पोखरा/ वाइसियल नेपाल स्याङजाले वर्षायामको मुख्य सिजनमै रासायनिक मलको अभाव भएको बारे चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उसले सरकाररकै उदासिनताका कारण मल अभाव भएको भन्दै आपत्तीसमेत जनाएको छ ।
किसानले आवश्यक रासायनिक मल नपाउँदा कृषि उत्पादनमै संकट देखिएको भन्दै वाईसीएलले यसको तत्कालै समाधान गर्नुपर्ने माग पनि गरेको छ । ‘सरकारले पटक–पटक आश्वासन दिए पनि मल वितरण पारदर्शी र व्यवस्थित छैनर’, ज्ञापन पत्रमा भनिएको छ, ‘वितरण प्रक्रियामा बिचौलिया हावी भएको र किसानहरू लाइनमा बस्दा गोदामबाटै ठूलो परिमाणमा मल हराउने गरेको छ ।’
वाईसीएल स्याङ्जा अध्यक्ष अर्जुन तिवारी (सफल) ले सरकार यस्तो गम्भिर विषयमा चुप लागेर बस्न नमिल्ने बताए । ‘किसान मर्न लागेका छन्। सामान्य प्रशासनिक कमजोरी मात्र होइन, यो भ्रष्ट संरचनाको नतिजा हो,’ उनले भने । ज्ञापनपत्रमा मल आपूर्तिको ढिलासुस्ती, सरकारी उदासिनता र बिचौलियाको चलखेललाई मुख्य समस्या भनिएको छ । साथै, वाईसीएलले अघिल्लो वर्ष काठमाडौंमा गरिएको आन्दोलन स्मरण गराउँदै देशभर आन्दोलन गर्ने चेतावनी दिइएको छ । ‘मल अभावका कारण किसानहरूको बाली मर्न थालेको छ। सरकारले अझै पनि गम्भीरता नदेखाए वाईसीएल चुप बस्दैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘‘केवल रिपोर्ट र घोषणाले खेतमा मल पुग्दैन। किसानलाई मल हो, भाषण होइन।’
ज्ञापनपत्र बुझाउने कार्यक्रममा वाईसीएलका जिल्ला इन्चार्ज जीवन थापा मगर, सचिवालय सदस्यहरू, र स्थानीय युवा नेताहरूको सहभागिता थियो। ज्ञापनपत्र बुझाएपछि वाईसीएल प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई केही समय छलफलसमेत गरेको थियो।






