काठमाडौं / नेकपा एमालेले युवा पुस्तालाई पार्टीमा जोड्न ‘दुई पुस्ता सँगसँगै’ अभियान चलाउने भएको छ । केन्द्रीय संगठन विभागको बैठकले युवा पुस्तालाई पनि पार्टी निर्माणमा जोड्न यस्तो निर्णय गरेको हो ।
‘पार्टी निर्माण अभियानमा हिँड्दा युवा पुस्तालाई पनि सँगसँगै लैजाने हाम्रो योजना हो, त्यसैलाई हामीले दुई पुस्ता सँगसँगै भनेका छौ,’ संगठन विभागका सचिव माधव ढुंगेलले भने ।
उनका अनुसार यो अभियानमा देशभरका सबै टोल (करिब १७ हजार) मा पार्टी कमिटी निर्माण हुनेछ भने जनसंगठनहरुलाई पनि ग्रासरुटसम्म विस्तार गरिनेछ । बैठकले सबै जिल्ला पार्टीले संगठनात्मक प्रोफाइल तयार पार्ने निर्णय पनि गरेको छ ।
बैठकले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष पनि निकालेको छ । आज विज्ञप्ति जारी गर्दै गत वर्षको माघदेखि चैतसम्म सञ्चालन भएको वडा केन्द्रीत पाटी निर्माण अभियान ‘जरा अभियान’का कारण पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश पार्टी कमिटीका अधिवेशन भएको, पार्टी सदस्यता नविकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।
‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको, समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरु भएका र उनीहरु क्रमशस् आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ,’ संगठन विभागका सचिव ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महशुस भएको छ ।’
एमालेले राजवादीको प्रतिगामी गतिविधिका कारण जरा अभियानमा निर्धारित काम हुन नसकेपनि त्यसबेलाका कार्यभारलाई निरन्तरता दिन सबै कमिटीहरुलाई निर्देशन पनि दिएको छ ।






