बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

होमस्टेबाट घर चलाउँदै बन्दीपुरे आमाहरु

होमस्टेबाट घर चलाउँदै बन्दीपुरे आमाहरु

‘अहिले त पर्यटकहरु पनि होमस्टेमै बस्न खोज्नुहुन्छ । सानातिना कुराको हिसाब हुँदैन होमस्टेमा । सलाद, चिया, पानी लगायतका कुराहरुमा हिसाब हुँदैन् त्यसैले पनि रोजाइमा पर्ने गरेको पाउँछौं ।’


  • विजय नेपाली
  • असार २९ २०८२, आइतबार

पोखरा/बन्दीपुरकी लिला कायस्थ यतिबेला दुइ बुहारीसहित घरबास (होमस्टे) मा व्यस्त छिन् । किराना पसल सञ्चालन गर्दै आइरहेकी लीलाले पसल छाडेर होमस्टे सञ्चालन गरेको पनि १४ वर्ष बितिसक्यो । २०६८ साल अघि उनले किराना पसल चलाउँदै आइरहेकी लीलाको व्यापार ठीकठाक थियो तर, व्यापार घट्दै जाँदा त्यहाँको पुरानो बजार बन्द नै भयो । बन्दिपुरमा नयाँ बजार सञ्चालनमा आउन थालेपछि पर्यटकहरु होटलतिर बस्न थाले, त्यसले गर्दा पुरानो बजारहरु पूर्ण छायाँमा परे । २०६८ सालमा ति पुराना बजारलाई ब्युत्याउँन होमस्टेको अवधारणा अघि बढ्यो । पर्यटकको रोजाइमा परेको र परम्परागत घरहरूले सुसज्जित बन्दिपुरमा सञ्चालनमा आयो ‘बन्दिपुर सामुदायिक होमस्टे’ यो तनहुँकै पहिलो होमस्टे पनि हो । जहाँ अहिले हरेक घरका आमाहरु आत्मनिर्भर भएका छन् । लिला जस्तै शकुन्तला कार्की र पार्वती भण्डारी पनि निकै व्यस्त हुन्छन् । उनीहरुले अहिले छोराछोरी पढाउन र घरमा आवश्यक पर्ने रासनका लागि श्रीमानलाई कुरेर बस्नुपरेको छैन् ।

तनहुँ जिल्लाको सदरमुकाम हुँदा बन्दीपुरमा ब्यापार राम्रो थियो । २०२५ सालमा तनहुँको सदरमुकाम दमौली सारिएपछि बन्दीपुर छायाँमा पर्न गयो । विस्तारै पुनः व्यतिएको बन्दिपुर पर्यटकको आकर्षणको विन्दु बनिरहेको छ । त्यहि ठाउँमा नयाँ बजार सुरु हुँदा पुरानो बजार विस्थापित हुनबाट होमस्टेले जोगाएको छ । हरेक पटक संघर्षसँग लड्दै अघि बढेको होमस्टेमा २०७२ सालको विनाशकारी भूकम्प आउनुअघिसम्म निकै चल्ने गरेको थियो । भूकम्प, कोरोना पश्चात भने त्यहाँ पर्यटकको आगमन केहि फितलो हुँदै गइरहेको छ ।

‘०७२ सालको भुकम्पपछि निकै खस्किएको छ । त्यसपछि अलिअलि हुन लागेको थियो फेरी कोरोना महामारीले असर ग¥यो । त्यो भन्दा अघि राम्रै आगमन भएको थियो । अहिले ठिकै छ । पहिला हाम्रो मात्रै थियो तनहुँकै पहिलो होमस्टे हो, त्यतिबेला थामी नसक्नु थियो । पहिला त विहान जाने पर्यटकहरु छन् भने झोलाहरू एक ठाउँमा थुपारेर पछि आउनेलाई नास्ता खुवाएर घुम्न पठाइन्थ्यो । पहिलाको पर्यटक गएपछि सरसफाइ गरेर बल्ल राख्ने गरेका छौ । अहिले त त्यस्तो छ छैन तैपनि सिजन लागेपछि भने हुने गरेका छन्’ लिला भन्छिन्, ‘अहिले सिजनमा पर्यटकहरु आउनुहुन्छ पाहुनाहरु तर, पहिला जस्तो छैन् । व्यवसाय कम पनि भयो अर्को कुरा भनेको यहाँ अन्य साथीकोमा कम पाहुन अट्ने भएपछि सबै मेरैमा आउने जस्तो भएपछि भाडामा दिए । पहिलो किराना पसल थियो होमस्टे चलाएपछि दुवै चलाउन पनि झ्याउ भयो, किराना पसल राख्दा यहाँ खाना खुवाउने ठाउँपनि नहुने त्यही भएर किराना पसल छाडियो । अहिले घर खर्ची पनि मज्जाले चलेको छ बालबच्चालाई पढाउन पनि पुगेकै छ ।’

भदौदेखी मंसिरसम्म पाहुनाहरु अलि बढि आउने गरेको उनी सुनाउँछिन् । त्यतिबेला उनकैमा मात्रै २५–३० जना अटाउने गरेको थियो । तर, विस्तारै पाहुना आउने क्रम घट्दै जाँदा उनले कोठा नै भाडामा दिइन् । किराना भन्दा होमस्टे सञ्चालन गर्न ठीक भएको उनी सुनाउँछिन् । हरेक वर्षको भदौ, असोज, कार्तिक र मंसिरमा बढि पर्यटक आउने गरेका छन् । उनको घरमा मात्रै २५ जनासम्म अटाउँछन् । यस्तै पार्वती भण्डारीले होमस्टे सञ्चालनले परिवारको आयस्रोतमा वृद्धि भएको सुनाइन् । ‘परिवारमा नुन तेल र बच्चाहरु बढाउन भइराखेको छ, चलिराखेको छ । यसैले भइरहेको छ ।’ शकुन्तला कार्कीले पनि अहिले दुःख काट्न परेको छैन । होमस्टेले श्रीमानसँग आवश्यक खर्च माग्न मात्र होइन अहिले समाजमा चल्न समेत उनीहरुलाई सहज बनाएको छ ।

‘आम्दानीबाट पनि धेरै राम्रो भइराखेको छ किनभने यसबाट हामीले विद्यालयको खर्च पनि उठाएका छौं । लत्ता कपडा किन्नका लागि पनि श्रीमानसँग माग्न परेको छैन् । होमस्टेबाट आम्दानी हुँदा हामी एकदम खुसी छौं । हामीलाई दुःख मन छैन् । पर्यटकहरु पनि आइराख्नु हुन्छ । भित्रबाट खुसी छौं ।’ उनीहरु सबैले समुदायका लागि हरेक ग्राहकबाट १५ रुपैयाँको दरले छुट्याउने गरिन्छ । त्यो बाहेक साँझ सांस्कृतिक कार्यक्रम भयो भने त्यहाँबाट पनि रकम संकलन गरिन्छ ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दिपुर सामुदायिक होमस्टेले त्यहाँको आम्दानीमा ठूलो भूमिका खेलेको बताए । उनका अनुसार नयाँ बजार सुरु भएपछि पुरानो बजारहरुमा पर्यटक नपुग्ने र भएका जति होटलमा बस्दा महिलाहरु घरमै बस्न बाध्य भएका थिए तर, होटस्टे सञ्चालनले महिलाहरुलाई आत्मनिर्भरका साथै स्वावलम्बी बनाएको छ ।

‘यहाँका महिलाहरु स्वावलम्बी भएका छन् । महिलाहरुले होमस्टे सञ्चालनमात्र होइन सुधार गरेर निकै राम्रो बनाएका छन् । मलाइ निकै खुसी लाग्छ । पर्यटक प्रसस्त आउने र होटलमा मात्र बस्ने गर्दथे तर, होमस्टेले महिलालाई व्यवसायिक रुपमा बढाएको छ र उहाँहरु पनि अघि बढ्नुभएको छ । अहिले त पर्यटकहरु पनि होमस्टेमै बस्न खोज्नुहुन्छ । सानातिना कुराको हिसाब हुँदैन होमस्टेमा । सलाद, चिया, पानी लगायतका कुराहरुमा हिसाब हुँदैन् त्यसैले पनि रोजाइमा पर्ने गरेको पाउँछौं ।’ उनले भने ।

बन्दिपुर गाउँपालिकाभित्र मात्रै १२ वटा होमस्टे रहेका छन् भने मुख्य बजारभित्र मात्रै ४ वटा छन् । मुख्य बजारभित्र बन्दिपुर सामुदायिक, मोहरिया, विन्ध्यवासिनी र तीनधारा सामुदायिक होमस्टे रहेका छन् । सबै होमस्टे महिलाले नै सञ्चालन गरिरहेको अध्यक्ष सुरेन्द्र बताउछन् । होमस्टेका लागि पालिकाले समेत विभिन्न किसिमले सहयोग गर्दै आइरहेको छ । विभिन्न समयमा विभिन्न तालिम दिदै त्यहाँको प्रचार प्रसार गरिदिने, अन्तरक्रिया लगायतको आयोजना गर्ने काम गरिरहेको छ त्यो बाहेक पालिका भित्रका केही होमस्टेलाई नमूना होमस्टे बनाउने गरि पालिका अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->