काठमाडौं/नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सधैं गर्वका साथ भन्ने गर्ने शब्द हो– ‘पहिलो महिला बनाउने काम सबै मैले गरेँ !’ उनको संकेत पहिलो महिला राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीप्रति लक्षित थियो । पार्टी अध्यक्षको रुपमा विद्यालाई राष्ट्रपति बनाउन ओलीको हात छ नै ! तर, मंगलबार मध्यराति पार्टीको नवौं केन्द्रीय कमिटी बैठक समापनको क्रममा दिएको झण्डै डेढ घन्टा लामो भाषणबाट भने यी तर्क फगत र शक्ति आर्जनका निम्ति चालिएका कदम र झुठका खेती रहेछन् भन्ने उनी स्वयंले पुष्टि गरिदिएका छन् ।
नवौं केन्द्रीय कमिटीको समापन भाषणमा ओली मूलतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णयमा बढी केन्द्रीत भए भने अविछिन्न सत्ता र पार्टी नेतृत्वमा बस्ने आफ्नो चाहनालाई ‘समाजवादमा जाने बाटो’को लेपन लगाए । उनको भनाइ सुन्दा लाग्थ्यो– समाजवादको पहिलो चिन्तक नै ओली हुन् र त्यो यात्राको सारथी उनीबाहेक अरु हुनै सक्दैन !
केन्द्रीय कमिटीका सदस्यहरूले ३÷३ मिनेटमा आ–आफ्नो धारणा राखिसकेका थिए । निर्णयको ड्राफ्ट गर्न प्रदीप ज्ञवालीहरु खटिइसकेका थिए । बैठकभर ‘धैर्यपूर्ण’ देखिएका ओलीले बैठकको बिट मार्ने क्रममा चाहिँ पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउँदाका सम्भावित ७ दुष्परिणामबारे तर्क प्रस्तुत गरे । ती तर्क गरिरहँदा यसअघि आफ्नै स्वीकृति तथा एमाले नेताको रुपमा मित्रराष्ट्र चीन भ्रमण गरेको कुरा चाहिँ उनले उप्काएनन् ।
विचारलाई थुन्न हुन्न र पार्टी बहुपदीय हुनुुपर्छ भन्ने ओली नै हुन् । भला, १० औं महाधिवेशनपछि उनले आफ्नो पुरानो कुरा बिर्सेका नै हुन् । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा तर्क–वितर्क हुनु अस्वभाविक पनि हैन । पूर्वराष्ट्रपतिले आफ्नालागि कहाँनेर ‘लक्ष्मण रेखा’ कोर्ने भन्ने विषयमा पनि बहस छेड्न सकिन्छ । तर, त्यो बहसकै सेरोफेरोमा जनताको बहुदलयीय जनवाद’का प्रणेता मदन भण्डारीको विरासत बोकेकी पूर्वराष्ट्रपति भण्डारीको मानमर्दन गरेको चाहिँ सुहाउँदैन । कम्तिमा पनि महिलालाई देशको पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्य सचिव अनि नेपाल पत्रकार महासंघमा समेत पहिलो महिला अध्यक्ष बनाएको जस लिन खोज्ने ओलीको मुखबाट त्यस्तो अभिव्यक्ति सुहाउँदैन । उनीमाथि नैतिकताको प्रश्न सोझिन्छ । किनकि, यी विषयहरु यसअघि अध्यक्ष ओलीले गर्वका साथ सुनाउँथे । तर, सर्वशक्तिमान अध्यक्ष ओलीले जसरी केन्द्रीय कमिटी बैठकमार्फत् विद्यालाई रोक्ने प्रपञ्च रचे, त्यसले एक महिलालाई मूलधारको सशक्त पार्टी अध्यक्ष हुनबाट रोक्न खोजेको प्रष्ट देखिन्छ र कालान्तरमा त्यो अपजसको भारी ओलीकै टाउकोमा आइपर्ने निश्चित छ । किनकि, अर्को कार्यकाल अध्यक्षमा दोहोरिन उमेर हदबन्दी र दुई कार्यकालको प्रावधानलाई निस्तेज पारेका ओलीले सम्भावित प्रतिस्पर्धी ठानेर नै विद्यालाई निषेध गरेका हुन् भन्ने बुझ्न कठीन छैन । मंगलबार मध्यरातको यो निर्णयपछि अहिलेसम्म ‘महिला पहिलो बनाएँ’ भन्ने उनको भनाइ मिथ्या सावित् हुँदा र कुन स्वार्थपूर्तिका निम्ति त्यसो गरेका रहेछन् त ? भन्ने प्रश्न ओजपूर्ण बनेको छ ।
नेकपा (एमाले) जनताबीच स्थापित र लोकप्रिय हुनुमा ‘जबज’को विशेष योगदान छ । जबजमै टेकेर २०५१ मा मनमोहन अधिकारी नेतृत्व सरकारले ल्याएका कार्यक्रमले एमालेलाई जनस्तरमा अझ लोकप्रिय बनायो । सामाजिक न्यायका निम्ति ल्याइएका बृद्धभत्ता, बजेटको समन्यायिक वितरणमा टेकेर अगाडि सारिएको ‘आफ्नो गाउँ ः आफैं बनाऊँ’, नौ ‘स’ जस्ता कार्यक्रमले एमाले साँच्चिकै जनताको पार्टी बन्यो ।
अर्कोतर्फ, जबजकै मार्गनिर्देशन अनुसार एमालेले नेतृत्व चयनमा प्रतिस्पर्धालाई अंगिकार ग¥यो । ‘पहलकद्मी र प्रतिस्पर्धामा श्रेष्ठता’ कम्युनिष्ट पार्टीमा विरलै देखिने परिदृष्यले एमालेलाई लोकतान्त्रिक पार्टीमा दर्जमात्र गराएन, अन्तर्राष्ट्रिय रुपले नै स्वीकार्य बनायो । ‘आन्तरिक लोकतान्त्रिक अभ्यास’ कै कारण नयाँ नेतृत्व जन्मने वातावरण बन्यो । स्वयं ओलीले जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा बहुपदको बेस्सरी वकालत गरे । त्यो हतियारले उनलाई यति सघायो कि, नवौं महाधिवेशनमा उनले दुई दशकभन्दा बढी समय नेतृत्वमा रहेका माधवकुमार नेपाललाई पराजित गरे । तर, मंगलबार मध्यराति सम्पन्न केन्द्रीय कमिटी बैठकबाट यी सवैै विषयलाई लगभग ‘बन्ध्याकरण’ गरिएको छ । आफूलाई निर्विकल्प सावित गर्न मूल नेतृत्वका लागि तयार भएकी एक महिलाको नैसर्गिक अधिकारको मुनालाईसमेत निमोठ्ने काम गरियो । आउँदो विधान अधिवेशन र महाधिवेशनले अहिलेको निर्णय पारित ग¥यो भने, एउटी जुझारु महिलाको अध्यक्ष बन्ने चाहना पूरा नहुने देखिएको छ भने नेतृत्वमा पुस्तान्तरणको एजेन्डा पनि सक्किएको छ ।
नवौं बैठकको निर्णय र झलकले के देखाएको छ भने– केन्द्रीय सदस्यहरुले दशौं महाधिवेशनबाट अध्यक्ष ओलीबाट पाएको ‘बक्सिस’ को गुन तिरे । प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल, राजनीतिक चेतसहितको विचारको अभिव्यक्ति, योगदानका आधारमा पार्टीभित्र गरिनुपर्ने मूल्याङ्कन प्रणालीलाई उनीहरुले बिर्सिए÷बिर्सन बाध्य पारियो ।
र, उनीहरुले बिर्सन नहुने कुरा चाहिँ यो थियो –जबजका प्रणेता मदन भण्डारीको देहान्तपछि मनमोहन अधिकारीलाई ‘सेरेमोनियल’ अध्यक्षका रुपमा राखियो । पार्टीमा संस्थापन पक्षको रुपमा माधवकुमार नेपाल हुने नै भए । त्यसमा ओली, वामदेब गौतमको छुट्टाछुट्टै समूह रह्यो । सहायक पात्रहरू झलनाथ खनाल, ईश्वर पोखरेल, अशोक राई देखिए । यसको सुन्दर पक्ष के थियो भने पार्टी उच्च तहका नेतृत्वहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुने एउटा ‘कल्चर’ थियो ।
वामदेब गौतमले २०५४ मा पार्टी विभाजन गर्दा खासमा लडाईं ओलीसँगै थियो । त्यो बेला ओली र माधवकुमार नेपाल एक ठाउँमा उभिए । जनकपुरको सातौं महाधिवेशन–२०५९ मा ओली एक्ला भए । उनको विधानसम्बन्धी अध्यक्षात्मक प्रणालीको मतलाई दस्तावेजीकरण गरियो । नेपाल, खनाल, गौतम, पोखरेल एक ठाउँमा उभिँदा ओली एक्ला बनेका थिए । बुटवलको आठौं महाधिवेशन–२०६५ मा नेपाल मौन बसे । झलनाथ खनाल एकाएक उदाए र अध्यक्ष बन्न सफल भए । त्यसका पछाडी मौन बसेका नेपाल समर्थक नेता, कार्यकर्ता, गौतम र पोखरेल एक ठाउँमा उभिए र खनालले अध्यक्षमा विजयी बने ।
काठमाडौंको नवौं महाधिवेशनमा आइपुग्दा नेपालले पुनः आफ्नो पुरानो शक्ति एकाएक ब्यूँत्याए र ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरे । नेपाल ओलीसँग थोरै मतले पराजित भए । नेपाल पराजित हुनुमा गौतम र पोखरेल ओलीको पक्षमा उभिनु थियो । तर, पदाधिकारीमा नेपाल पक्षको बहुमत थियो । चितवन दशौं महाधिवेशनसम्म आइपुग्दा भीम रावल ओलीसँग प्रतिस्पर्धा गर्न तयार भए । त्यसले पार्टीमा प्रतिस्पर्धा छ भन्ने थोरै आशाको त्यान्द्रो मात्रै बाँकी देखाएको थियो ।
एमालेभित्र उच्च नेतृत्वमा देखिने यस्तो प्रतिस्पर्धा नै अहिलेसम्मको सुन्दर पक्ष थियो । मंगलबार रातिदेखि अब एमालेमा यो सुन्दर पक्ष लगभग दोहोरिने छैन । यो दृश्यले एमालेले अब नेकपा (मसाल) र नेकपा (माओवादी) शैली अङ्गिकार गर्दै छ भन्ने भाष्य स्थापित गरेको छ । मसालमा मोहनविक्रम सिंह २०४० देखि र माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०४४ सालदेखि निरन्तर नेतृत्व लिइरहेका छन् । जसले पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धी जन्मिनै दिँदैन । जसरी पूर्वराष्ट्रपतिलाई मूल नेतृत्वमा आउन नदिनका लागि एमालेले रोक लगायो त्यो प्रवृत्ति अन्ततः मोहनविक्रम र प्रचण्डको शैली अनुशरण हो भन्ने आलोचनाको सामना यतिखेर ओलीले खेप्नु परेको छ । पार्टीमा मौल्याएको यो शैलीले अब पार्टी कस्तो बन्ला ? भन्ने अनुमान सहजै गर्न सकिन्छ । अन्ततः पार्टीलाई यो शैलीले माओवादी र मसालकै हालतमा पु¥याउने दिशातिर उन्मुख छ भन्ने देखिँदैछ । यो शैलीले विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको नेतृत्व हस्तान्तरणको समस्या, एमालेभित्रको स्वस्थ्य प्रतिस्पर्धा र ‘जबज’को मूल मर्ममा प्रहार मात्रै भएको छैन, महिलाप्रति ओलीको हेर्ने दृष्टिकोणभित्र लुकेको दूषित मनसाय पनि छताछुल्ल भएको छ ।





