बागलुङ/जिल्लाको मालिकाका आमाहरुले बाख्रा पाल्न थालेको धेरै वर्ष भयो । बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिकै प्रसस्त जंगल क्षेत्र छ । त्यहीं जंगलको छेउछाउमा रहेको बस्तीमा परापूर्वकालदेखिनै पशुपालन हुँदै आएको थियो ।
हिजोको पुस्ताले गुजारा चलाउनका लागि गरेको पशुबपालनलाई अहिले आमाहरुले आम्दानीको स्रोत बनाउँदै छन् । बाख्राबाटै घर खर्च र बालबच्चा पढाउनका लागि खर्च जुटाउन समुहमा आबद्ध आमाहरु कम्मर कसेर लागेका छन् । बागलुङ नगरपालिका, हेफर इन्टरनेशनल र गाजा डेभलपमेण्ट फाउण्डेसनले यहाँका आमाहरुलाई बाख्रापालन सम्बन्धि सीप र बिउँ पुजी उपलव्ध गराएको छ । वडा कार्यालय त्यसको परिचालन र पशुपालनका लागि आवश्यक आहारमा सहयोग गर्दैछ ।
साँधखोलामा रहेको प्रगतिशिल महिला समुहमा आवद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन् । ‘हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौं, अहिले त तालिम पाएपछि व्यवस्थित तरिकाले बाख्रा पाल्न थालेका छौं’ समुहकी अध्यक्ष कोपिला किसानले भनिन्, ‘बाख्राबाट आम्दानी गर्ने भनेर हामी दिदीबहिनी मिलेर लागेका छौं ।’ अघिल्लो वर्ष कार्यक्रमबाट लिईएका बाख्राले आम्दानी दिन थालेपछि यो वर्ष बहिनी समुहलाई बाख्राका पाठा उपलव्ध गराईएको उनले बताईन् । अब बाख्राले दिने आम्दानी उनीहरुको घर खर्च हुने छ ।
बाख्रा पालनका लागि समुहमा एक भएका महिलाहरुले हिउँद बर्खा बाख्राका लागि उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायीक वनमा घाँस खेती समेत थालेका छन् । साँधखोला नजिकै रहेको ७० रोपनी सामुदायीक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेतीको सुरुवात गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए । बुधबार शर्मा आँफैले उक्त वन क्षेत्रमा घाँसका बिरुवा रोपेर खेतीको प्ररम्भ गरे । ‘चिसो र मलिलो ठाउँ भएकाले हिउँद बर्खा घाँसको खाचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाईएको छ’ उनले भने, ‘७० रोपनी क्षेत्रफललाई २७ जनाको भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौं ।’
ऐसेलु पाक्ने पाखोमा अब घाँस बनाउने अभियान थालिएको समुहकी सदस्य बाटुली किसानले बताईन् । उनले वनमारा मासेर घासका बिरुवा हुर्किँदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने उनको विश्वास छ । आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन् । बाख्रा र खोर दिएको कार्यक्रमले घाँस लगाउन पनि सिकाएकाले किसान महिलाहरु प्रफुल्ल छन् । साँधखोलामा पालिएका बाख्रामा पोषिलो घाँस नपुगेकाले उत्पादन ढिलो भएको गाजा डेभलपमेन्ट फाउन्डेसनका कृष्ण पौडेलले बताए । पोषिलो घाँस उत्पादन गरेर उत्पादन छिटो र धेरै गर्न घाँस खेती थालेको उनले बताए । समुहले किम्बु, सुपर नेप्पियर, खन्यु लगायतका आधुनिक घाँसका बिरुवा लगाईएको वडा अध्यक्ष शर्माले बताए ।





