बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बढ्दो सामाजिक अपराध : एक समीक्षा

बढ्दो सामाजिक अपराध : एक समीक्षा

जब समाजमा अपराधी प्रवृत्तिहरू हाबी हुन थाल्छन्, त्यसले समाजको शान्ति, स्थिरता, सुरक्षा र विकासलाई गम्भीर चुनौती दिन्छ ।


  • प्रा. डा. ऋषिकेश नारायण श्रेष्ठ
  • भाद्र १० २०८३, बुधबार

समाज भनेको असल र खराब दुवै प्रवृत्तिका मानिसहरूको साझा संरचना हो । जब समाजमा अपराधी प्रवृत्तिहरू हाबी हुन थाल्छन्, त्यसले समाजको शान्ति, स्थिरता, सुरक्षा र विकासलाई गम्भीर चुनौती दिन्छ ।

संसारको कुनै पनि समाज पूर्ण रूपमा अपराधमुक्त छैन । फरक यति हो कि विभिन्न देश र समाजमा अपराधका स्वरूप र प्रकृति फरक-फरक छन् । उदाहरणका लागि, अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा र सामूहिक गोलीकाण्ड गम्भीर चुनौतीका रूपमा देखिन्छन् ।

भारतमा बलात्कार तथा महिला हिंसाका घटना गम्भीर सामाजिक चिन्ताको विषय बनेका छन् । मेक्सिकोमा लागुऔषध कारोबारसँग जोडिएको संगठित तथा हिंसात्मक अपराध चुनौती बनेको छ । हाइटीमा सशस्त्र गिरोहको हिंसाले राज्य र नागरिक जीवनलाई नै गम्भीर संकटमा पारेको छ । त्यस्तै, दक्षिण अफ्रिकामा हत्या, डकैती, यौन अपराध तथा अन्य हिंसात्मक अपराध लामो समयदेखि सामाजिक चुनौतीका रूपमा रहेका छन् ।

यी उदाहरणहरूलाई हेर्दा एउटा प्रश्न उठ्छ-शान्ति र सुरक्षा कहाँ छ ? वास्तवमा शान्ति बाहिरबाट कसैले आएर कायम गरिदिने विषय होइन । राज्यले कानुन, सुरक्षा र न्यायको व्यवस्था गर्नुपर्छ; तर समाजमा शान्ति कायम गर्ने पहिलो जिम्मेवारी प्रत्येक नागरिकको हो ।

देश र समाजमा शान्ति र सुरक्षा ,सरकार वा सुरक्षा निकायले मात्र  कायम गर्ने  विषय होइन; व्यक्ति–व्यक्ति मिलेर निर्माण गर्ने सामाजिक संस्कार, समाजमा शान्ति कायम गर्ने एउटा महत्त्वपूर्ण आयाम हो ।  मानव जातिको मूल उद्देश्य केवल आर्थिक समृद्धि वा भौतिक विकास मात्र नभई , शान्त, सुरक्षित, न्यायपूर्ण र मानवीय समाज निर्माण गर्नु पनि हुनुपर्छ । अपराध नियन्त्रणको जिम्मेवारी राज्यको हो, तर अपराधरहित र शान्त समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो ।

संसारमा कतिपय देशमा अपराध सामान्य सामाजिक समस्याको सीमा नाघेर  राष्ट्रिय संकट बनेका छन् । यसबाट एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ-अपराध हुँदैमा समाज नै खराब हुँदैन र केही व्यक्ति अपराधी हुँदैमा सम्पूर्ण समाज अपराधी हुँदैन । प्रश्न यो हो कि समाज र राज्यले अपराधलाई कसरी नियन्त्रण गर्छन्, अपराधीलाई कानुनको दायरामा कसरी ल्याउँछन् र नयाँ अपराधी उत्पादन हुन नदिन सामाजिक वातावरण कसरी निर्माण गर्छन् ।

तर पनि समाजले शान्ति, आफ्नो अस्तित्व र सभ्यता कायम राख्न निश्चित नियम, मूल्य, मान्यता र कानुन बनाएको हुन्छ । ती नियम विपरीत गम्भीर अपराध गर्ने व्यक्तिमाथि अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढाइन्छ र अन्ततः अदालतको निर्णयबाट दोषी ठहरिएपछि कानुनअनुसार सजाय दिइन्छ ।

जेल तथा सुधारगृहको व्यवस्था पनि यही न्यायिक प्रणालीको एउटा महत्त्वपूर्ण अंग हो । यसको उद्देश्य अपराधीलाई सजाय दिनु मात्र होइन; समाजलाई सुरक्षित राख्नु, कानुनको शासन कायम गर्नु र सम्भव भएसम्म अपराधीलाई सुधार गरी पुनः समाजमा जिम्मेवार नागरिकका रूपमा फर्काउने वातावरण तयार गर्नु पनि हो ।

अपराधमुक्त समाज सम्भव नहोला, तर अपराध नियन्त्रण गर्न सक्ने, अपराधीलाई कानुनी दायरामा ल्याउन सक्ने र अपराधको सामाजिक आधार कमजोर बनाउन सक्ने सभ्य समाज अवश्य निर्माण गर्न सकिन्छ ।

त्यसैले प्रत्येक समाजको लक्ष्य “अपराध कहिल्यै नहुने समाज” को कल्पना मात्र गर्नु होइन; अपराध हुँदा पीडितले न्याय पाउने, अपराधीले कानुनअनुसार सजाय पाउने र समाजले भविष्यमा त्यस्तो अपराध दोहोरिन नदिने वातावरण निर्माण गर्नु हो । यही नै कानुनी शासन, सामाजिक जिम्मेवारी र सभ्य समाजको वास्तविक पहिचान हो ।

विश्वमा भइरहेका सामाजिक अपराधबाट हाम्रो देश पनि अछुतो रहन सकेको छैन । तर सामाजिक अपराधका घटनाहरूलाई जुन किसिमले केही अभियन्ताहरूले उचालिरहेका छन्, त्यसरी हेर्दा हालको नयाँ सरकार आउनुभन्दा पहिले यस्ता अपराधका घटना कहिल्यै नघटेको जस्तो गरी प्रस्तुत गरिरहेका देखिन्छ । अवश्य पनि, देशमा केही सामाजिक अपराधका घटनाहरू बढेका छन् । ती बढ्नुका धेरै कारणमध्ये दुईवटा परिदृश्यलाई यहाँ चर्चा गर्न गइरहेको छु ।

दृश्य एक

हाम्रो देश नेपालमा पछिल्ला दिनहरूमा सामाजिक अपराधका घटनाहरू बढ्दै गएको देखिन्छ । बलात्कारपछि हत्यादेखि सामान्य विवादमा समेत ज्यान लिने घटना तथा मानवीय संवेदनशीलता र सहिष्णुता घट्दै जानु गम्भीर चिन्ताको विषय हो ।

यस्ता घटना भएपछि सामाजिक अभियन्ताहरू सडकमा उत्रिनु, आवाज उठाउनु र पीडितका पक्षमा बोल्नु स्वाभाविक र आवश्यक पनि हो । तर एउटा प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ—घटना घटिसकेपछि सडकमा प्रदर्शन गरेर मात्र सामाजिक अपराध घटाउन सकिन्छ त ?

कतिपय अवस्थामा विरोध प्रदर्शन पीडितलाई न्याय दिलाउनेभन्दा पनि आफूलाई सामाजिक अभियन्ताका रूपमा प्रस्तुत गर्ने, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चित हुने माध्यममा सीमित भएको देखिन्छ । यदि हाम्रो उद्देश्य वास्तवमै अपराध न्यूनीकरण र सभ्य समाज निर्माण हो भने, घटना घटिसकेपछि विरोध गर्नु मात्र पर्याप्त हुँदैन; घटना हुन नदिन सामाजिक वातावरण निर्माण गर्नु अझ महत्त्वपूर्ण हुन्छ ।

आज सामाजिक सञ्जाल हाम्रो समाजको अभिन्न हिस्सा बनेको छ । अर्कोतिर, सामाजिक सञ्जालको अनियन्त्रित र गैरजिम्मेवार प्रयोग पनि मुख्य समस्या बनेको छ । सामाजिक सञ्जाल समाजलाई जोड्ने माध्यम हुनुपर्नेमा समाजलाई भड्काउने, नागरिकलाई दुविधामा पार्ने र व्यक्तिगत वा समूहगत स्वार्थका लागि मानिसको भावनासँग खेल्ने थलो बनेको छ ।

भ्रामक तथ्य फैलाउने, कानुनी प्रक्रियालाई प्रभाव पार्ने गरी अफवाह फैलाउने र सस्तो लोकप्रियताका लागि मानिसहरूलाई उत्तेजित बनाउने कार्यले समाजमा अराजकता बढाएको छ । जबसम्म सामाजिक सञ्जालमा हुने यस्ता भ्रामक र उत्तेजक स्टन्टबाजीलाई नियन्त्रण र निरुत्साहित गरिँदैन, तबसम्म अपराधको मानसिक जग भत्किन सक्दैन ।

त्यसैले सामाजिक अभियन्ता हुनु भनेको केवल विरोध गर्नु होइन; समाजलाई सही दिशा दिनु पनि हो । युवालाई हिंसा होइन, संवाद सिकाउनु; विवादलाई कुटपिट होइन, कानुनी प्रक्रियाबाट समाधान गर्न प्रेरित गर्नु; महिलामाथि हुने हिंसाविरुद्ध निरन्तर जनचेतना फैलाउनु र सामाजिक सञ्जाललाई जिम्मेवार तथा मर्यादित बनाउन अभियान चलाउनु पनि सामाजिक अभियानकै हिस्सा हो ।

हामीले अब एउटा गम्भीर प्रश्न आफैंलाई सोध्नुपर्छ—हामी अपराधविरुद्ध लडिरहेका छौँ कि अपराध भएपछि त्यसलाई प्रदर्शनको विषय बनाइरहेका छौँ?

अपराध भएपछि विरोध गर्ने समाजभन्दा अपराध हुन नदिने संस्कार निर्माण गर्ने समाज आजको आवश्यकता हो । सभ्य समाज केवल कानुनले बन्दैन; जिम्मेवार नागरिक, संवेदनशील समाज र सही सामाजिक संस्कारले बन्छ ।

दृश्य दुई

अपराधको पराकाष्ठा देख्दा समाजबाट “अपराधीलाई फाँसी दे” भन्ने आक्रोशपूर्ण आवाज उठ्नु मानवीय र स्वाभाविक प्रतिक्रिया हो । तर के फाँसी वा कडा सजाय मात्रै अपराध रोक्ने अचुक औषधि हो?

गम्भीर अपराधमा कानुनअनुसार कडा सजाय आवश्यक हुन सक्छ, तर अपराधको समाधान केवल सजायको कठोरतामा मात्र खोज्नु पर्याप्त हुँदैन । यसको पछाडि रहेको राज्यको फितलो प्रणालीलाई गम्भीरताका साथ मन्थन गर्नुपर्ने बेला आएको छ ।

अपराध एक्लै जन्मिँदैन; यसलाई मौलाउन विभिन्न कारणले भूमिका खेलेका हुन्छन् ।पहिलो, भ्रष्टाचार र कमजोर कानुन कार्यान्वयन: जब देशमा भ्रष्टाचार संस्थागत हुन्छ, तब न्याय बिक्री हुन थाल्छ । “ठूलालाई चयन, सानालाई ऐन” भन्ने परिस्थिति बन्दा अपराधीहरूमा कानुनको डर हराउँदै जान्छ । पहुँचवालाहरू अपराध गरेर पनि सजिलै छुट्ने परिपाटीले समाजमा दण्डहीनता बढाउँछ, जसले अरूलाई पनि अपराध गर्न हौसला दिन्छ ।

दोस्रो, बेरोजगारी र आर्थिक निराशा: युवाहरूमा रोजगारी र भविष्यको ग्यारेन्टी नहुँदा सिर्जना हुने निराशाले धेरैलाई गलत बाटोमा धकेल्न सक्छ । बेरोजगारीले मानसिक तनाव, लागूपदार्थको कुसङ्गत र ग्याङ/संगठित अपराधतिर आकर्षित गराउन सक्छ । आर्थिक अभावकै कारण ससाना विवादमा हिंसा र लुटपाटजस्ता घटनाहरू पनि घट्ने गर्छन् ।

तेस्रो, नेताहरूको राज्य सञ्चालन र राजनीतिक संरक्षण

नेताहरूले राज्य सञ्चालनलाई चुस्त बनाउनुको साटो आफ्ना कार्यकर्ता र आपराधिक चरित्रका मानिसहरूलाई राजनीतिक संरक्षण दिने गर्दा समाज असुरक्षित बनेको छ । राजनीतिक आडमा हुने अपराधले समाजमा मानवीय संवेदनशीलतालाई नै कमजोर बनाएको छ ।चौथो, सामाजिक असमानता:

धनी-गरिबबीचको अन्तरले असन्तोष जन्माउँछ, जुन कहिलेकाहीँ अपराधमा परिणत हुन सक्छ ।

अन्तमा अपराधीलाई सजाय दिनु राज्यको कर्तव्य हो । फाँसीको मागले तत्कालको आक्रोश व्यक्त गर्न सक्छ; तर यसले मात्र दीर्घकालीन समाधान दिँदैन । जबसम्म अपराध जन्माउने कारणहरू नियन्त्रण गरिँदैनन् र राज्य प्रणालीमा सुधार हुँदैन, तबसम्म अपराधको जग भत्किँदैन ।

अपराधीलाई रुखका पात छाँटेझैँ सजाय दिएर मात्र पुग्दैन; अपराध जन्माउने ‘जरा’ अर्थात् राजनीतिक र सामाजिक खराबीलाई उखेल्नु नै दिगो समाधान हो । अपराधी मात्र बदल्ने होइन, अपराध जन्माउने वातावरण पनि बदल्नुपर्छ । यही दृष्टिकोणबाट मात्र सुरक्षित, न्यायपूर्ण र सभ्य समाज निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->