बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भ्रष्टाचार अन्त्यको लागि शक्तिशाली जनलोकपालको माग

भ्रष्टाचार अन्त्यको लागि शक्तिशाली जनलोकपालको माग

ज्ञापनपत्रमा देशको समसामयिक राजनीतिक, प्रशासनिक र आर्थिक समस्याहरूको समाधानका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याइएको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

पोखरा/नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा धर्ना कार्यक्रम सम्पन्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत् ज्ञापनपत्र पठाएको छ । पार्टीको ११ वटै जिल्ला समन्वय समितिले जिल्ला प्रशासन कार्यालयमार्फत् सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा देशको समसामयिक राजनीतिक, प्रशासनिक र आर्थिक समस्याहरूको समाधानका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याइएको छ । पुराना राजनीतिक दलहरू हिजोकै सोच, शैली र पूर्वाग्रहमा अड्किएको पार्टीको जिकिर छ ।

पार्टीले लोकतन्त्र सीमित र औपचारिकमात्र बनेको, दलतन्त्र र नेतातन्त्र संस्थागत हुँदै गएको तथा सिन्डिकेट प्रणाली हावी भएको आरोप लगाएको छ । साथै देशभर व्यापक रूपमा फैलिएको भ्रष्टाचार, बेरोजगारीका कारण लाखौं युवा विदेशिनु परेको, नागरिकहरू निरीह र आजित हुँदै गएका अवस्थाले राजनीतिक पुनर्संरचनाको आवश्यकता झनै बढेको पार्टीको निष्कर्ष छ ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री, संसद्मा पूर्ण समानुपातिक प्रणाली, मन्त्री नियुक्तिमा विज्ञता र दक्षता, ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्थालगायतका प्रस्ताव अघि सारेको छ । नयाँ शक्तिले संविधानको भाग–३ अन्तर्गतको मौलिक हकहरू (धारा १६–४८) लाई अविलम्ब र बिनासर्त कार्यान्वयन गर्न माग गरेको छ ।

साथै, उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन, शक्तिशाली जनलोकपालको गठन, न्यायालयको पुनर्संरचना, संवैधानिक निकायहरूमा दलीय भागबन्डा अन्त्य र प्रविधि प्रयोगमार्फत जनमैत्री प्रशासन निर्माणको माग पनि उठाइएको छ । अर्थतन्त्रमा आत्मनिर्भरता ल्याउने, स्वरोजगार सिर्जना गर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नेलगायतका विषयमा समेत पार्टीले ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा गोरखकाली रबर उद्योग सञ्चालन, बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना छिटो निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालन, पोखरा बसपार्क निर्माण र मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न आग्रह गरिएको छ ।

उक्त ज्ञापनपत्रमा अबको दशक विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको दशक बन्नुपर्ने जनाइएको छ । पार्टीले देशको अग्रगमन र सुशासनका लागि संविधान संशोधनसहितका संरचनागत सुधार आवश्यक रहेको जनाएको छ । प्रजिअलाई ज्ञापनपत्र बुझाउनु अघि नेसपा नयाँ शक्तिले ११ वटै जिल्ला प्रशासन कार्यालय अगाडि स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समाजवादका पक्षमा तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->