पोखरा/कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य प्रतियोगिता साउन ३१ गते हुने भएको छ । सिशुवा नेवाः खलको आयोजना तथा नेवाःखल कास्कीको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यहि साउन ३० गते शनिबार लेखनाथको शिशुवा बजारमा आयोजना हुनेछ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भनिन्छ । सो दिन घर/घरबाट गाईजात्रासँगै तायाःमचा निकालेर बजार परिक्रमा गराउने चलन छ । त्यहि परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा निरन्तर तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको छ । तर गाईजात्राका दिन बजार परिक्रमा गर्दागर्दै रात पर्ने भएकाले गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको मूल संयोजक अर्जुन कुमार ताम्राकारले बताए ।
विगत २० वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता पहिलोपटक पोखरा भन्दा बाहिर अर्थात लेखनाथमा हुन लागेको हो । यसअघि पोखराको भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार लगायतका क्षेत्रमा हुने गरेको थियो । पहिलो पटक लेखनाथले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न पाएकाले यसलाई ऐतिहासिक बनाउने प्रयासमा आफूहरु लागेको प्रतियोगिताका मूल आयोजक समितिका संयोजक समेत रहेका सिशुवा नेवाः खलका अध्यक्ष ताम्राकारले सुनाए । ‘यो हाम्रो सुवर्ण अवसर हो, यसलाई हामी ऐतिहासिक बनाउन लागिपरेका छौं’ उनले भने ।
प्रतियोगितामा यस वर्ष ३५ वटा टीम सहभागि हुने आयोजकको अनुमान छ । जसमा पुरुष २७ वटा र महिला ८ वटा गरेर ३५ वटा टीमले सहभागिता जनाउने सिशुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा विशेष गरि पुरुषहरुले महिलाको भेषमा नाच्ने नृत्य रहेको सुनाउँदै पछिल्लो समय महिलाने समेत नाच्न थालेको बताए । उनका अनुसार यो कास्कीभित्र मात्रै नाचिन्छ । ‘यो हाम्रो स्थानीय नृत्य हो । हामी कास्की बाहिर जादैनौं कसैले बाहिर ल्याउ भनेपनि हामी लादैनौं यसलाई प्रबद्र्धनको खाँचो छ’ उनले भने, ‘पहिला जम्मा ८ टोलमा नाचिन्थ्यो अहिले कास्कीभरमा ३५ स्थानबाट नाच निकालिन्छ ।’
उनका अनुसार पछिल्लो समय महिलाहरुलाई समेत प्रोत्साहन गर्ने गरि अघि बढिरहेको छ । यो वर्ष घाचोक, नदिपुर र छोरेपाटनबाट समेत नृत्य थपिएको सुनाए । उनका अनुसार अब पोखराले फेवाताल र माछापुच्छे« मात्रै बेचेर हुँदैन यहाँको संस्कृति र परम्परालाई समेत बेच्नुपर्छ । जसका लागि तायाः मचा समेत एक हुन सक्छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने, दोस्रो हुनेले ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले ५५ हजार पाँच सय ५५ र चौथो हुनेले २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रोले २५ र सान्त्वनाले २० हजार प्राप्त गर्नेछन् ।





