बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुकुन्देश्वरी पर्खाल अर्थात् ‘मिनी ग्रेटवाल अफ बन्दीपुर’

मुकुन्देश्वरी पर्खाल अर्थात् ‘मिनी ग्रेटवाल अफ बन्दीपुर’

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ ।


  • विजय नेपाली
  • साउन १८ २०८२, आइतबार

पोखरा/तनहुँको बन्दीपुर पर्यटकीय क्षेत्र हो । प्राचीन सभ्यताको झल्को दिने बन्दीपुरका कलात्मक घरहरूकै कारण प्रसिद्ध छ । पहाडभित्र लुकेको गाउँ भएकाले बन्दीपुरलाई पहाडकी रानी समेत भनिन्छ । त्यहि बन्दीपुरमा अहिले नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ ‘मुकुन्देश्वरी पर्खाल’ । ऐतिहासिक क्षेत्र मानिने मुकुन्देश्वरी डाँडासम्म पुग्ने गरि संघ सरकार र बन्दीपुर गाउँपालिकाले अहिले पर्खाल निर्माण गरिरहेको छ । नेपाल सरकारको चार करोड ५५ लाख रुपैयाँ र गाउँपालिकाको दुई करोड ४५ लाख रुपैयाँको साझेदारीमा निर्माण सुरु गरिएको सो योजनाले बन्दीपुरमा थप आकर्षण थप्ने विश्वास छ । करिब चार किलोमिटर दूरी रहने मुकुन्देश्वरी पर्खाललाई चीनको ‘ग्रेटवाल’ को झल्को दिनेगरी बनाइएको छ । बन्दीपुर गाउँपालिका २ स्थित थानीमाई मन्दिरबाट सुरु भइ पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिने छ । सोही पर्खाललाई अहिले ‘मिनि ग्रेटवाल’ नाम दिइएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गाउँमा पर्यटकको आगमन बढाउन र चीनको ग्रेटवालको झल्को दिने गरि अहिले मुकुन्देश्वरी पर्खालको निर्माण भइराखेको सुनाए । अहिले पालिकाले हार्डवेयर र सफ्टवेयर गरि दुई तरिकाको कार्यक्रम सञ्चालन गरेको सुनाए । ‘निर्माणाधीन अवस्थामा छ । आधा संरचना बनिसकेको छ भने आधा बन्ने क्रममा रहेको छ । थानीमाइबाट मुकुन्देश्वरी डाँडासम्म बन्दै छ । यसमा ७० प्रतिशत पर्यटन मन्त्रालयको र ३० प्रतिशत हाम्रो लगानी रहेको छ । मुकुन्देश्वरी पर्खाल भनिन्छ तर, यसले चीनको ग्रेटवालको झल्को दिनेछ । पहिलेबाट सुरु भएको हो यसलाई नमूना पर्खाल बनाउन लागेका छौं’ उनले भने, ‘हामीले दुइवटा कार्यक्रमहरु अघि बढाएका छौं एउटा सफ्टवेयरका कार्यक्रम अर्को हार्डवेयरका भनाइको मतलब पूर्वाधारका कार्यक्रमहरु हामीले अघिल्लो वर्षदेखि अघि बढाएका छौ. विशेष गरेर उज्याला बन्दीपुर कार्यक्रम अन्तरगत बन्दीपुरका पर्यटकीय क्षेत्र भित्रभित्र गल्ली गल्लीमा ढुंगा छपनी राख्ने र बत्ती जोड्ने काम गरेका छौं । रामपुर, कोरिका, धारापानी, तोरीपानी लगायतका आकर्षक पर्यटकीय गाउँहरुमा उज्याला बन्दीपुर कार्यक्रम गरेका छौं ।’ हाल बन्दीपुरमा ७५ होटल, चार वटा होमस्टे गरि समग्र बन्दीपुरमा १२० होटर र १२ होमस्टे सञ्चालनमा रहेका छन् ।

मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले बताए । थापाका अनुसार कोरोना महामारी पश्चात बन्दीपुरमा पर्यटक आगमन घट्दो क्रममा रहेको छ । यो पर्खालले पर्यटक वृद्धि गर्नेमा आफुहरु आशावादी रहेको उनले बताए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङले मिनि ग्रेटवाल पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा अघि बढिरहेको बताए । उनले बन्दीपुरमा पर्यटक आगमन बढाउनका लागि भिजिट बन्दीपुर अभियान अघि सारेको र यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । २ लाख वास बस्ने गरि आफुहरु अघि बढिरहेको सुनाउँदै मिनि ग्रेटवालले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुमा आफुहरु आशावादी रहेको सुनाए । ‘हाम्रो लक्ष्य दुइ लाख पर्यटक वास बस्ने गरि र मिनिमम स्वदेशी पाहुनासहित गरेर पाँच लाख पर्यटक भित्र्याउने हामीले कोशिस गरिरहेका छौं करिब करिब त्यसको आधा जति भित्र्याइसकेका छौं । र आउँदो तीन वर्षभित्र ८ लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य रहेको छ’ उनले भने ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वर डाँडामा पुगेर टुङ्गिने छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिमशृङखलाका सयौँ चुचुरा बन्दीपुरबाट सजिलै देख्न सकिन्छ ।

बन्दीपुरमा होमस्टे सञ्चालन गर्दै आइरहेकी लीला कायस्थले ग्रेटवालका कारण पर्यटकहरु केहि समय भएपनि भुल्ने गरेको सुनाइन् । उनले पहिला बन्दीपुरको नयाँ बजार मात्रै घुमेर थानीमाइ मन्दिर पुगेर फर्किने पर्यटकहरु अहिले ग्रेटवाल सम्म पुग्ने गरेको सुनाइन् । अहिले बनिरहेको कारण त्यति चर्चा नभएपनि बनिसकेपछि त्यसले पर्यटकलाई थप घुम्न बाध्य बनाउनेमा आफुहरु आशावादी रहेको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->