पोखरा/नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसको अवसरमा फोनिजमा आबद्ध पत्रकार, पत्रकार महासंघ र खेलकुद पत्रकार मञ्चबिच मैत्रीपूर्ण खेलकुद सम्पन्न भएको छ ।
फोनिज गण्डकीले आफ्नो स्थापनाको अवसरमा पत्रकारहरुलाई खेलकुदमा समेत आबद्धता गराउने लक्ष्यका साथ मैत्रीपूर्ण फुटसल तथा रस्साकसीको आयोजना गरेको थियो । सोमबार पोखरा ४ स्पोट्र्स क्यासलको फुटसल कोर्टमा भएको नेपाल पत्रकार महासंघ कास्कीको महिला टिमले फोनिजको महिला टिमलाई १–० ले हराएको छ । यस्तै भेट्रान्सतर्फको मैत्रीपूर्ण फुटसलमा फोनिज भेट्रान्स टिमले महासंघ कास्कीको टिमलाई टाइब्रेकरमा १–० ले हरायो । यस्तै फोनिजको युवा पत्रकारको टिमले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई ५–४ गोलअन्तरले हरायो । तिनै विधाको विजेतालाई भालेसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरियो ।
रस्साकसी तर्फ महिलातर्फ फोनिजले महासंघलाई हरायो भने पुरुषतर्फ महासंघले फोनिजालाई हराएको थियो । विजेता तथा उपविजेता दुवै टिमलाई प्रमाणपत्र र मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।
मैत्रीपूर्ण खेलका लागि मुख्य प्रायोजन गरेको निट डेन्टल केयरका प्रबन्ध निर्देशक विरेन रानाले मैत्रीपूर्ण खेलले भाइचारको सम्बन्ध बढाउनुका साथै पत्रकारहरुलाई खेलकुदको बारेमा ज्ञान मिल्ने बताए । उनले खेलकुद मनोरञ्जनका लागि मात्रै नभइ स्वास्थ्यका लागि समेत आवश्यकता रहेको सुनाउँदै फोनिजसंग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
फोनिज गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) आज सम्मानित हुँदैछन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिन लागेको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन ।
अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका फोटो पत्रकार गुरुङले गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । अहिले पोखरासिटी डटकममा कार्यरत गुरुङले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्हुवामा काम गरिसकेका छन् । उनी नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुन् ।
सम्मानित हुन लागेका अर्का पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनले दरौदी पाक्षिक पत्रिकाबाट पत्रकारिताको सुरुआत गरेका थिए । श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम (काठमाडौं), रेडियो पालुङ (मकवानपुर), रेडियो मुक्तिनाथ (पाल्पा), रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरिसकेका छन् । अहिले उनी गोरखा समाचार डटकममा आवद्घ छन् ।





