पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको पल्सर स्पोट्र्स अवार्ड पोखरामा हुने भएको छ । खेलकुदको सबैभन्दा ठूलो इभेन्टको रुपमा रहेको स्पोट्र्स अवार्डको २२ औं संस्करण पहिलो पटक पोखरामा हुन लागेको हो । काठमाडौंमा सिमित अवार्ड पहिलो पटक राजधानी बाहिर हुन लागेको हो ।
बुधबार अवार्डको बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा अवार्डको प्रबद्र्धकको रुपमा पोखरा महानगरपालिका रहने जनाइयो । आगामी भदौ २९ गते अवार्ड हुनेछ ।खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०६० सालदेखि निरन्तर रूपमा अवार्ड गर्दै आएको छ । अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिंदै आएको अवार्डको आयोजनाका लागि बुधबार मञ्च र पोखरा महानगर पालिका बीच सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरन्जन अधिकारी र पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि पोखरा महानगरपालिकाका मेयर आचार्यले देशकै प्रतिष्ठित कार्यक्रम मध्येको एक पल्सर स्पोट्र्स अवार्ड पोखरामा आयोजना हुनु खेल क्षेत्रका लागि गौरवको विषय रहेको र अवार्ड सफल बनाउन महानगरको सहकार्य हुने बताए । ‘पोखरामा हरेक साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुँदै आएका छन् । जसका कारण पोखरा खेलकुदको शहरको रुपमा चर्चा पाएको छ । पोखरामा हुने पल्सर स्पोट्र्स अवार्ड पोखरालाई अझै थप पहिचान दिने गरी अघि बढ्नेछ,’ उनले भने, ‘यो अवार्ड कार्यक्रम सफल बनाउन पोखरेलीहरुको नैतिक साथ रहनेमा म विश्वास दिलाउन चाहन्छु ।’
आचार्यले पोखरा पर्यटनको राजधानी संगै खेलकुदको समेत राजधानी रहेको बताउँदै पर्यटनको प्रवद्र्धनका लागि खेलकुद मुख्य आधार समेत रहेको उल्लेख गरे । महानगरले सन २०२५ लाई पर्यटन वर्षको रुपमा अघि सारेको जनाउँदै उनले यो कार्यक्रमले समेत पोखरालाई सञ्चारको माध्यमबाट अझै सशक्तरुपमा प्रचार गर्न सहयोग पुग्ने जनाए । पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उनको भनाई थियो । पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको उनले बताए ।
पहिलो पटक काठमाडौं उपत्यका बाहिर गर्न लागिएको अवार्डको तयारी तिव्र पारिएको एनएसजेएफका अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीले पोखरा महानगरको सहकार्यले अवार्ड सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘काठमाण्डौ बाहिर अवार्ड कार्यक्रम सञ्चालन गर्नु चुनौतीपूर्ण छ । तर हामी पोखरा महानगर संगै यहाँका स्टेक होल्डरहरुको सहयोगले कार्यक्रम सफल हुनेमा हामी विश्वस्त छौं ।’ नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोट्र्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताउँदै अध्यक्ष अधिकारीले भने, ‘काठमाडौँ बाहिर लैजाने तयारी केही वर्ष अगाडिदेखि नै भएको हो । केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेकोले पनि यसपटक अवार्ड पोखरा ल्याउन सफल भएका छौं ।’ पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउँदै पोखरा भ्रमण वर्ष २०२५ को प्रवद्र्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उनले बताए ।
एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोट्र्स अवार्डमा दस विधा समावेश गरिएको जानकारी दिए । पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिने आयोजकले जनाएको छ ।
त्यस्तै अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ भने अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई जनही नगद रु १–१ लाख प्रदान गरिने छ । महासचिव खड्काले भोटिङ मार्फत हुने पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए ।





