
पोखरा/आइतबार कास्की कारागारमा कैदीबन्दीले नाराबाजीसहित टायर जलाएर प्रदर्शन गरे । कास्की कारागारको ए ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठुलो संख्यामा प्रहरी तैनाथ गर्नुपरेको थियो ।
यसको विवादको जड चाहिँ कारागार व्यवस्थापन विभागले हालै गरेको चौकीदार नियुक्तिको विषय हो । कास्की कारागारले विभागलाई चौकीदारको लागि अजय गुुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम पठाएको थियो । विभागले चाहिँ अजयको नाम चौकीदारमा सिफारिस ग¥यो । अजयभन्दा अगाडि प्रकाश चौकीदार भइसकेका थिए । अहिले भने उनको ठाउँमा अजयलाई सिफारिस गरेपछि प्रकाशका समर्थकहरुले नाराबाजी र टायर बालेर प्रदर्शन गरेका हुन ।
अजय र प्रकाश दुवै ज्यान मुद्दामा ८ वर्षदेखि कैद सजाय भोगिरहेका व्यक्ति हुन् । सिफारिस भएका थापा चाहिँ लागुऔषध मुद्धाका हुन । कारागारभित्र प्रकाशका समर्थक धेरै भएको तर अजयको नाम सिफारिस भएपछि आन्दोलन भएको हो । यो ब्लकमा अहिले अजय र प्रकाशका स्पष्ट दुई समूह देखिएका छन् ।
‘क’ ब्लकका प्रदर्शनकारी कैदीबन्दीले दुई कार्यकालअघिका चौकीदार प्रकाश गुरुङलाई नै फिर्ता ल्याउनुपर्ने माग राखेका छन् । उनीहरुले ‘यस्तो नेतृत्व चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए । कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले प्रकाश पक्षधर कैदीबन्दीहरु नाराबाजीमा उत्रिएको जानकारी दिए ।
‘चौकीदार नियुक्तिसम्बन्धि विषयमा कारागार व्यवस्थापन विभागबाट अजय गुरुङको नाममा सिफारिस आएको थियो । त्यही विषयमा पूर्व चौकीदार (दुई कार्यकाल अगाडिका) चाहिन्छ हामीलाई । अजय गुरुङको नेतृत्व स्वीकारेका छैनन् भनेर प्रकाश गुरुङका मान्छेहरुले नाराबाजी गरेका हुन्,’ उनले भने । प्रकाश गुरुङका समर्थकले नाराबाजी गरिरहँदा अजयका समर्थक भने भित्रै थिए । विभागले गरेको निर्णय परिवर्तन नहुने उनले जानकारी दिए । कास्की कारागारमा भएको घटनाबारे विभागलाई जानकारी गराइएको कुँवरले जानकारी दिए ।





