आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यातायात सहज

जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यातायात सहज

बलेवादेखि टाकुरीहुँदै कुश्मीसेरा जाने, पल्लोपाखा सामुदायिक विद्यालय जाने र टार जानेहरुलाई भने यो पुल बहुउपयोगी बनेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार

बागलुङ/गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्द भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुंगा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुंगामुढा ल्याएर थुपारेपछि यातायात चल्न सकेन ।

झरी पर्नासाथ जैमिनी नगरपालिका वडा नं. १ को जुम्लीखोलामा यस्तै सास्ती भैरहन्थ्यो । सवारी चल्न नसकेर यात्रीले हैरानी खेप्थे । सामान ढुवानी गर्नेले झनै बढी समस्या भोगेका थिए । यो वर्ष भने वर्षात लाग्दा नलाग्दै जुम्लीखोला पुल बनेको छ । यो पुलबाट सवारी साधन पनि गुड्न थालिसकेका छन् ।

अब भने जैमिनीका लागि यो सास्ती नहुने भएको छ । त्यसो त कुश्मीसेरा जोड्ने जैमिनी धामदेखि पनि सडक बनिसकेको छ । कालीगण्डकी करिडोर जोड्ने सडकले धेरै सवारी करिडोर भएर गुड्न थालिसकेका छन् । तर बलेवादेखि टाकुरीहुँदै कुश्मीसेरा जाने, पल्लोपाखा सामुदायिक विद्यालय जाने र टार जानेहरुलाई भने यो पुल बहुउपयोगी बनेको छ ।

सडक बनेको दुइ दशक बढी भैसकेपनि यो सडक स्तरीय बन्न ढीला भएको थियो । अघिल्लो वर्ष सडक कालोपत्र भएपनि यहाँ पुल नभएर यात्रीले हैरानी खेपेका थिए । अब भने यो सडकले सहज यात्रा बनाएको वडा नं. १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।

२०६५ सालदेखि यो सडकमा नियमित सवारी चल्न थालेपनि जुम्लीखोलामा धेरैले समस्या भोग्थे । पैदलयात्रीलाई पनि पुल नभएकोले पल्लोपाखा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले समेत सास्ती खेप्ने गरेकोमा अब भने सहज भएको शिक्षक तथा विद्यार्थीले बताएका छन् ।

पूर्वाधार विकास कार्यालयको लगानीमा बिएम जयकालीका भगवती संयुक्त निर्माण कम्पनीले १ करोड ९४ लाख ५१ हजार रुपैयाँमा यो पुल बनाएको हो । गत पुसमा काम थालेर छोटो समयमा काम पुरा गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जुम्लीखोलामा झण्डै १६ मीटर लामो पुल बनेको हो । यहीं वर्ष जैमिनी नगरपालिकाको कुश्मीसेरादेखि राङखानी जोड्ने रुम्टाखोलाको पनि पुल बनेको छ । यो पुल पनि छिट्टै संचालनमा आउने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->