पोखरा / गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरेमा शनिवार निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित गुरुङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा निधन भएको हो । कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाए । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले झन्डै ३ वर्ष जेलमा बिताएका थिए ।
निष्ठा, त्याग र सादगीका पर्याय मानिने गुरुङले पद र शक्तिको लोभ नगरी जीवनभर लोकतन्त्र र पार्टी संगठनप्रति समर्पित रहे । उनी चितवन कांग्रेसको सचिव, र २ कार्यकाल जिल्ला सभापति भएका थिए । साथै पार्टिको केन्द्रीय सदस्यसमेत बने ।
गुरुङ २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेश प्रमुख भए । प्रदेश प्रमुखको जिम्मेवारीबाट बाहिरिएलगत्तै उनलाई क्यान्सर रोग लागेको पत्ता भएको थियो । गुरुङको आइतबार अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ ।





