आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विकास गर्दा संरक्षणको पाटो ओझेलमा

विकास गर्दा संरक्षणको पाटो ओझेलमा

सडक लगायतका विकास निर्माण गर्दा माटो संरक्षण, भलबाढी तर्काउने काम नगरेकै कारण बिपत्ति निम्तेको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८२, बुधबार

बागलुङ/वर्षातले बाढी पहिरोका घटना भैरहेका छन् । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा व्यवसथापन नगरेकै कारण कैयौं पहिरोका घटना भएको पुष्टी भएको छ । सडक लगायतका विकास निर्माण गर्दा माटो संरक्षण, भलबाढी तर्काउने काम नगरेकै कारण बिपत्ति निम्तेको हो । विकास गर्दा संरक्षणको पाटो ओझेलमा पर्दा बाढी पहिरोले धनजनको क्षति भएको भूसंरक्षण अधिकृत शम्भुप्रसाद मिश्रले बताए ।

‘एकातर्फ जलवायु परिवर्तनले नसोचेको स्थानमा बाढी पहिरो आइरहेको छ, हामीले विकास गर्दा व्यवस्थापन गर्न नसक्दा बिपत्ति बढेको छ’ मिश्रले भने, ‘हरेक विकासको बजेटमा अब १० प्रतिशत संरक्षणतर्फ लगानी गर्ने नीति चाहिएको छ ।’ उक्त बजेटले सडक, सिंचाइ वा अन्य पूर्वाधार विकासको क्षेत्रमा बायो इन्जिनियरिङ लगायतको संरक्षणको काम गर्नुपर्ने मिश्रको सुझाव छ ।

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले पनि यस्तै योजना बनाएको छ । उपभोक्तामार्फत गरिने धेरै काममा वातावरण संरक्षणमा ध्यान नदिंदा बाढी पहिरोको प्रकोप बढेको जनप्रतिनिधिले बताए । गण्डकी सभाका सदस्य तथा पूर्व उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री दिपेन्द्रहादुर थापाले योजना निर्माणको बेला संरक्षणको डिजाइन नगरे वर्षेनी धेरै जोखिम बढ्ने बताए । उनले जलवायु परिवर्तनको असर न्युनिकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहमा पनि यो समस्या भोग्नेहरु धेरै छन् । गत साता जैमिनी नगरपालिका वडा नं. ९ को सराते खोलामा आएको बाढीले एक सय रोपनीभन्दा बढी जमिन बगाएको छ । उक्त घटनामा सयौं मुरी फल्ने धान नष्ट भएको छ । पशुपंक्षी र चौपाया बगेका छन् । दर्जन घर जोखिममा परेपछि सुरक्षित स्थानमा सरेका छन् ।

उक्त पहिरो निम्तनुमा ग्रामीण सडक खन्दा संरक्षणको पाटो नहेरिएको प्रष्टै देखिएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बताए । ‘बजेट विनियोजन गरेपनि सशर्त रुपमा संरक्षणमा लगाउ भन्न सकिएन, काम गरेर छाडेपछि त्यही विकास विनासको कारण भयो’ पुनले भने, ‘संरक्षणका लागि अब तत्काल बोटबिरुवा रोप्ने कामलाई प्राथमिकता दिनेछौं ।’ संभावित जोखिमको क्षेत्रमा पनि तटबन्धन गर्ने, बिरुवा रोप्ने र हरियाली बढाउने लक्ष्य उनले सुनाए ।

पुनले आगामी वर्ष नर्सरी बनाएर पहिरो नियन्त्रण गर्ने स्थानमा बिरुवा रोप्ने, पोखरी, चौपारी र मुल संरक्षण गर्ने तथा भलबाढी व्यवस्थापनको क्षेत्रमा काम गर्ने योजना बनाएको बताए । त्यसका लागि जलाधार कार्यालयले सहकार्य गर्नुपर्ने समेत धारणा राखेका थिए । मिश्रले बाँसजन्य वस्तुको रोपण गरेर पहिरोग्रस्त क्षेत्रलाई संरक्षण गर्ने, पानीका मुहानलाई प्राकृतिक रुपमा बग्न दिने, सडक बनाउँदा १० प्रतिशत बजेट राखेर संरक्षणको काम शुरुवातमै थाल्ने गरेमा बिपत र जोखिम रोकिने बताए । गत आर्थिक बर्ष २०८१÷०८२ मा कार्यालयले भूसंरक्षणका लागि ५० वटा योजना संचालन गरेकोमा चालु वर्ष ३२ योजना सूचिकृत भएको मिश्रले जानकारी दिए ।

जिल्लाभर ८ सय ७२ घर बाढी पहिरोको जोखिममा रहेको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार निसीखोलामा ४ सय ३८ घर जोखिममा रहेको जनाइएको हो । बागलुङ नगरपालिकामा ५ सय ५४, ढोरपाटन नगरपालिकामा ३ सय ९०, गलकोट नगरपालिकामा १ सय २५ तथा बरेङ गाउँपालिकामा २ सय १० घर जोखिममा छन् । ताराखोलामा १ सय ४४, बडिगाड गाउँपालिकामा १ सय ६० र काठेखोला गाउँपालिकामा ७ सय २० घर जोखिममा रहेका छन् । घर, विद्यालय र अन्य जमिन पनि जोखिममा रहेको समितिको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->