बागलुङ/अमर आदर्श आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजना तथा संयोजनमा स्वागत कार्यक्रम गरिएको हो ।
कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी पुष्कर क्षेत्रीले गरेका थिए । प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष विजयराज पन्त उपस्थित रहेको कार्यक्रममा स्वागत तथा सपथ ग्रहण विद्यालयका सह–प्राचार्य कमल पन्तले गराएका थिए ।
विशेष आकर्षणका रूपमा चर्चित गायक तथा सर्जक प्रल्लाद सुवेदी र घनश्याम रिजालले प्रस्तुत गरेका गीत–संगीतले कार्यक्रमको वातावरण उत्साहपूर्ण बनाएको थियो । साथै, कक्षा ११ र १२ का विद्यार्थीहरूले विविध साँस्कृतिक प्रस्तुतीमार्फत नयाँ सहपाठीको मन जितेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल हेमन्त थापाले आगामी दुई वर्षको यात्रामा विद्यार्थीले केवल शैक्षिक ज्ञानमात्र नभई जीवन बुझ्ने दृष्टिकोण, नियमित अध्ययन, समयको सही उपयोग र सकारात्मक सोचको अभ्यास गर्न आग्रह गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष विजयराज पन्तले विद्यालयले गुणस्तरीय शिक्षा, दृढ अनुशासन, व्यवहारिक सीप र उच्च नैतिक मूल्यका साथ जिम्मेवार र प्रेरणादायी नागरिक तयार पार्ने लक्ष्य राखेको उल्लेख गर्दै, विद्यार्थीहरूको हरेक कदममा सहयोग, सही मार्गदर्शन र अवसर प्रदान गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा कक्षा १२ तर्फबाट दिपा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कक्षा ११ तर्फबाट आशिका क्षेत्री, मनिषा केसी, र विजया शर्माले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन एलिसा घर्ती र खुसी थापाले गरेका थिए । आयोजकहरूले यस प्रकारका कार्यक्रमहरूले नयाँ र पुराना विद्यार्थीबीच आपसी चिनजान र मित्रताको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिएका छन् ।





