बागलुङ/अमर आदर्श माध्यामिक विद्यालय बागलुङले विद्यार्थी र अभिभावकबीच अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको कार्यक्रममा विद्यालयको हाल सम्मको एसईई नतिजा, उच्च शिक्षामा विद्यालयका बिद्यार्थीहरुको सफलता बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शिक्षा क्षेत्रको विकासमा अमर आदर्शले महत्वपुर्ण भूमिका खेलेको बताए । साथै निजी क्षेत्रका विद्यालयहरु पनि स्थानीय सरकारको शैक्षिक साझेदार भएको भन्दै राज्यको खर्च जोगाउन निजी विद्यालयले साथ दिएको धारणा व्यक्त गरे ।
उच्च शिक्षा पढेपछि रोजगारीबाट सफल बन्नका लागि विद्यार्थी र अभिभावकले सही र गुणस्तरीय शिक्षा पाउनुपर्ने समेत उनको भनाइ थियो । गत एसईईमा उक्त विद्यालयले शतप्रतिशत विद्यार्थीलाई राम्रो अंकले उत्तिर्ण गराएको स्मरण गर्दै पोखरेलले उच्च शिक्षामा पनि अब्बल बन्ने बताए ।
अमर आदर्शले विज्ञान र व्यवस्थापन संकायमा कक्षा १२ सम्मको पढाई गर्दै आएको प्रधानाध्यापक हेमन्त थापाले बताए । उनले चिकित्सा, इन्जिनियरिङ, प्रशासन लगायतको क्षेत्रमा पनि आफ्ना विद्यार्थी अब्बल भएर निस्केको दाबी गरे । विद्यालयले खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि अब्बल भूमिका खेलेको थापाको भनाई थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेलले पनि विद्यालयको सफलता र उच्च शिक्षामा अमर आदर्शको भूमिका समेत अग्रणी रहेको भन्दै कार्यक्रमको शुभकामना दिए । विद्यालयका अध्यक्ष बिजयराज पन्तको अध्यक्षता र शिक्षक कमलराज पन्तको संचालनमा भएको कार्यक्रममा विद्यालयका कार्यक्रमबारे प्रस्तुती र साँंस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।





