेत थिए ।
तत्कालिन संसद विघटन हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गल्ती गरेको भन्दै औल्याउने कंडेल थिए । बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउने बेलामा पनि कंडेल एयरपोर्टबाटै पक्राउ परेर ७ वर्ष जेल बसेका थिए । कंडेल पछिल्लो पटक बीपी चिन्तन प्रतिष्ठानको अध्यक्ष थिए । कंडेलकै अध्यक्षतामा असार २ गते बीपी चिन्तन प्रतिष्ठानमार्फत तीनतहको बजेट निर्माण प्रक्रियाका समस्याबारे छलफल कार्यक्रम सम्पन्न भएको थियो । असार १५गते कंडेलको निधन भएको हो । कांग्रेस सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





