पोखरा/२०८१ जेठ २० गते अन्नपूर्ण दिवसको अवसरमा कास्कीमा विभिन्न देशका राजदूतहरूलाई पदयात्रा गराइयो । कास्कीको माछापुच्छे« गाउँपालिका धम्पुसदेखि अस्ताम हुँदै हेम्जासम्मको पदयात्रा भयो । पदयात्रामा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रमुखलगायतको सहभागिता थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा रहेका नौ देशका राजदूतहरूलाई पदयात्रा गराइ २०८१ जेठ २१ गते पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस मनाउने कार्यक्रम तय भएको थियो । पदयात्रामा अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलङ्का, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका उच्च अधिकारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) संयुक्त राष्ट्र संघीयय जनसंख्या कोष (युएनएफपिए) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पदयात्रामा सहभागी थिए । तर, उनीहरुलाई घुमाउनका लागि दक्ष गाइडको भने अभाव थियो । उनीहरुलाई पदयात्रा गराउनका लागि ८ जना गाइडको आवश्यकता थियो । दक्ष नयाँ गाइड नभएपछि शेषकान्त शर्माको नेतृत्वमा उनीहरुलाई घुमाइयो । पोखरामा वर्षेनी करिब ३ हजार गाइड उत्पादन हुने गरे पनि ती सबै दक्ष नहुँदा स्तरीय गाइडको अभाव देखिएको छ । शेषकान्त आफै पनि गाइड हुन् तर उनी नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष भइसकेकाले उनले संस्थागत रुपमा नेतृत्व गर्न मिल्दैन्थ्यो । तर, दक्ष गाइडको अभाव भएपछि उनी नै तम्सिए ।
आइतबारबाट पोखराको बरपिपल रिसोर्टमा ६ दिने पर्यटकीय गाइडको तालिम सुरु भएको छ । तालिमको उद्घाटन सत्रमा बोल्ने क्रममा शेषकान्त शर्माले पोखराकै बारेमा जानकारी दिन सक्ने दक्ष गाइडको अभाव भएको बताए । उनले पर्यटकी राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरमा काम गर्न सक्ने गाइडको अभाव हुनु दर्दनाक आवस्था रहेको सुनाए । ‘७४ औं अन्नपूर्ण आरोहण दिवसका दिनमा जम्माजम्मी ८ जना गाइड चाहिए । पोखरामा डिप्लोम्याट्स (कुटनीतिज्ञहरु) लाइ घुमाउनका लागि ८ जना व्यक्ति चाहिए । दुःखलाग्दो कुरा ८ जना गाइडको नेतृत्व गर्ने व्यक्ति नै भएन । म एनएमए गण्डकीको अध्यक्ष भइसकेको मान्छे । गाइड नगरौँ भनेको, त्यतिबेला गाइडको मापदण्ड पूरा गर्न सक्ने ८ जना पोखरामा भेट्न सकेनौं । पदका कारण मैले गाइड गर्न मिल्दैनथ्यो तर मैले गर्न प¥यो,’ उनले भने, ‘मैले नेतृत्व नगरेको भए पोखराको बारेमा बताउनुपर्ने गाइड काठमाडौंबाट ल्याउनुपर्ने स्थिति थियो । यो दर्दनाक अवस्था छ ।’
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तथा गण्डकी अल्पाइन क्लब र काठमाडौं इन्भाइरोलमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा ६ दिने पर्यटक गाइड प्रशिक्षण सुरु भएको हो । पोखरा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका पर्यटक गाइडहरु निकै कम भएकोले उक्त कार्यक्रम आयोजना गरिएको संघ गण्डकीका अध्यक्ष विकास गुरुङले बताए । उनका अनुसार प्रशिक्षणमा ट्रेकिङ गाइडहरूको लागि प्राथमिक उपचार, नक्सा अध्ययन, पैदल यात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ र हिमाल आरोहणका क्रममा आवश्यक कौशल सम्बन्धि प्रशिक्षण दिइनेछ । तालिममा ७ महिलासहित ३३ जना लाइसेन्स प्राप्त ट्रेकिङ गाइड सहभागी रहेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले ३० जनालाई छनोट गरेर प्रशिक्षणमा राखिएको सुनाए । उनले कम्पतिमा पनि प्रशिक्षणपश्चात गाइडहरुले नक्सा पढ्न, प्राथमिक उपचारसमेत गराउन सक्ने हुने बताए । ‘यहाँ आउनुभएका ३० जनालाई राम्रोसँग छानेर ल्याइएको हो । हामीले चाहेको गुणस्तरीय र दक्ष गाइड पोखरामै होस् भन्ने हो । म्याप रिडिङ गर्न जानेको खण्डमा धेरै दुर्घटनाबाटसमेत बच्न सकिन्छ । परिवर्तन भइराख्ने मौसमलाई बुझ्दै आफ्नो गन्तव्यसम्म पुग्नका लागि र हुन सक्ने जोखिमबाट कसरी बच्ने भन्ने सिक्नुहुनेछ,’ उनले भने, ‘यो खालि पर्यटकका सुरक्षाका लागि मात्रै होइन । स्वयं गाइडकै सुरक्षाको पनि विषय हो । विशेषगरी पोखराका गाइडहरु चाहिँ सामान्य गाइडहरुभन्दा अलिकति माथि छन्, सीप बढी छ भनेर भन्न सकिन् । जसलाई प्राथमिक उपचार गर्न आउँछ । नक्सा पढ्न आउँछ भनेर आगामी दिनमा अझ दक्ष बनाउन खोजेका हौँ ।’
संघका सचिव मनशान्त घिमिरेका अनुसार ४ वर्षभन्दा बढी अनुभव भएका गाइडहरू मात्रै छनोट भएका छन् र दक्ष विज्ञबाट तालिम दिइँदै छ । टोपोग्राफी म्याप पोखरामा नपाएका कारण स्वीट्जरल्याण्डबाट मगाउन परेको उनले बताए । उनले पोखरामा मात्रै नभइ काठमाडौंकै म्याप हाउसमासमेत नक्सा नपाउने सुनाए । ‘यो नक्सा निकै महत्वपूर्ण छ । भोलिका दिनमा तपाईंहरु हिमालमा जाँदा र समस्या पर्दा कसरी सामना गर्ने भन्ने कुराको ज्ञान दिन्छ । यो तालिम दक्ष गाइड उत्पादनका लागि नै हो,’ उनले भने, ‘यो ६ दिनको तालिम काठमाडौं गएर लिने हो भने कम्तिमा पनि ५० हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ । भोलि अन्तर्राष्ट्रिय जगतमा प्रशिक्षणकै लागि जाने हो भनेपनि यसको प्रमाणपत्रले काम गर्छ ।’ डा. अभिमन्यु श्रेष्ठ, डा. राजेन्द्रमान कर्माचार्य र उदयमान शेरचनले प्रशिक्षण दिनेछन् ।





